थ्रि एञ्जल स्कुलमा सिकाइ मेला

समाधान संवाददाता २०८१ फागुन १२ गते १०:४६

पोखरा ।
थ्रि एञ्जल मिसन स्कुलले सिक्ने र सिकाउने पद्धतिको नयाँ आयामको रुपमा रहेको क्रियाकलापमा आधारित सिकाई मेला गरेको छ । सिक्ने र सिकाउने कलाको नवीनतम प्रयोगको रुपमा रहेको मेलामा विद्यार्थी र अभिभावकको ५६ क्रियाकलाप प्रस्तुत भएको स्कुलका प्रिन्सिपल रमेश पाण्डेले जानकारी दिए ।

Advertisement


प्रतिनिधि सभाका सदस्य दामोदर बैरागी पौडेलले ढिकी कुटेर, जाँतो पिसेर र मोही पारेर मेला उद्घाटन गरे । उनले सीपमूलक, प्रविधिमा आधारित व्यवहारिक शिक्षा आजको आवश्यकता रहेको बताए । विगतमा परम्परागत सीपमा आधारित शिक्षण सिकाईको व्यवस्था भएको उल्लेख गर्दै उनले सैद्धान्तिक पढाइले शैक्षिक बेरोजगार बढाएको तर्क गरे ।


‘प्रयोगात्मक, सीपमूलक र व्यवहारिक शिक्षाको प्रवद्र्धनमा क्रियाकलापमा आधारित सिकाई मेलाले सहयोग पुग्छ,’ उनले भने, ‘विगतको परम्परागत शिक्षा प्रणालीमा समेत पाक शिक्षा, करेसाबारीमा तरकारी खेती र प्रयोगात्मक खेती प्रणाली अपनाइएको थियो ।’ उनले शारीरिक र मानसिक विकासको लागि खेल विधिबाट शिक्षण सिकाई आवश्यक पर्ने बताए ।


उनले प्रतिनिधि सभामा विचाराधिन विद्यालय शिक्षा विधेयकमा सीपमूलक र व्यवहारिक शिक्षाको सवाललाई जोड्ने जनाए । स्कुलका प्रिन्सिपल पाण्डेले देश भरीको १२ औं र कास्कीमा पहिलो सिकाई मेला गरेको बताए ।


श्रम र सीपलाई शिक्षासँग जोड्नुपर्ने उल्लेख गर्दै उनले क्रियाकलापमा आधारित सिकाईलाई विद्यालय तहबाट सुरुवात गरेको जनाए । उनले २१ औं शताब्दीको नवीन सिकाई विधिको रुपमा सिकाई मेला गरेको उल्लेख गरे ।

Advertisement

तपाईको प्रतिक्रिया