
पोखरा ।
गण्डकी प्रदेश सभाले क्यालेन्डर बनाएर बैठक सञ्चालन गर्न थालेको छ । यसअघि संघका २ वटै सदनमा क्यालेन्डर बनाएर बैठक सञ्चालन हुँदै आएपछि गण्डकी प्रदेश सभा सदस्यले पनि क्यालेन्डरको माग गर्दै आएका थिए ।
गण्डकी प्रदेश सभाले पहिलो पटक फागुन १ गतेदेखि १ महिने क्यालेन्डर बनाएको हो । यो महिना ५ दिन प्रदेश सभा सञ्चालन गरिने तालिकामा उल्लेख छ । फागुन २, ८, २२, २३ र २८ गते बैठक बस्ने गरी कार्य व्यवस्था परामर्श समितिले क्यालेन्डर प्रकाशन गरेको प्रदेश सभा सचिवालयका प्रवक्ता प्रेम सुवेदीले जानकारी दिए ।
‘प्रदेश सभा क्यालेन्डर अनुसार अघि बढ्नुपर्छ भनेर बारम्बार उठेको प्रश्न थियो । सोही कुरा ध्यानमा राखेर प्रदेश सभा सचिवालयले मस्यौदा बनयो । त्यो मस्यौदालाई परामर्श समितिले पारित गरेर क्यालेन्टर बनाएको हो,’ प्रवक्ता सुवेदीले भने ।
फागुन महिनाको यसअघि २ गते र ८ गते बैठक बसिकेको छ । अब २२ गते तेस्रो बैठक बस्ने कार्यतालिका छ । क्यालेन्डरलाई ३ रंगले छुट्याइएको छ । रातो चिन्हले सार्वजनिक बिदा बुझाउँछ भने हरियो रंङले सभाको बैठक बस्ने दिन संकेत गर्दछ । यस्तै, नीलो रंगले समितिको बैठक बस्ने दिनलाई संकेत गरेको छ ।
सार्वजनिक कार्यतालिका अनुसार हरेक बैठकको सुरुवातमा विषयवस्तुको गाम्भीर्यका आधारमा आकस्मिक समयका लागि स्थान दिइने उल्लेख छ । कार्यसूचीमा समावेश नभएका विषयहरू आकस्मिक रूपमा प्रस्तुत गर्न सकिने व्यवस्थासमेत गरिएको छ । यस अवधिमा विभिन्न विधेयक पेस गर्ने र छलफल गरिने उल्लेख छ ।
गण्डकी प्रदेश औद्योगिक व्यवसाय ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, सामयिक कर असुलीसम्बन्धी विधेयक प्रस्तुत हुने प्रदेश सभा सचिवालयले प्रकाशन गरेको क्यालेन्डरमा उल्लेख छकक । यो महिना गण्डकी प्रदेश लोक सेवा आयोगको वार्षिक प्रतिवेदन सभामा पेस गरिने कार्यतालिका छ । यसअघि निजामति ऐनलाई संशोधन गर्न बनेको अध्यादेश सदनबाट पास भइसकेको छ ।
गण्डकी प्रदेशसभाले पहिलो पटक १ महिने क्यालेन्डर बनाएर बैठक सञ्चालन गर्न थालेको छ
बैठकमा संसदीय अभ्यास अनुसार पूर्व मुख्यमन्त्री, पूर्व सभामुख, विपक्षी दलका नेतालाई समय उपलब्ध गराइने पनि उल्लेख छ । शून्य समय र विशेष समयको अवधिमा सार्वजनिक महत्वका विषयमा छलफल हुने जनाइएको छ । सभाको बैठक नबस्ने दिनमा कार्यसमितिको बैठक बस्ने गरी क्यालेन्डर तयार गरिएको हो । प्रदेशसभामा दफावार छलफलका लागि केही विधेयक समितिमा पठाइनेछ ।
अर्थ तथा विकास समितिको प्रतिवेदनसहित साझेदारी फर्म नियमन तथा व्यवस्थापनसम्बन्धी विधेयकमाथि छलफल क्यालेन्डरमा उल्लेख छ । जीवनाशक विषादी व्यवस्थापनसम्बन्धी विधेयकमाथि सामाजिक विकास तथा कृषि समितिको प्रतिवेदनसहित छलफल हुने कार्यतालिकामा उल्लेख छ । यो महिना नै प्रदेश सभा नियमावली २०८० संशोधन गठित समितिले प्रतिवेदन बुझाउने क्यालेन्डरमा उल्लेख गरिएको छ ।
संसद बैठक पूर्वनिर्धारित कार्यतालिका अनुसार सञ्चालन हुँदा सांसदलाई आफ्नो समय व्यवस्थापन गर्न सहज हुनेछ । यद्यपि, यो कार्यतालिका प्रभावकारी कार्यान्वयन चुनौतीपूर्ण देखिन्छ । विशेष गरी, दलहरूले आफ्ना पार्टी बैठक परेका बेला संसद बैठक स्थगित गर्न आग्रह गर्ने प्रवृत्तिले कार्यतालिकामा प्रभाव पर्न सक्ने सांसदहरु नै बताउँछन् ।
संसदमा हुने अवरोधका कारण यसअघिका दैनिक कार्यतालिका समेत प्रभावित हुने समस्या रहँदै आएको छ । कतिपय अवस्थामा निर्णय लिन आवश्यक संख्यामा सांसद उपस्थित नहुँदा बैठक सार्नुपरेको र त्यसबाट आगामी दिनको कार्यभार थपिएको देखिएको छ ।
संघीय सदनले कार्यतालिका तयार पारेर सुरु गरे पनि कार्यान्वयनमा समस्या देखिएको छ । कहिले कोरम नपुगेर पनि संसद भवन स्थगित गर्नुपर्ने अवस्था आएपछि दोस्रो दिनको तालिका प्रभावित हुने सम्भावना हुन्छ । तर, दलहरूबीच आवश्यक छलफल र सहमति जुटे निश्चय पनि यो पालना हुने सम्भवना हुन्छ ।
संसद र संसदीय समितिहरू बिना क्यालेन्डर सञ्चालन हुँदा सांसदलाई समय व्यवस्थापन गर्न कठिनाइ हुन्थ्यो । अघिल्लो दिन सूचना दिएर अर्को दिन बैठक बस्ने परिपाटीले कोरम नपुग्ने जस्ता समस्या निम्त्याएको थियो । विभिन्न देशले संसद बैठकका लागि निश्चित कार्यतालिका लागू गरेका छन् ।

सञ्जय रानाभाट
रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।
तपाईको प्रतिक्रिया