भद्रकाली मावि व्यवस्थापनमा दीपक गुरुङ माइला

पोखरा पोखराको भद्रकाली माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्षमा दीपक गुरुङ (माइला) चयन भएका छन् । लोकबहादुर कार्की नेतृत्व समितिको पदावधि सकिएपछि गत शनिबार अभिभावक भेलामार्फत् ३ जना निर्वाचित भएका थिए ।
अभिभावकबाट देवीप्रसाद सुवेदी, लक्ष्मी सुवेदी बराल, लक्ष्मी रामदाम निर्वाचित हुँदा जग्गादाताबाट धिरजप्रसाद ढेवाजु चयन भए । त्यसलगत्तै वडाले ३ जना सिफारिस गरेको थियो । जसमा दीपक गुरुङ (माइला) माधवप्रसाद आचार्य र बलबहादुर बराल छन् । सदस्य सचिवमा विद्यालयकै प्रधानाध्यापक यदुराज पंगेनी छन् । शिक्षक प्रतिनिधि भने चयन हुन बाँकी छन् । निर्वाचित र मनोनीत भएका सदस्यहरुको बैठकले गुरुङलाई आगामी ३ वर्षका लागि अध्ययनमा चयन गर्ने निर्णय गरेको हो । नयाँ समितिको कार्यकाल ३ वर्षको रहनेछ ।
राणा शासनको अन्त्य लगत्तै स्थानीय ढेवाजू र सिग्देल परिवारको अगुवाईमा २००८ साल श्रीपञ्चमीका दिन भद्रकाली स्कुल स्थापना भएको हो । विभिन्न आरोह अवरोह खेप्दै आएको भद्रकाली हाल पोखरा र आसपासका विद्यालयमध्ये शैक्षिक गतिविधिमा अब्बल सावित भएको छ । उक्त विद्यालयमा करिव २ हजार विद्यार्थी अध्ययनरत छन् ।
अहिले भद्रकाली परिसरमा क्याम्पस समेत सञ्चालन हुँदै आएको छ । विद्यार्थीको बढ्दो चाप र पूर्वाधारको अभावलाई चिर्दै भद्रकालीले संरचना थप गर्दै आएको छ । विद्यालयका पूर्व विद्यार्थी समेत रहेका प्रतिनिधि सभा सदस्य शिव परियारको पहलमा हाल विद्यालय परिसरमा सभाहल निर्माण सुरु भएको छ । प्रतिनिधि सभा सदस्य परियारकै उपस्थितिमा गत शनिबार हल शिलान्यास भएको छ ।
तपाईको प्रतिक्रिया