१२ दिनपछि काममा फर्किए मेयर आचार्य

पोखरा ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य अस्पतालकाे १२ दिनकाे बसाईपछि काममा फर्किएका छन् । गत ३ गते पोखरा भ्रमण वर्ष २०२५ को घोषणा कार्यक्रममा बेलुनमा आगो लाग्दा उनी घाइते भएका थिए ।
किर्तिपुर अस्पताल, काठमाडौंमा उपचाररत मेयरले काममा फर्किएका जानकारी दिएका छन् । कार्यक्रममा दुर्घटना हुँदा अर्थमन्त्री विष्णु पौडेल र मेयर आचार्य घाइते भएका थिए । अर्थमन्त्री पौडेल अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।
जलनका कारण हुनसक्ने साइड इफेक्टका विषयमा डाक्टरले विशेष सावधानी अपनाउन सुझाव दिएको आर्चायले बताए । उनका अनुसार कम्तिमा ६ महिना प्रत्यक्ष घामको सम्पर्कमा नजान, भिडभाडमा नजाने, जानै परे दूरी कायम गर्ने । नियमित स्वास्थ्य परीक्षण गराउने।चिकित्सकको सल्लाह अनिवार्य रुपमा पालना गर्ने डाक्टरको सुझाव छ ।
मेयरले ‘समृद्ध पोखराको आधार, सबल अर्थतन्त्र र पूर्वाधार’ को लक्ष्यलाई प्रभावकारी रुपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् । उनले पोखराको विकासका लागि सबैको साथ, सहयोग, र सुझाव आवश्यक रहेको बताउँदै निरन्तर सहयोगको अपेक्षा गरेका छन् ।
तपाईको प्रतिक्रिया