आनन्द ज्योति माध्यमिक विद्यालयको ५२ औं वार्षिकोत्सव

पोखरा । पोखरा ३१ बेगनासस्थित आनन्द ज्योति माध्यमिक विद्यालयको ५२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम शनिबार भएको छ । पोखरा ३१ का वडाध्यक्ष ढकनाथ कँडेलले विद्यालयको वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह उद्घाटन गरेका थिए ।
उनले हाल सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सरकारले विशेष पहल गरिरहेको उल्लेख गरे । कँडेलले स्थानीय सरकारको प्रतिनिधिका रूपमा आफूले पनि शिक्षा क्षेत्रको विकासका लागि योगदान दिइरहेको जनाए । अभिभावकहरूको भूमिका पनि महत्वपूर्ण हुने हुँदा विद्यालयप्रति चासो बढाउन उनले आग्रह गरे ।
वडा सदस्य देवेन्द्रराज अधिकारीले सामुदायिक विद्यालयमा राज्यको ठूलो लगानी भएकाले अभिभावकले निजी विद्यालयभन्दा सामुदायिक विद्यालयलाई विश्वास गर्नुपर्ने बताए । विद्यालय सुधारका लागि सबै लागिपरेमा सामुदायिक विद्यालयमा समेत गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने उनको धारणा छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष तीर्थराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा इलाभेन नेपालका प्रतिनिधि दाने मथर, पूर्व विद्यार्थी मञ्चका अध्यक्ष विकासप्रसाद कँडेल, व्यवस्थापन समिति सदस्य धु्रवराज अधिकारी, पूर्व अध्यक्षहरू रुद्रनाथ अधिकारी र केदारनाथ अधिकारी, शिक्षा समिति पोखरा ३१ का सदस्य धु्रवराज अधिकारी लगायतले बोलेका थिए ।
सो अवसरमा शिक्षकहरू शुक्रराज अधिकारी, पुष्पराज पौडेल, गंगाराम रानाभाट, कमला शर्मा रेग्मी र मुना तिवारीलाई उत्कृष्ट वर्ष शिक्षकको रूपमा सम्मान गरियो । साथै, विद्यालयका सहयोगदाताहरू सुशील अधिकारी, रोशनराज तिवारी, विकासप्रसाद कँडेल, पूर्णदीप कडेल, सुवेदार कृष्णबहादुर गायक, बलराम अधिकारी, महेन्द्री अधिकारी, नवीन रेग्मी, प्रतीक्षा खत्री, सबिन तिवारी, सबिना बास्तोला, सुवास ढकाल र अन्जन नेपालीलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरियो ।
कार्यक्रममा नर्सरीदेखि कक्षा १२ सम्मका शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । साथै, विभिन्न शीर्षकमा स्थापना गरिएको अक्षयकोषमार्फत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरियो । कार्यक्रममा प्रधानाध्यापक शिवराज अधिकारीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरे । कक्षा ११ र १२ का संयोजक सत्यराज कँडेल, शिक्षक वसन्त पहारी लगायतले बोलेको कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुति राखेका थिए ।
तपाईको प्रतिक्रिया