क्रान्तिकारी पार्टीको जनसम्बन्ध अभियान

पोखरा ।
जनतासँग टुटेको सम्बन्धलाई जोड्न क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले ४५ दिने जनसम्बन्ध विस्तार अभियान थालेको छ । २०८० चैत ४ देखि २०८२ वैशाख ८ गतेसम्म) सञ्चालन हुने अभियान पार्टीका पोलिटब्युरो सदस्य शेरकुमार खड्का (गति)ले सोमबार सुरुआत गरे ।
उनले क्रान्तिकारी कम्युनिस्ट पार्टी श्रमजीवी जनताबाट टाढा रहन नसक्ने तर्क गरे । उनले पार्टीले श्रमजीवि जनतासँगको सम्बन्धलाई सुदृढ गर्ने अभियान चलाएको जानकारी दिए । ‘श्रमजीवी जनता र कम्युनिस्ट पार्टीबीचको सम्बन्ध पानी र माछाको जस्तै हुनु अनिवार्य छ,’ उनले भने, ‘जनताबाट टाढा रहने कम्युनिस्ट पार्टी दलाल वर्गको प्रतिनिधित्व गर्ने पार्टीमा रुपान्तरण हुन्छ ।’
नेता खड्काले एमाले र माओवादी केन्द्र लगायतका पार्टीहरु दलाल वर्गको प्रतिनिधित्व गर्ने पार्टीमा बदलिएको दाबी गरे । उनले देशमा रोजगारीको सिर्जना नहुँदा वैदेशिक रोजगारीमा जानेको दर बढेको र सामाजिक सुरक्षाको अवस्था कमजोर भएको बताए । नेपालका आम श्रमिकले श्रम ऐनले तोके अनुसारको ज्याला नपाएको र दैनिक ज्यालादारीमा भर परेको उनले उल्लेख गरे ।
उनले देशका उद्योग कलकारखाना पुनस्र्थापना र विकासका साथै राष्ट्रिय पुँजीको विकासले मात्रै सबै समस्याको समाधान हुने चर्चा गरे । पार्टीका केन्द्रीय सदस्य तथा ७ नम्बर क्षेत्रीय ब्युरो सेक्रेटरी नारायण अधिकारीले नेपालमा क्रान्तिकारीहरुले पटक पटक जनसंघर्ष र सशस्त्र संघर्षमा विजयको सन्ननिकट पुगेको बताए । उनले कम्युनिस्ट पार्टीहरु दलालको कब्जामा परेर र जनताबाट टाढिएको कारण ती संघर्ष अन्तिम विजयमा पुग्न नसकेको जानकारी दिए ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा कास्की जिल्लाका सेक्रेटरी विक्रम थापाले पार्टीको एकता महाधिवशनपछि देशव्यापी रुपमा जनसम्बन्ध विस्तार अभियान सञ्चालन गरेको बताए । पूर्वको पाँचथर र झापा, पश्चिमको कञ्चनपुर र बैतडीको झुलाघाटबााट एक साथ अभियान सुरुवात गरेको जानकारी दिँदै उनले एक पालिका एक कार्यक्रम गर्ने उल्लेख गरे । ७ नम्बर क्षेत्रीय ब्युरो अन्तर्गतका ६ जिल्लामा कार्यक्रम गर्ने चर्चा गर्दै उनले २०८१ वैशाख ५ गतेदेखि ५ दिनको लागि केन्द्रीय टोली पोखरा आउने जानकारी दिए ।
पार्टीका केन्द्रीय सल्लाहकारहरु रामजी थापा र पूर्ण ढुंगानाले संगठन निर्माणमा ध्यान दिन सुझाव दिए । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा महिला संगठन नेपाल ७ नम्बर क्षेत्रीय ब्युरोकी इन्चार्ज सुशीला थापा (रेणु), पार्टीका वैकल्पिक केन्द्रीय सदस्य भीम श्रीस, तनहुँ जिल्ला सेक्रेटरी नारायण लम्साल, स्याङ्जा जिल्ला इन्चार्ज शारदा शाह, प्रवास ब्युरोका प्रतिनिधि मानबहादुर थापा, अखिल (क्रान्तिकारी)कास्की अध्यक्ष स्नेहा गौतम, आकास गौतम लगायतले जनसम्बन्ध विस्तार अभियानबारे बोलेका थिए ।
तपाईको प्रतिक्रिया