इन्जिनियरिङ क्याम्पस पोखरामा स्वतन्त्र उम्मेदवारी दिएका धामीले दिए धक्का

समाधान संवाददाता २०८१ चैत ५ गते १९:५४

पोखरा । इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखराको अध्यक्षमा स्वतन्त्र उम्मेदवार प्रकाश धामी विजयी भएक छन् । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी)का उम्मेदवारलाई निकै पछि छाडेर धामीले जित हात पारेका हुन् ।

Advertisement

दार्चुलाका बासिन्दा धामी सिभिल चौथो वर्षका विद्यार्थी हुन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल समाजवादीका आवद्ध धामी अध्यक्षमा भने एकल रुपमा स्वतन्त्र हैसियतमा उम्मेदवार बनेका थिए ।

उनले सात सय १६ मत पाएका छन् । अखिल (क्रान्तिकारी) पश्चिमाञ्चल क्याम्पस इकाइ सचिव रहेका उनी केही महिनाअघि अखिल समाजवादी प्रवेश गरेका थिए । अध्यक्षका उम्मेदवार अनेरास्ववियुका अनुप न्यौपानेले चार सय ४९, अनेरास्ववियु (क्रान्तिकारी)का आदर्श महत क्षत्रीले एक सय ७८ र नेपाल विद्यार्थी सङ्घका सौगात पण्डितले तीन सय ४६ मत पाएका छन् ।

सचिवमा अनेरास्ववियु (क्रान्तिकारी)का हरिकृष्ण खड्का ९ सय २१ मतसहित विजयी हुँदा अनेरास्ववियुका उम्मेदवार विनायक भुवाजीले ७ सय ४ मतमा चित्त बुझाए । कोषाध्यक्षमा पनि अनेरास्ववियु (क्रान्तिकारी)कै उम्मेदवार विजयी बने । क्रान्तिकारीका सशिस सापकोटा ६ सय ९९ मतसहित विजयी हुँदा प्रतिस्पर्धी अनेरास्ववियुका रोहितकुमार शाहले ५ सय ८७ मत पाएका छन् ।

सदस्यमा अनेरास्ववियुबाट अश्रान्त पहारी (९२६ मत), पूर्णिमा अछामी (८१५ मत), अंकित गैरे (७११), अमृत बस्नेत (७४०) र रुपेश पौडेल ( ६२२) निर्वाचित बने । नेविसंघबाट सक्षम भण्डारी (७०३) एक जनामात्र सदस्य चुनिँदा अखिल क्रान्तिकारीबाट तिकिता पाठक (६८२) सदस्य चुनिइन् ।

Advertisement

कास्कीमा रहेका त्रिभुवन विश्वविद्यालयका ३ आंगीक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को मंगलबार मतदान भएको थियो । २ क्याम्पसमा बुधबार भएको निर्वाचनको परिणाम यसअघि नै सार्वजनिक भइसकेको छ । चिकित्सा शास्त्र अध्ययन संस्थान पोखरा नर्सिङ क्याम्पसमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को प्यानल विजयी भएको छ । प्रतिभा भण्डारी अध्यक्ष चुनिँदा सचिवमा सलिना श्रेष्ठ, कोषाध्यक्षमा कुसुम गौतम निर्वाचित भएका छन् ।

वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा अनेरास्ववियु र क्रान्तिकारीको प्यानलले जितेको छ । अध्यक्षमा अनेरास्ववियुका अभिषेक शर्मा र सचिवमा क्रान्तिकारीका गौरव खड्का र कोषाध्यक्षमा अनेरास्ववियुकी प्रतिमा श्रेष्ठ चुनिएका छन् ।


पिएनमा १० गते, संस्कृत र जनप्रियमा अनिश्चित
पृथ्वीनारायण क्याम्पसको स्ववियु निर्वाचन चैत १० गते हुने भएको छ । बुधबार भएको निर्वाचन समिति, क्याम्पस प्रशासन र विद्यार्थी संगठनहरुको बैठकबाट मतदान गर्ने मिति तय भएको निर्वाचन समिति सदस्य विष्णु गौतमले जानकारी दिए । यसअघि, मंगलबार बिहान ८ बजे मतदान सुरु भएपछि मतपत्रमा एक जना उम्मेदवारको रेजा लगाउने ठाउँ नभएपछि विवादका कारण स्थगित मतदान अनिश्चित बनेको थियो ।

अखिल (छैटौं)बाट स्ववियु अध्यक्षका उम्मेदवार मिलन सुनारको नामको पछाडि रेजा लगाउने बक्स मतपत्रमा छुटेको थियो । यहाँ स्वतन्त्रसहित ८ अध्यक्षका उम्मेदवार छन् । यो निर्णयमा अखिल (छैटौं)ले भने असहमति जनाएको छ ।

कास्कीका २ क्याम्पसमा भने चुनाव अनिश्चित बनेको छ । गण्डकी प्रदेशको उत्कृष्ट सामुदायिक क्याम्पसमा रूपमा परिचित जनप्रिय बहुमुखी क्याम्पसको स्ववियु निर्वाचत स्थगित भएको छ । क्याम्पस प्रमुख कृष्णबाबु बरालले चैत्र ४ सूचना प्रकाशित गरी निर्वाचन स्थगित भएको जनाएका छन् । निर्वाचन प्रक्रियालाई प्रभावित पार्ने गरी केही विद्यार्थी संगठनले क्याम्पसमा तालाबन्दी गरेका छन् । यहाँ २ हजार ४ सय ३३ विद्यार्थी मतदाता छन् ।

पोखरामा रहेको विन्दुवासिनी संस्कृत विद्यापीठ (संस्कृत क्याम्पस)को निर्वाचनसमेत तालाबन्दीले प्रभावित बनेको छ । नेपाल संस्कृत विश्वविद्यालयको आङ्गीक क्याम्पस विन्दुवासिनीमा सोमबार उम्मेदवारको मनोनयन दर्ता गर्ने दिन स्वतन्त्र विद्यार्थी समूहले तालाबन्दी गरेको थियो ।

यहाँ चैत १० गते निर्वाचन गर्ने तय छ । यहाँ नेपाल विद्यार्थी संघ, स्वतन्त्र समूह, अनेरास्ववियु, र अनेरास्ववियु (क्रान्तिकारी) गरी ४ विद्यार्थी सङ्गठन÷समूहले संस्था दर्ता गराएका छन् । १ सय १२ मतदाता रहेको यो क्याम्पसको परीक्षाको मुखैमा चुनाव गर्न लागिएको, राजनीतिक दलहरुले अनावश्यक दबाब दिएको भन्दै स्वतन्त्र समूहले गरेको तालाबन्दी जारी छ । निर्वाचन समिति संयोजक राधाकृष्ण गैरेले क्याम्पस प्रशासन, निर्वाचन समिति र विद्यार्थीका संघ, समूहबिच वार्ता गरी निर्वाचन तोकिएकै मितिमा गर्ने प्रयास जारी रहेको उल्लेख गरे ।

तपाईको प्रतिक्रिया