ग्लोबल मनि विकको अवसरमा पोखरा आदर्शमा वित्तीय साक्षरता

समाधान संवाददाता २०८१ चैत ७ गते २०:१५

पोखरा । पोखरा आदर्श मावि बगरले सानिमा बैंकसँगको सहकार्यमा ‘ग्लोबल मनि विक २०२५’ को अवसर पारी ‘वित्तीय साक्षरता’ शीर्षकमा एक अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । ‘कुनै कार्य गर्न अघि सोच्नुहोस्, बुद्धिमानी भइ भविष्यको लागि पैसा बनाउनुस्’ भन्ने नारालाई आत्मसात् गर्दै अर्थतन्त्रको विभिन्न पक्षमा छलफल भएको छ ।

Advertisement

उक्त अन्तरक्रिया कार्यक्रम निर्देशक एवं परिकल्पनाकार नारायण न्यौपानेको सभापतित्वमा भएको थियो । कार्यक्रमको सुरुआतमा न्यौपानेले यस कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य राखेका थिए । कक्षा ११ मा अध्ययनरत व्यवस्थापन समूहका विद्यार्थीहरु सहभागी भएको यस अन्तरक्रियामा सानिमा बैंक बगर शाखा प्रबन्धक प्रकाश पौडेल प्रमुख वक्ता रुपमा थिए ।

शाखा प्रबन्धक पौडेलको सेसनमा वित्तीय सेवाहरूको बढ्दो प्रयोगको प्रभाव र आर्टिफिसियल इन्टेलिजेन्सको परिचयले आम जनता, विशेष गरी युवाहरूलाई सही वित्तीय जानकारी छनोट गर्न चुनौतीपूर्ण बनाएको सन्दर्भमा केन्द्रित थियो । पौडेलले बैंकले आम नागरिकलाई बैंकका विभिन्न पक्षमा सूचित गरी जिम्मेवार वित्तीय निर्णयहरू गर्न मद्दत गर्ने लक्ष्य राखेको बताए । सनिमा बैंकका रिलेसनसिप अफिसर रविन पोखरेलका अनुसार यस्तो कार्यक्रम गर्दा विद्यार्थीलाई बैंकिङ प्रणाली, डिजिटल भुक्तानी, कर्जाको उचित व्यवस्थापन र दीर्घकालीन वित्तीय योजनाको बारेमा विस्तृत जानकारी भएको छ ।

सहभागी विधार्थीहरुले वित्तीय क्षेत्रमा राष्ट्र बैंकको भूमिका, बैंकका कार्यहरु, बैंकमा देखिएका समस्या र नेपालको अर्थतन्त्रमा बैंङकिङ पद्धतिको भूमिका विषयमा जिज्ञासा राखेका थिए । उत्कृष्ट सहभागी हुने सुस्मिता बास्तोला, अमन लोहोनी, आर्यन गुरुङ लगायतका विद्यार्थी पुरस्कृत भएका थिए ।

विद्यालयका कार्यक्रम संयोजक कुसल तिमिल्सिनाको व्यवस्थापनमा कार्यक्रम भएको हो । तिमिल्सिनाका अनुसार यो महिना स्कुलले विद्यार्थीको सीप र ज्ञान विकासलाई केन्द्रित गरी यस्तै छलफल, अन्तरक्रिया र सेमिनार गरिरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया