पृथ्वीनारायण क्याम्पसमा आज स्ववियु निर्वाचन

समाधान संवाददाता २०८१ चैत ९ गते ५:५९

पोखरा । पोखराको पृथ्वीनारायण क्याम्पसमा आज स्ववियु निर्वाचनको मतदान हुँदैछ । ५ गतेका लागि निर्धारित मतदान मतपत्रमा गडीबडी देखिएपछि स्थगित भएको थियो । केही विद्यार्थी संगठनबाहेकबीच सहमति गरी १० गते मतदानको मिति निर्वाचन समितिले तय गरेको हो ।

Advertisement

पृना क्याम्पसको स्ववियु कमान्डर बन्न ८ जनाको उम्मेदवारी परेको छ । जसमा कमल सुवेदी र विप्लवी न्यौपाने २ जना स्वतन्त्र रुपमा उठेका छन् भने बाँकी ६ जना राजनीतिक दलको भातृ संगठनका उम्मेदवार हुन् । ९ हजार २ सय ७० मतदाता रहेको पृथ्वीनारायण क्याम्पसको १६ वर्षपछि हुन लागेको निर्वाचनमा स्ववियु सभापतिमा २ स्वतन्त्रसहित ८ उम्मेदवार मैदानमा छन् ।

एमालेको अनेरास्ववियुबाट विष्णु पोखरेल, कांग्रेसको नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट सुशील न्यौपाने, माओवादीको अनेरास्ववियु (क्रान्तिकारी) बाट नवीन अधिकारी, अनेरास्ववियू, अखिल समाजवादी र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट सन्तोष पौडेल, प्राज्ञिक विद्यार्थी परिषदबाट दिप्सन गुरुङ र अखिल छैठौंबाट मिलन सुनार अध्यक्षका प्रत्यासी छन् ।


समानुपातिकका लागि अध्यक्षको प्यानलमा रहेका बाहेक नयाँ शक्ति विद्यार्थी युनियन, अखिल क्रान्तिकारी (वैद्य) का उम्मेद्वारहरु पनि चुनावी मैदानमा छन् । क्याम्पस प्रशासनले चैत ५ गते हुने निर्वाचनका लागि तयारी तीव्र बनाएको छ । पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचन अधिकृत प्राडा रामचन्द्र पोखरेलले तयारी अन्तिम चरणमा पुगेको बताए ।

‘आवश्यक तयारी पूरा भइसकेको छ । कुनै बाधा, अवरोध छैन । सबै मतदान केन्द्र तयार भइसक्यो,’ उनले भने । क्याम्पसमा ९ हजार २ सय ७० मतदाता रहेको उनले बताए । उनीहरुले मतदान हुने दिन बिहान ८ देखि ५ बजेसम्म मतदान गर्ने छन् । क्याम्पसले निर्वाचन दिन पोखरा १ र ११ जोड्ने झोलुंगे पुल पनि बन्द गर्ने सूचना प्रकाशित गरेको छ । ५ चैतको चुनावको लागि मौन अवधि सुरु भएको छ । यसबीचमा प्रचारप्रसारका कार्यक्रम गर्न पाइने छैन ।

Advertisement

तपाईको प्रतिक्रिया