काम नगर्ने ठेकेदारलाई कारवाही हुन्छः भौतिक मन्त्री केसी

पोखरा ।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले समयमा काम नगर्ने निर्माण व्यवसायीलाई नियमअनुसार कारबाही प्रक्रियाअघि बढाउने उल्लेख गरेका छन् । ठेक्का सम्झौता बमोजिम काम नगर्ने ठेकदारलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा डाकेर काम अगाडि बढाउन निर्देशन दिइसकिएको उनले सुनाए ।
मन्त्री केसीले संसदमा आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयमा शून्य समयमा उठेका प्रश्नहरुको जवाफ आइतबार दिएका हुन् । भौतिक निर्माणमा निर्धारित समयभित्र काम सक्न ताकेता गरेका मन्त्री केसीले बताए । निर्माण व्यवसायीलाई निर्माण कार्य अघि बढाउन निरन्तर प्रगति मूल्यांकन पेश गर्न पत्राचार गरिएको एवं समयभित्र सडक निर्माण सम्पन्न हुन नसके कानुनबमोजिम पत्राचार गर्ने उनको भनाइ छ ।
गत आ।व २०८०/८१ को वार्षिक विकास कार्यक्रममा न्यून बजेट विनियोजन भएका कारण वहुवर्षीय योजनामा रकम अपुग भएकोमा सालबसाली योजनाहरुको ठेक्का व्यवस्थापनबाट बचत हुन आएको रकम काम भएका वहुवर्षीय योजनामा रकमान्तरका लागि आर्थिक मामिला मन्त्रालयमा पेश भएको उनले जानकारी दिए । तर हालसम्म रकमान्तर नभएका कारणले निर्माणस्थलबाट निर्माण व्यवसायीले निर्माण कार्य बन्द गरेको अवस्था रहेको उनले सुनाए ।
म्याग्दीका विभिन्न खण्डमा पहिरो गई फाफरखेत सडक अवरुद्ध भएकोमा मर्मत सम्भार शीर्षकमा विनियोजित बजेटबाट सडक खुलाई आवागमनलाई सहज गर्न मन्त्रालय सफल भएको उनले दाबी गरे । मन्त्री केसीले प्रदेशमा भएका सडकलाई सुरक्षित बनाउन सडकको लागत इस्टिमेट गर्दै सुरक्षासम्बन्धी ट्राफिक संकेत चिन्ह एवं आवश्यक स्थानमा क्यार्स ब्यारियर जडान गर्ने कामका लागि रकम विनियोजनको व्यवस्था गरिएको मन्त्री केसीले सुनाए ।
क्षति भएका र मर्मत गर्नुपर्ने सडकलाई स्वीकृत बजेटको परिधिभित्र रहेर क्रमश प्राथमिकताको आधारमा सम्बन्धित पूर्वाधार विकास कार्यालयको सिफारिसमा मर्मत गर्दै आएको उनले जानकारी गराए । केही क्षतिग्रस्त सडकहरुको सम्बन्धमा आफू मन्त्री भएर आउनुभन्दा अघि नै बजेट विनियोजन एवं खर्च भएको मन्त्री केसीले सभालाई सुनाए । कामको प्रगतिको आधारमा भुक्तानी गरी निर्माण व्यवसायीलाई निर्माणमा सहजीकरण गर्ने मन्त्री केसीले उल्लेख गरे ।
तपाईको प्रतिक्रिया