रेन्बो एकेडेमिमा ९२ विद्यार्थी दीक्षित

पोखरा ।
पोखरा महानगरपालिका वडा नं १५ स्थित रेन्बो एकेडेमिक होम्स आवासीय माविले युकेजीका ९२ विद्यार्थीलाई दीक्षित गरेको छ । विद्यालयले शुक्रबार एक कार्यक्रम आयोजना गरी उनीहरुलाई दीक्षित गरेको हो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुशीलराज पराजुली, प्राचार्य बाबुराम बराल, संस्थापकद्वय खेमनारायण ढकाल र कृष्णप्रसाद ढकालले विद्यार्थीलाई दीक्षित गरेका हुन् । कार्यक्रममा अध्यक्ष पराजुलीले सिक्ने र सिकाउने थलो विद्यालय भएकाले आफूहरुले सोही प्रकारको वातावरण सिर्जना गरेको बताए ।
प्राचार्य बरालले विद्यालयको समग्र गतिविधिमाथि प्रकाश पार्दै विद्यार्थीको हौसला बढाउन पहिलो पटक दीक्षान्त समारोह आयोजना गरिएको बताए । संस्थापक कृष्णप्रसाद ढकालले विद्यालयको प्रगतिप्रति आफू निकै उत्साहित भएको बताए ।
अभिभावक सुनिता कँडेलले रेन्बो एकेडेमिक होम्स उत्कृष्ट विद्यालय भएकोमा खुसी लागेको उल्लेख गर्दै विद्यार्थीलाई व्यवहारिक शिक्षा पनि दिनुपर्ने खाँचो औंल्याइन् । संस्थापक खेमनारायण ढकालको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षकहरु कामना थापा र सुुष्मा गुरुङले पनि बोलेका थिए ।
२०५२ मा स्थापित यो विद्यालयमा हाल १ हजार ५ सय विद्यार्थी छन् । यहाँ कक्षा ११ र १२ मा व्यवस्थापन संकायको पढाइसमेत हुन्छ ।
तपाईको प्रतिक्रिया