लोकतन्त्रमा विकल्प छ, राजतन्त्रमा छैनः सञ्चार मन्त्री गुरुङ

समाधान संवाददाता २०८१ चैत १५ गते २०:२६

पोखरा । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको बताएका छन् । शनिबार पोखरामा नेपाल सुनचाँदी व्यवसायी महासंघको १२ औं साधारण सभामा बोल्दै उनले गणतन्त्रविरुद्धको गतिविधि संविधानविपरीत भएको पनि बताए ।

Advertisement

‘हाम्रो गणतन्त्रमा प्रत्येक ५ वर्षमा चुनाव हुन्छ । मन नपरेका नेताहरुलाई चुनावबाट हटाउन सकिन्छ । तर, राजतन्त्र फर्किए त्यस्तो विकल्प हुँदैन,’ मन्त्री गुरुङले भने, ‘हामी पहिले भारी बोकेर हिँड्थ्यौं, पछि ठेला आयो, साइकल, तीनपांग्रे हुँदै गाडी आयो । अब पाँच सय किलोमिटर प्रतिघण्टा चल्ने रेलको युगमा छौं । त्यस्तै, अब राजतन्त्रको युग फर्किंदैन ।’

मन्त्री गुरुङले समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा जनप्रदर्शन गर्दा ३५ हजार मानिस उत्रेको तर, राजतन्त्रले गरेको आन्दोलनमा ५ हजार मान्छे आएको बताए । ‘गणतन्त्रवादीहरू यो व्यवस्थाको पक्षमा छौं भनेर बुझाउन समाजवादी मोर्चाले प्रदर्शन गरेको हो । राजावादीहरुले पनि सोही दिन जुलुस निकाल्दा कति मान्छे आए, थाहा त पाइहाल्नु भयो । तर, पनि सरकारले कसैलाई रोकेन, यो गणतन्त्र हो । यद्यपि लहर पनि गणतन्त्रवादीकै देखियो नि,’ उनले भने ।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई साधारण नागरिकको संज्ञा मन्त्री गुरुङले दिए । ‘उनी अब हामीजस्तै साधारण नागरिक हुन् । उनलाई हिँडडुल गर्न पाउने अधिकार छ, तर हामीले देखाएको उदारतालाई उनीहरूले कमजोरी ठानेका छन्,’ उनले भने । मन्त्री गुरुङले राजतन्त्र आफ्नै कारणले समाप्त भएको पनि सुनाए । ‘राजाले आफ्नै दरबार जोगाउन सकेन, परिवार जोगाउन सकेन, उसले तीन करोड नेपालीलाई कसरी जोगाउन सक्छ,’ मन्त्री गुरुङले भने, ‘नेपालमा बहुदलीय व्यवस्था ल्याउने बेलामा राजासँग सम्झौता गरिएको थियो । ०४७ सालमा राजा संवैधानिक भूमिकामा सीमित हुने सहमति गरिएको थियो । तर, २०५९ सालमा संविधान विरोधी कदम चाल्दै अधिकार खोसियो, जसका कारण जनताले राजतन्त्र फाल्न बाध्य भए ।’

गणतन्त्र विरोधी गतिविधिहरूलाई सरकारले सहेर नबस्ने उनको चेतावनी थियो । ‘१५ गते समाजवादी मोर्चाले गरेको प्रदर्शनमा ३५ हजार मानिस थिए, सबै शान्तिपूर्ण रूपमा सहभागी भए । तर, राजावादी प्रदर्शनमा हिंसात्मक गतिविधि भए,’ उनले भने, ‘पार्टी कार्यालयहरू तोडफोड भए, सञ्चारमाध्यमहरू लक्षित गरियो । कान्तिपुर टिभी र अन्नपूर्ण पोस्ट दैनिको कार्यालयमा हमलासमेत गरियो । यस्तो गतिविधि संविधानविपरीत हो । सरकारले यस्तो गतिविधि सहन सक्दैन ।’ गुरुङले गणतन्त्रको रक्षा गर्न सबै पक्ष एकजुट हुनुपर्ने भन्दै लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउन सबैलाई आग्रह गरे ।

Advertisement

तपाईको प्रतिक्रिया