पोखरा महानगरपालिका १३ मा शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न

समाधान संवाददाता २०८१ चैत १७ गते २१:२३

पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ को शिक्षा समितिको आयोजनामा वडाको आगामी शैक्षिक सत्रलाई थप व्यवस्थित गर्दै गुणस्तरमा अभिवृद्धि कसरी गर्न सकिन्छ? वडा भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूबीच समन्वय र सहकार्यका आधार क्षेत्रहरू के के हुन सक्छन्? वर्तमान सन्दर्भमा वडा शिक्षा समितिको शैक्षिक विकासका लागि चाल्नुपर्ने कदम र वर्तमान शिक्षा प्रवृत्ति र आगामी दिशा निर्देश बारेमा एक दिवसीय अन्तरक्रिया तथा सुझाव सङ्कलन कार्यक्रम वडा नं. १३ का वडा अध्यक्ष किरण बरालको अध्यक्षता तथा प्राध्यापक राम गोपाल ढेवाजूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।

Advertisement

कार्यक्रमका प्रमुख अतिथि ढेवाजूले समय अनुसार शिक्षामा परिवर्तन गरी, शिक्षकहरूमा पेशाप्रति लगाव र समग्र वडा नं. १३ को शैक्षिक अभिवृद्धिका लागि सबैको सहयोगको आवश्यकता रहेको कुरामा जोड दिनुभयो। शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्य विशेष अतिथि रहेको कार्यक्रममा प्रमुख वक्ता पूर्व शिक्षा उपसचिव विष्णुप्रसाद पराजुली, सामाजिक तथा शैक्षिक अध्येता विश्व सिग्देल, ग्लोबल कलेजियट विद्यालयका प्राचार्य बाबुराम पन्त, ला ग्रान्डी इन्टरनेशनल कलेजका प्राचार्य किरण के.सी. रहनुभएको थियो।

सो कार्यक्रममा विष्णुप्रसाद पराजुलीले वडा शिक्षा समितिले तयार पारेको कार्यपत्रको प्रशंसा गर्दै केही बुँदामा सुझाव राख्नुभयो। सामुदायिक एवम् संस्थागत विद्यालयको कार्यसम्पादन अभिवृद्धिका लागि तयार कार्य योजना प्रस्तुत गर्दै शिक्षाको गुणस्तर अभिवृद्धि गर्नका लागि यससँग सरोकार राख्ने सबै पक्षहरूबीच समन्वय र सहकार्यमा जोड दिनुपर्ने, शैक्षिक गुणस्तर विशेष, समय र स्थान सापेक्ष बनाउँदै गुणस्तरका सूचक, कार्ययोजना निर्माण, जनशक्तिको पहिचान तथा व्यवस्थापन, राष्ट्रिय पाठ्यक्रमको परिधिभित्र रही वडाको आवश्यकता अनुसार स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयन तथा विद्यार्थीबीच समन्वय हुनुपर्ने कुरामा जोड दिँदै १९ बुँदे सुझाव राख्नुभयो।

शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले वडाभित्रको शैक्षिक सुधारका लागि महत्त्वपूर्ण कार्यक्रमप्रति वडा अध्यक्ष लगायत तथा शिक्षा समितिलाई धन्यवाद दिँदै सरोकारवालाहरूको चासो, सचेत अभिभावक, प्रधानाध्यापकको प्रभावकारी भूमिका र स्वायत्तता, सामाजिक परीक्षण, सहपाठीबाट सिक्ने अभ्यास आदि महत्त्वपूर्ण विषयमा सल्लाह दिनुभयो। समाजसेवी तथा शिक्षाविद् विश्व सिग्देलले शिक्षालाई जीवन र दर्शनसँग जोड्नुपर्ने, व्यवहारिक ज्ञान, मौलिक मूल्य, मान्यता, डिजिटल शिक्षा, आत्मनिर्भरता र व्यावसायिक शिक्षाको सुरुवात वडाले गर्न सक्नुपर्ने धारणा राख्नुभयो।

ग्लोबल कलेजियटका प्राचार्य बाबुराम पन्तले सामुदायिक र संस्थागत विद्यालयबीचमा सहकार्यका क्षेत्रहरूको चर्चा गर्दै मितेरी समूह बनाई असल अभ्यास आदान–प्रदान हुनुपर्नेमा जोड दिनुभयो। सोही कार्यक्रममा लाग्रांडी कलेजका प्राचार्य किरण के.सी.ले “शिक्षण र सिकाइ अबको बाटो” शीर्षकमा कार्यपत्र प्रस्तुत गर्दै गुणस्तर अभिवृद्धिमा भौतिक पूर्वाधार, जनशक्तिको पहिचान, प्रविधियुक्त शिक्षण विधि, जीवनपयोगी सक्षमतामा प्रकाश पार्नुभयो।

Advertisement

माछापुछ्रे मावि, भुर्जुङ्खोलाका प्राचार्य सन्तोष आचार्यले विद्यालयका असल अभ्यासका बारेमा जानकारी गराउनुभयो। पोखरा विश्वविद्यालयका सह प्राध्यापक युवराज त्रिपाठीले कार्यक्रमको समीक्षात्मक मूल्याङ्कन गर्दै व्यवहारिक र जीवनोपयोगी शैक्षिक क्रियाकलाप सञ्चालन गरी मिलेर गरौं भन्ने अवधारणा राख्नुभयो। प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतम, समाजसेवी तथा शिक्षासेवी बजिरमान श्रेष्ठ आदिले शैक्षिक गुणस्तरमा सुधार ल्याउने विषयमा सुझाव राख्नुभयो।

जनप्रतिनिधि तथा शिक्षा समितिका सदस्य सुचिता तामाङले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्य तथा सरोकारवालाहरूको महत्त्वपूर्ण सुझावमाथि प्रकाश पार्नुभयो। वडा नं. १३ का वडा अध्यक्ष किरण बरालले वडाको समग्र शैक्षिक विकासका लागि आफू सधैँ सक्रिय रहेको र आगामी शैक्षिक सत्रबाट सामुदायिक र संस्थागत विद्यालयका शैक्षिक पात्रोमा नै शैक्षिक तथा सहक्रियाकलापसँग सम्बन्धित कार्यक्रम राखी अगाडि बढ्ने प्रतिवद्धता जनाउनुभयो।

कार्यक्रममा उपस्थित भएर महत्त्वपूर्ण सल्लाह र सुझाव दिनुभएको सबैप्रति धन्यवाद व्यक्त गर्दै वडा शिक्षा समितिले प्राप्त सुझावलाई अल्पकालीन र दीर्घकालीन योजनामा समावेश गरी कार्यान्वयन गरिने कुरा शैक्षिक संयोजक तथा कार्यक्रम सञ्चालक राजेन्द्र भण्डारीले बताउनुभयो।

तपाईको प्रतिक्रिया