न्यू ग्यालेक्सी स्कुलले ‘फुड कार्निभल’ गर्ने

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ३ नदीपुरस्थित न्यू ग्यालेक्सी स्कुलले ‘फुड कार्निभल–२०८१’ आयोजना गरेको छ । कक्षा ११ र १२ मा होटल व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीलाई प्रोत्साहन गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रम चैत २१ गते बिहीबार र २२ गते शुक्रबार हुने र सो अवसरमा विभिन्न ११ प्रकारका खानाका परिकार प्रस्तुत गरिने विद्यालयका प्राचार्य डा. रामजी शर्माले जानकारी दिए । कार्यक्रम बिहान १० बजे सुरु भएर साँझसम्म चल्नेछ ।
फेस्टिभलमा पोखराका नाम चलेका चार तारे होटलमा तालिम प्राप्त विद्यार्थीले खानाका परिकार तयार गरेर प्रस्तुत गर्नेछन् । प्राचार्य शर्माले विद्यार्थीलाई अध्ययनसँगै स्वरोजगार बनाउने लक्ष्य विद्यालयको रहेको बताए ।
विद्यालयका सहायक प्राचार्य राजेश भण्डारीका अनुसार कार्यक्रम स्थलमा ११ वटा खानाका स्टल रहनेछन् । प्रत्येक खानाका परिकारका लागि एक सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।
टिकट काटेपछि सोही रकम बराबरको खानाका परिकार रोजेर खान पाइनेछ । खानाका परिकार अग्र्यानिक हुनेछन् । स्वादभन्दा पनि स्वास्थ्यलाई ध्यानमा राखिने सहायक प्राचार्य भण्डारीले बताए ।
उनका अनुसार विद्यालयका सबै अभिभावकलाई निमन्त्रणा पत्र पठाएर कार्यक्रममा सहभागी गराएर विद्यालयका गतिविधिबारे जानकारी गराइनेछ । कार्यक्रममा लाइभ कुकिङ, फ्रुट कार्भिङ, फेयर बार टेन्डिङ, कल्चर शो, लाइभ म्युजिक र मनोरञ्जनात्मक खेल हुनेछन् ।
विद्यालयका निर्देशक राजु कायस्थले फुड कार्निभलले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनमा मद्दत पुर्याउने विश्वास व्यक्त गरे । उनले सिक्ने र सिकाउने थलोका रुपमा विद्यालय भएकाले आफूहरुले सोही प्रकारको वातावरण सिर्जना गरेका स्पष्ट पारे ।
२०५१ सालमा स्थापित विद्यालयमा हाल एक हजार एक सय विद्यार्थी अध्ययनरत छन् । जसमा कक्षा ११ र १२ मा मात्रै पाँच १८ विद्यार्थी छन् । विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन र पर्यटनको पढाई हुँदै आइरहेको छ ।
तपाईको प्रतिक्रिया