चीनमा ट्रम्पबारे बहस : क्रान्तिकारी कि केवल अभद्र?
माओका समर्थकहरूले नेताको आलोचना गर्नेलाई हटाए, संस्थाहरू नष्ट गरे, विश्वविद्यालय तहसनहस बनाए। एकजना बाँचेकाले बेइजिङको एउटा फोरममा पुरानो अनुभव बाँडे—‘अध्यक्ष माओले सोच्नुभयो, पुरानो प्रणाली ध्वस्त भएपछि नयाँ प्रणाली आफैं आउँछ।’ तर चीनमा अस्तव्यस्तता तबसम्म हटेन जबसम्म माओको मृत्यु भएन।

द इकोनोमिस्ट

तर्कले भन्नुपर्दा, चिनियाँ कम्युनिस्टहरू क्रान्तिकारीहरू चिन्नमा सिपालु हुनुपर्ने हो। तर व्यवहारमा भने बेइजिङका अधिकारीहरू पनि संसारको सबैभन्दा जटिल राजनीतिक प्रश्नमा बाँकी अरूजस्तै अलमलमा छन्—अर्थात्, डोनाल्ड ट्रम्पको दोस्रो आगमन पहिलो कार्यकालको भन्दा अझ बदमिजाज र कठोर रूप हो त? कि उनी अहिले एक ‘कट्टर क्रान्तिकारी’ भइसकेका छन्—जो आफ्नै दृष्टिमा राष्ट्रिय हितलाई अघि बढाउन कुनै पनि सिद्धान्त तोड्न र मित्रता त्याग्न पछि नपर्ने?
चीनका लागि धेरै कुरा दाउमा छन्। सी चिनफिङ र उनको शासनका लागि ट्रम्पको पहिलो कार्यकाल ठूलो निराशा सावित भयो। २०१८ देखि २०२४ सम्म बेइजिङमा कार्यरत रहेर लेख्ने पत्रकारले सुरुवाती दिनमा चिनियाँ सत्ताधारीहरू ट्रम्पलाई एउटा ‘सौदाबाज व्यापारी’का रूपमा हेरेको सुने, जसलाई विचारधारासँग खासै मतलब थिएन। तर कार्यकालको अन्त्यसम्म आइपुग्दा चिनियाँ अधिकारीहरू निजी रूपमा गुनासो गर्न थाले कि ट्रम्पलाई अमेरिकी ‘डीप स्टेट’का चीनविरोधी कठोरतावादीहरूले नियन्त्रणमा लिएका छन्।
उनको प्रशासनले चीनविरुद्ध उच्च प्रविधिमा निर्यात नियन्त्रण लगायो, मित्र राष्ट्रहरूलाई चिनियाँ प्रविधि कम्पनीहरू बहिष्कार गर्न दबाब दियो। जिन्जियाङ क्षेत्रमा भएको कथित ‘नरसंहार’का लागि चीनलाई दोषी ठहर गर्यो। ताइवानलाई हतियार बिक्री बढायो—त्यो ताइवान जसलाई चीनले आफ्नो अंग मान्छ।
बेइजिङबाट हेर्दा ट्रम्पको पहिलो कार्यकाल र जो बाइडेनको राष्ट्रपति अवधि एकअर्कामा मिसिएजस्तो लाग्यो—दुबैले प्रविधि क्षेत्रमा चीनमाथि प्रतिबन्धहरू कडाइ गरे। अमेरिकाले अष्ट्रेलिया, भारत, जापान, फिलिपिन्स, दक्षिण कोरिया लगायत मित्र राष्ट्रहरूलाई चीनविरुद्ध रणनीतिक सञ्जाल बनाउन सक्रिय बनायो।
अब ट्रम्प फर्किएका छन्। पत्रकार ‘द टेलिग्राम’ बेइजिङ र सांघाइ पुगेका बेला चिनियाँ अधिकारी र विज्ञहरू ट्रम्पको दोस्रो कार्यकाल पहिलेको दोहोरिनेजस्तो हुनेछ कि पूर्णतः नयाँ बाटो लिने भन्नेमा निर्णय गर्न सकिरहेका थिएनन्। एक धाराले ट्रम्प २.० चीनका लागि फेरि पहिलेकै प्रतिकृति बन्ने बताउँछ। उनीहरू भन्छन्—अमेरिका र चीन दीर्घकालीन शक्ति संघर्षमा फसेका छन्, जसले ट्रम्पभन्दा पर पुग्नेछ। ट्रम्पको छिमेकीहरू—क्यानडा, मेक्सिको आदि—संग गरेको कठोर व्यवहार र युरोपेली मित्रहरूको उपेक्षा देखेर उनीहरू चकित भए तापनि, ट्रम्पले युक्रेनमा शान्ति सम्झौता गराएपछि र व्यापार सम्झौतामा पश्चिमी मित्रहरूबाट फाइदा उठाएपछि चीनतर्फ फर्किने निश्चित देख्छन्।
यो धाराले ‘प्राथमिकतावादी’ भनिने ट्रम्प समर्थकहरूको समूहलाई गम्भीर रूपमा लिन्छ—जो अमेरिका युरोपबाट फौज हटाएर एसियामा चीनलाई केन्द्र बनाएर ध्यान दिन चाहन्छन्। अमेरिकाका रक्षा सचिव पिट हेगसेथ एसियाली भ्रमणमा यही सन्देश दिइरहेका छन्। मनीलामा उनले फिलिपिन्सको पक्षमा अमेरिकाको समर्थन दोहोर्याए, जहाँ चीनसँग समुद्री विवाद बारम्बार हुन्छ। टोकियोमा उनले जापानलाई चिनियाँ सैन्य आक्रोश रोक्ने ‘अमेरिकाको अपरिहार्य साझेदार’ भने।
तर अर्को धाराले वाशिङ्टनमा अहिले क्रान्तिको पकड देख्छ। उनीहरूका अनुसार ट्रम्पको ‘अमेरिका फर्स्ट’ अब ‘अमेरिका एक्लै’ बन्ने खतरा छ—जहाँ ट्रम्पले वैश्विक व्यापार प्रणाली ध्वस्त पार्ने र एसिया तथा युरोप दुबैका मित्र राष्ट्रहरूमाथि विश्वासघात गर्ने संकेत देखिन्छ। यो समूह ट्रम्पको अतिवादमा खतरा मात्र होइन, अवसर पनि देख्छ।
अहिलेको बेइजिङमा विद्वान र पूर्व कम्युनिस्ट अधिकारीहरू ट्रम्पको दोस्रो कार्यकालको तुलना सन् १९६६–७६ को सांस्कृतिक क्रान्तिसँग गर्दै छन्—जसमा उनीहरू आफैंले ठूलो पीडा भोगे। उनीहरू ट्रम्पलाई विश्वव्यापी प्रणाली ध्वस्त पार्ने आरोप लगाउँछन्—जसबाट अमेरिका र चीन दुवै लाभान्वित भएका थिए। माओका समर्थकहरूले नेताको आलोचना गर्नेलाई हटाए, संस्थाहरू नष्ट गरे, विश्वविद्यालय तहसनहस बनाए। एकजना बाँचेकाले बेइजिङको एउटा फोरममा पुरानो अनुभव बाँडे—‘अध्यक्ष माओले सोच्नुभयो, पुरानो प्रणाली ध्वस्त भएपछि नयाँ प्रणाली आफैं आउँछ।’ तर चीनमा अस्तव्यस्तता तबसम्म हटेन जबसम्म माओको मृत्यु भएन।
कतिपय विश्लेषकहरू भने ट्रम्पले पश्चिमी एकता तोड्दा चीनले फाइदा उठाउने सम्भावना देख्छन्। फुडान विश्वविद्यालयका वु शिन्बो भन्छन्—‘युक्रेन युद्ध कसरी टुंगिँदैछ, हेर्नुहोस्। ताइवानले बुझ्नुपर्छ—ताइवान स्ट्रेटमा अमेरिकी सैन्य सहयोगमा भर गर्न मिल्दैन।’
दक्षिण चीन सागरका विज्ञ वु सिचुनले प्रश्न उठाउँछन्—यदि चिनियाँ र फिलिपिनी जलसेना वा तटरक्षकबीच पुनः झडप भयो भने अमेरिका फिलिपिन्सलाई सैन्य सामग्री वा सहयोग दिन्छ त? उनले भन्छन्—‘फिलिपिन्स अहिले सतर्क छ, किनभने ट्रम्प प्रशासन बाइडेनसरह समर्थन गर्छ कि गर्दैन, थाहा छैन।’ जापानबाट फर्केका एक विद्वानले सुनाए—त्यहाँ ट्रम्पको दीर्घकालीन रणनीति बारे ‘त्रास’ छ।
डीसी संस्करणको ‘महान कप्तान’
दुबै समूहले एउटा कुरामा सहमति देखाउँछन्—दोस्रो ट्रम्प कार्यकाल चीनसँगको भू-राजनीतिक प्रतिस्पर्धाभन्दा अमेरिका भित्रको अर्थनीति र घरेलु मुद्दामा बढी केन्द्रित हुनेछ। चिनियाँ अधिकारीहरूले ट्रम्पका कोष सचिव स्कट बेसन्टलाई ‘समझदारीपूर्ण’ मानेर संवाद गर्न सकिने पात्रका रूपमा हेरेका छन्। एलन मस्कलाई पनि उनीहरू चीनप्रेमी र ट्रम्पनिकट साथीका रूपमा ‘अमूल्य अधिवक्ता’ मान्छन्—उनको चीनमा ठूलो लगानी छ, विशेषगरी टेस्लाको विशाल इलेक्ट्रिक गाडी कारखानामा। तर चिनियाँ विश्लेषकहरू यसबारे शंका पनि गर्छन्—मस्क वाशिङ्टनका चीनविरोधी दबाबमा ‘घेरिएर’ नबस्लान् कि?
हाललाई चीनको नीति ‘दुई हात’को छ। ट्रम्पको रणनीति स्पष्ट नभएसम्म चीन सतर्क छ। ट्रम्पका पालामा चीनले उनी लगाएका भन्सार शुल्कको प्रतिशोध सावधानीपूर्वक मात्र गर्यो। तर यही अप्रिल १ मा चीनले ताइवान वरिपरि असाधारण सैन्य अभ्यास गर्यो। एक जना सशक्त सञ्जाल भएका विश्लेषक भन्छन्—‘यदि अमेरिका हात मिलाउने चाहना राख्छ भने चीन तयार छ। तर यदि लडाइँ आउँछ भने चीनको मुठ्ठी पनि तयार छ।’
(द इकोनोमस्ट पत्रिकामा प्रकाशित लेख अनुवादसहित साभार)
तपाईको प्रतिक्रिया