अरुणा –तारादेवी साँझ शनिबार

समाधान संवाददाता २०८१ चैत २८ गते १९:५८

पोखरा । अरुणा लामा–तारादेवी स्मृति स्रष्टा साँझको तेस्रो संस्करण शनिबार पोखरामा हुँदैछ । पोखरेली महिला कलाकारहरूको साझा संस्था हार्मोनी र एभरेस्ट एफएम ९३ मेगाहर्जको संयुक्त आयोजनामा चैत ३० गते शनिबार पोखराको बुलौंदीस्थित पोखरा इभेन्ट सेन्टरमा अरुणा लामा–तारादेवी स्मृति स्रष्टा साँझको तेस्रो संस्करण हुन लागेको हो ।

Advertisement

शनिबार अपाराह्न ३ः४५ बजेबाट सुरु हुने कार्यक्रमको तयारी पूरा भएको कार्यक्रम संयोजक दीपेन्द्र श्रेष्ठले जानकारी दिए । कार्यक्रमको पब्लिक फोरके टेलिभिजनसँगै एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमबाट एकसाथ प्रत्यक्ष प्रसारण हुने श्रेष्ठले बताए ।

स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीको स्मृति दिवसको सन्दर्भ पारेर २०७९ सालदेखि सुरु यो कार्यक्रम हरेक वर्ष माघ तेस्रो शनिबार हुँदै आएको हो । तर यस वर्ष माघ तेस्रो शनिबार गर्ने तयारी चलिरहँदा हार्मोनीका एक सदस्यको असामयिक निधन भएपछि अन्तिम समयमा स्थगित गरिएको थियो । कालजयी गायिका तारादेवीको माघ १० गते र अरुणा लामाको माघ २२ गते स्मृति दिवस हो । दुवै कालजयी गायिकाद्वयको स्मृति दिवसको बीचको शनिबार पारेर कार्यक्रम गरिँदै आएको छ ।

नेपाली सांगीतिक क्षेत्रका नक्षत्रहरू अरुणा लामा र तारादेवीको स्मृतिमा उनीहरूप्रति ‘ट्रिब्यूट’ दिने उद्देश्यले आयोजित स्मृति साँझमा पोखरेली कलाकारहरूले अरुणा लामा र तारादेवीका चर्चित गीतहरू सुनाउने हार्मोनी पोखराका अध्यक्ष इतु जोजिजुले जानकारी दिइन् । समूह गीतहरूमा ‘यो मायालाई भरोसा छैन,’ ‘हाम्रो साहेब’ (माया प्रीति चलचित्रबाट), र ‘सुङावा जस्तो जीवन’ (शान्तिदीप चलचित्रबाट) प्रस्तुत गरिनेछ । त्यसबाहेक दुई स्वर किन्नरीका समकालीन गायिकाहरूको गीत पनि यस वर्षदेखि समावेश गरिने संयोजक श्रेष्ठले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया