मुस्ताङमा नसर्ने रोगको ‘स्क्रिनिङ’

समाधान संवाददाता २०८१ चैत २८ गते २०:०४

जोमसोम । मुस्ताङमा नसर्ने रोगहरूको परीक्षण (स्क्रिनिङ) गरिएको छ । मुस्ताङको घरपझोङ गाउँपालिका अन्तर्गत जोमसोम, ठिनी र मार्फामा बिहीबार ४० वर्षभन्दा माथिका नागरिकलाई नसर्ने रोगको निशुल्क स्क्रिनिङ स्वास्थ्य परीक्षण गरिएको हो ।

Advertisement

प्रादेशिक स्वास्थ्य निर्देशनालय (गण्डकी प्रदेश)को आयोजना, मुस्ताङको घरपझोङ गाउँपालिका कार्यालयको समन्वय तथा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेश, प्रदेश जनस्वास्थ्य कार्यालय मुस्ताङ, प्रदेश अस्पताल मुस्ताङ र प्रदेश आयुर्वेद चिकित्सालय मुस्ताङको सहकार्यमा नसर्ने रोगहरूको बृहत् स्वास्थ्य परीक्षण सम्पन्न भएको प्रादेशिक स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका जनस्वास्थ्य अधिकृत कमल रानाभाटले जानकारी दिए । उनले नसर्ने रोगहरू पहिचान गर्न बृहत् स्वास्थ्य शिविर सञ्चालन गरिएको बताए ।

मुस्ताङमा आयोजित उक्त स्क्रिनिङको उद्देश्य नसर्ने रोग भएका बिरामीलाई पहिचान गरी उपचार विधिमा सहयोग पुर्‍याउनु हो । परीक्षण अन्तर्गत जोमसोममा १२८ जना र ठिनीमा १०९ जनाले नसर्ने रोगको स्क्रिनिङ परीक्षण गराएको जनस्वास्थ्य अधिकृत रानाभाटले उल्लेख गरे । यस्तै, आज मार्फामा पनि स्क्रिनिङ परीक्षण भइरहेको उनले जनाए ।
घरपझोङ–४ जोमसोम र घरपझोङ–५ ठिनीमा गरी कुल २३७ जना नागरिक स्क्रिनिङ परीक्षणबाट लाभान्वित भएको जनाइएको छ । परीक्षण शिविरमा स्थानीय नागरिकहरूको उत्साहजनक सहभागिता रहेको घरपझोङ गाउँपालिकाका स्वास्थ्य संयोजक कर्णबहादुर थकालीले बताए ।

परीक्षणको नमुना म्याग्दीको बेनी अस्पतालमा पठाइएको छ । रिपोर्ट दुई दिनपछि सम्बन्धित व्यक्तिलाई उपलब्ध गराई चिकित्सकीय परामर्श दिइने संयोजक थकालीको भनाइ छ । स्वास्थ्य शिविरमा रगत र पिसाब परीक्षण, उचाइ, तौल, रक्तचाप, मधुमेह, मृगौला, कलेजोको परीक्षण तथा मुटु रोगको जोखिमको स्क्रिनिङ गरिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया