पोखरामा एलिट भलिबल कप सुरु

समाधान संवाददाता २०८१ चैत २८ गते २०:०५

पोखरा । पोखरामा प्रथम एलिट भलिबल कप सुरु भएको छ । एलिट भलिबल एकेडेमी पोखराको आयोजनामा भएको प्रतियोगिता गण्डकी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङले उद्घाटन गरे ।

Advertisement

पहिलो दिन पुरुषतर्फ आयोजक एलिट एकेडेमी र महिलातर्फ पिएन क्याम्पसको टोली विजयी भए । एलिट एकेडेमीले श्रीकृष्ण दल गणलाई ३–२ को सेटले पराजित गर्न सफल भयो । महिलातर्फ महेन्द्र माध्यमिक विद्यालयको टोलीलाई ३–० को सोझो सेटमा पराजित गर्दै पिएन क्याम्पस सेमिफाइनल पुग्यो ।

प्रतियोगितामा पुरुषतर्फ पहिलो स्थान हासिल गर्ने टोलीले १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र र दोस्रो स्थान प्राप्त गर्ने टोलीले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । महिलातर्फ पहिलोलाई ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र र दोस्रो हुने टोलीलाई २५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र दिइनेछ ।

प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरूलाई समेत विशेष पुरस्कारको व्यवस्था छ। प्रतियोगिताबाट बचत भएको रकमबाट सम्भावना बोकेका २ महिला खेलाडीको कक्षा ११ र १२ को पठनपाठनको खर्च उपलब्ध गराइने प्रतियोगिता संयोजक एवम् राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले जानकारी दिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया