पूर्वराजा ज्ञानेन्द्रलाई कारवाही हुन्छः एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल

पोखरा । नेकपा (एमाले)ले लोकतान्त्रिक गणतन्त्र र संविधान रक्षाका लागि पोखरामा जागरण सभा गरेको छ । पोखराको सभागृह, नदीपुर र रानीपौवाबाट बाजागाजा झाँकीसहित निस्केको जनजागरण र्याली चिप्लेढुंगामा पुगेर सभामा परिणत भएको थियो ।
सभामा नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौंको तीनकुने घटनाका योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह भएकाले उनलाई नागरिकसरह कारबाही गरिने बताए । उनले सो घटनाको आवश्यक छानबिन गरी प्रक्रिया अनुसार पूर्वराजा ज्ञानेन्द्रमाथि कारवाही हुने दाबी गरे ।
‘तीनकुनेको प्रदर्शन हत्या, हिंसा, तोडफोड, आगजानी गर्ने उद्देश्यका साथ आयोजना गरिएको थियो । त्यो सम्पूर्ण कामको जवाफदेही, त्यसको योजनाकार, मास्टर माइन्ड पूर्वराजा ज्ञानेन्द्र थिए, जसमा अब यथोचित प्रक्रियाबाट छानबिन हुन्छ,’ उनले भने, ‘अराजकतावादलाई सघाउने र मलजल गर्ने काम गर्नु उचित हुँदैन । देशलाई द्वन्द्व, हिंसामा लैजाने कुरा सरकारले राम्रोस“ग बुझेकाले छानबिन गरेर सजाय दिनेछ ।’
उनले एउटा नागरिकले जसरी गलत काम गरेबापत दण्डको भागिदार हुनुपर्छ, त्यस्तै किसिमले दण्डको भागिदार पूर्वराजालाई बनाइने बताए । लोकतन्त्रको विकल्प अनिर्वाचित सत्ता तथा वंश परम्परामा आधारित शासन सत्ता हुन नसक्ने उल्लेख गर्दै नेता पोखरेलले लोकतन्त्रको विकल्प उन्नत स्तरमा लोकतन्त्र हुने तर्क गरे । उनले जनताको संघर्षबाट प्राप्त उपलब्धिको रुपमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि खबरदारी सभा गरिएको जनाए ।
पोखरेलले जनताको प्रतिनिधिले बनाएको संविधानको रक्षा गर्न एमाले सक्रियतापूर्वक लागेको चर्चा गरे । ‘देशका प्रमुख सहरमा भएको जागरण सभामा आम नेपाली जनताले संविधान र गणतन्त्रको रक्षाका लागि अभिमत प्रकट गरेका छन्,’ उनले भने, ‘जागरण सभामार्फत जनताले वंश परम्परामा आधारित सत्तालाई निरन्तरता दिन खोज्नेलाई खबरदारी गरेका छन् ।’
उनले लोकतान्त्रिक गणतन्त्र कसैको दया, मायाले नभएर जनताको संघर्षबाट प्राप्त उपलब्धि भएको उल्लेख गरे । उनले एमालेले देशव्यापी रुपमा जागरण सभा गरेर लोकतान्त्रिक गणतन्त्रलाई कसैले खोस्न नसक्ने सन्देश दिएको दाबी गरे ।
राजाको शासनकाल र राजतन्त्र ढलेपछि विकास र जनताको जीवनस्तरमा सुधार भएको पोखरेलले जनाए । उनले २०४७ साल अगाडि २ य ५१ डलर प्रतिव्यक्ति भएकोमा अहिले १ हजार ४ सय डलर पुगेको जनाए । उनले आगामी निर्वाचनमा एक्लै लड्ने गरी मानसिकता बनाउन कार्यकर्तालाई निर्देशन दिए ।
नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालतर्फ इंगित गर्दै उनले म्याजिक नम्बरमार्फत अस्थिरता पैदा भएकाले त्यसको अन्त्य गर्न तत्काललाई कांग्रेससँग मिल्नुपरेको जिकिर गरे । उनले मुलुक संकटमा पर्दा एक ठाउँमा उभिने एमालेले कांग्रेस चुनावमा स्वस्थ प्रतिस्पर्धा गर्ने जनाए ।
पार्टीका स्थायी कमिटी सदस्य किरण गुरुङले संघीय लोकतान्त्रिक गणतन्त्र राष्ट्रिय एकताको मार्गदर्शन र विकास निर्माणको आधार भएको बताए । एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीले सन्तुलित र सुविचारित ढंगले नेपालको संविधान बनेको बताए । उनले जनताको हक, अधिकार सुनिश्चित गर्ने शर्तमा संविधान संशोधन हुने जनाए ।
जागरण सभामा एमालेका स्थायी कमिटी सदस्य थममाया थापाले संघीय लोकतान्त्रिक गणतन्त्रले प्रतिनिधि सभा र प्रदेश सभामा ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत महिलाको सहभागिता सुनिश्चित गरेको बताइन् । सभामा पार्टीका केन्द्रीय सदस्य कृष्ण थापा, कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षत्री, उपाध्यक्ष भेषराज बराल र सचिव दर्शन लामाले गणतन्त्रको पक्षमा एमालेले चलाएको जागरण अभियानबारे बोलेका थिए ।
तपाईको प्रतिक्रिया