नेतृत्वको अदूरदर्शिताले देश कमजोरः कांग्रेस नेताहरू

लेखनाथ । नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ को दोस्रो क्षेत्रीय सम्मेलन शनिबार लेखनाथमा सम्पन्न भएको छ । कार्यक्रममा कांग्रेसका नेताहरूले नेतृत्वको अदूरदर्शिता र संस्थागत भ्रष्टाचारले देश कमजोर बनेको र नेपाली जनतालाई गरिबीको रेखामुनि राखेको टिप्पणी गरेका छन् ।
कार्यक्रमको उद्घाटन गर्दै कांग्रेस केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारीले नेपालको गरिबीको मूल कारण नेताहरूको दृष्टिविहीन कार्यशैली र त्यसले मलजल गरेको भ्रष्टाचार भएको बताए । ‘समयानुकूल विकासको मोडल नअपनाउँदा युवाहरू विदेश पलायन भइरहेका छन्, विकास कृषि, पर्यटन र जलस्रोतको माध्यमबाट सम्भव छ,’ उनले भने । शिक्षा र स्वास्थ्यमा सरकार गम्भीर बन्न सके पाँच वर्षमै परिवर्तन सम्भव हुने उनको भनाइ थियो ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य शारदा पौडेलले गुट–उपगुटको अन्त्यको सन्देश कास्कीबाट दिन सफल सम्मेलन भएको बताइन् । गण्डकी कांग्रेस सभापति शुक्रराज शर्माले लोकतन्त्रको भावनालाई अपहेलना गर्दा जनताले सरकारको अनुभूति गर्न छाडेको बताए ।
गण्डकी प्रदेश कांग्रेसकी सहमहामन्त्री कोपिला रानाभटले उत्पादन र रोजगारीबीचको सम्बन्ध मजबुत पार्दै भ्रष्टाचारमुक्त समाज निर्माणमा जोड दिइन् । कास्की कांग्रेस सभापति किशोरदत्त बरालले ‘हिजोको कांग्रेस’ खोज्न नहुने र ‘भोलिको कांग्रेस’ निर्माणमा लाग्नुपर्ने धारणा राखे ।
पूर्वमन्त्री यज्ञबहादुर थापाले प्रतिस्पर्धात्मक राजनीति नै देशका लागि सही दिशा दिने भए पनि वर्तमान सत्ता गठबन्धनले निराशा मात्र बढाएको टिप्पणी गरे । महासमिति सदस्य देवराज चालिसेले कांग्रेसलाई केन्द्रदेखि स्थानीय तहसम्म सचेत र सच्चिनुपर्ने सुझाव राखे ।
कार्यक्रममा कांग्रेस कास्की क्षेत्र नम्बर १ का सभापति राजेन्द्रमणि लामिछानेले वार्षिक प्रतिवेदन र भावी योजनाहरू प्रस्तुत गरे । कार्यक्रममा निवर्तमान सभापति कृष्ण केसी, गण्डकी प्रदेश सभासद् सरस्वती गुरुङ, कास्की क्षेत्र नम्बर २ का सभापति केशरप्रसाद निर्दोषी, मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङ, पोखरा महानगर कांग्रेस सभापति सुरेन्द्रमान बिजुक्छे, रूपा गाउँपालिका सभापति विमलबाबु न्यौपाने, मादी गाउँपालिका सभापति यमकुमार गुरुङ र वडा नम्बर ३० का पार्टी सभापति ध्रुवराज न्यौपानेलगायत नेताहरूले बोलेका थिए । कार्यक्रमको स्वागत मन्तव्य कास्की क्षेत्र नम्बर १ ‘ख’ का सभापति कृष्ण कोइरालाले राखेका थिए । कार्यक्रम सञ्चालन क्षेत्रीय सचिव ओमप्रकाश गुरुङ र सरोज केसीले गरेका थिए ।
तपाईको प्रतिक्रिया