आलु महोत्सव बुधबार सकिने

पोखरा । १३ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव बुधबार सकिँदै छ । पोखरा महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङको उपस्थितिमा महोत्सव समापन समारोह हुँदै छ । बुधबार बिहान रक्तदानसमेत आयोजना गरिएको छ ।
विष्णुपादुका क्लब, मनिप्लान्ट बचत तथा ऋण सहकारी एवं लायन्स क्लब अफ् पोखरा आँखीझ्यालले संयुक्त रुपमा रक्तदान आयोजना गरेका हुन् । बुधबार रत्यौली गीत प्रतियोगिताको नतिजा सार्वजनिक गरिनेछ । प्रतियोगितामा प्रथम हुने समूहले २० हजार, द्वितीयले १५ हजार र तृतीयले १० हजार र सान्त्वनाले ५ हजारका साथमा प्रमाणपत्र प्रदान गरिनेछ ।
कृषि झाँकी ¥यालीतर्फको नतिजा पनि सार्वजनिक गरिनेछ । झाँकी ¥यालीतर्फ पहिलोलाई ८ हजार, दोस्रोलाई ५ हजार, तेस्रोलाई ३ हजार तथा सान्त्वना पुरस्कार २ हजार प्रदान गरिनेछ । सहयोगी विभिन्न संघ, संस्था एवं व्यक्तिलाई पनि मायाको चिनोसहित सम्मान गर्ने कार्यक्रम रहेको आयोजक विष्णुपादुका क्लब अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।
१० औं दिन मंगलबारसम्म ९४ हजारले महोत्सव अवलोकन गरेका छन् । तीमध्ये ३ हजार ५ सय घरपरिवारले आलु किनी लगेको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक जयराम तिम्सिनाले जानकारी दिए । मंगलबार साँझसम्म ३८ लाखको आलु कारोबार भएको छ ।
महोत्सवमा मंगलबार कलाकारहरु अर्जुन सापकोटा, सुमन बिटी, मञ्जु विक, सुदीप क्षत्री, कृष्ण भट्टराई तथा आगमन ब्यान्डका प्रस्तुतिहरु रहे । महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो परीक्षण तथा रोगको निदान छन् । महोत्सव यही चैत २४ गतेबाट महोत्सव सुरु भएको हो ।
तपाईको प्रतिक्रिया