सम्पादकीय—भर्ना अभियान नरोक

संघीय सरकारले शैक्षिक सत्र २०८२को विद्यार्थी भर्ना अभियान सुरुवात गरेको छ । शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयले अभियानमा सहभागी बन्न देशभरका विद्यालयलाई परिपत्र गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गर्न ७ सय ५३ वटै स्थानीय तहलाई निर्देशन दिएको छ । विद्यार्थी भर्ना र पाठ्यपुस्तक वितरणलगायत शैक्षिक गतिविधिमा संलग्न हुनुपर्ने शिक्षकले भने विगत १४ दिनदेखि विद्यालय शिक्षा विधेयक तत्काल जारी गर्न माग राख्दै आन्दोलनमा छन् ।
४ लाख शिक्षक कर्मचारीहरूले काठमाडौँको सडकमा प्रदर्शन गरिरहँदा देशभरका ७० लाख बालबालिकाको भर्ना तथा पढाइ प्रभावित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, शिक्षा मन्त्री विद्या भट्टराईले शैक्षिक सत्र २०८२ को विद्यार्थी भर्ना अभियान सफल पार्न सबैलाई अग्रह गरेका छन् । शिक्षक महासंघले संसद्को वर्षे अधिवेशन तत्काल बोलाएर, विशेष अधिवेशन आह्वान गरेर वा अध्यादेशबाट शिक्षा ऐन ल्याउनुपर्ने अडान राखेको छ । सरकारको निर्देशनलाई नेपाल शिक्षक महासंघले उक्त अभियान बहिष्कार गर्ने निर्णय गरेको छ ।
नेपाल शिक्षक महासंघको शैक्षिक हडतालसहितको शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित हुने भएको छ, भने एसईईको उत्तरपुस्तिका परीक्षण पनि रोकिएको छ । आन्दोलन अझै केही दिन जारी रहे वैशाख ११ देखि हुने कक्षा १२ को परीक्षा पनि प्रभावित हुने छ । आन्दोलन सशक्त बनाउँदै महासंघले परीक्षा र पठनपाठनका कार्यहरूमा भाग नलिने तथा विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
शिक्षा पाउनु हरेक बालबालिकाको संविधान प्रदत्त एवं जन्मसिद्ध मौलिक अधिकार भएकाले सोको कार्यान्वयनका लागि सरकारले हरेक वर्ष वैशाखमा विद्यालय भर्ना अभियान सन्चालन गर्दै आएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ यस वर्षको भर्ना अभियानको नारा तय गरिएको छ । शिक्षा मन्त्रालयको तथ्यांकअनुसार प्रारम्भिक बालविकासको अनुभवसहित कक्षा १ मा भर्ना हुने बालबालिका ७६ प्रतिशत रहेका छन् । आधारभूत तहको भर्नादर ९४ र माध्यमिक तहको भर्नादर ५६ प्रतिशत रहेको छ । विगतमा भन्दा विद्यार्थी भर्नादरमा सुधार आएको देखिए पनि विद्यार्थी टिकाउ दर बढाउन अझै मिहिनेत गर्नुपर्ने देखिएको छ ।
विद्यालयको पहुँचभन्दा बाहिर रहेका बालबालिकालाई विद्यालयमा भिœयाउने र गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य राखेको छ । हरेक वर्ष भर्ना अभियानका तामझाम सहित तमाम कार्ययोजना, कार्यनीति र लक्ष्यहरू निर्धारण गरिन्छ । तर विद्यार्थी भर्ना अभियान औपचारिकतामा अलमलिएको छ ।
गुणस्तरीय शिक्षासँगै जोडिएको भर्ना अभियानलाई कर्मकाण्डी प्रक्रिया मात्र नबनाई यसको सार्थकता र प्रभावकारिता बढाउँदै परिणाममुखी बनाउनुपर्छ । तर, विगतदेखिका भर्ना अभियानको कार्यान्वयन पक्ष र परिणाम भने त्यति प्रभावकारी र सन्तोषजनक रहेको पाइँदैन । यस्तो अवस्थामा यस पटकको भर्ना अभियान शिक्षक महासंघको काठमाडौं केन्द्रीत आन्दोलन र बहिस्कारको कारण प्रभावित हुने देखिन्छ ।
तपाईको प्रतिक्रिया