आर्थिक अभावले विद्यालय जान नपाएकी कविता

समाधान संवाददाता २०८२ वैशाख ३ गते १५:२०

गोरखा ।

Advertisement

बालबालिका माथिल्लो कक्षामा पढ्ने उमंगका साथ नतिजाका पर्खाइमा छन् । शिक्षक आन्दोलनले ढिलाइ भए पनि छिट्टै नतिजा आउला र नयाँ पा्ययपुस्तक बोकेर माथिल्लो कक्षामा पढ्न जाऔँला भन्ने उत्साह बोकेर गाउँघरतिरै खेलिरहेका छन् ।

गण्डकी गाउँपालिका–६ बनटारकी कविता चेपाङ पनि समय मिलाएर तिनै साथीहरुसँग हाँसखेल गरिरहेकी छिन्, तर उनमा न नतिजाको पर्खाइ छ, न उपल्लो कक्षामा पढ्न जाने जोश । बिदा मनाइरहेका साथीसंगीसँग खेल्न पाउँदा मुहारमा घाम उदाए पनि विद्यालय, पठनपाठन सम्झेपछि उनको मुहारमा अँध्यारो बादल छाउँछ ।

तेह्र वर्षीया कविता प्रायः घरधन्दामा व्यस्त हुन्छिन् । उनलाई घरको काम र भाइबहिनीको स्याहारसुसारकै लछारोपछारो छ । चेपाङ बालबालिकामात्र पढ्ने तोमनडाँडा मावि पुग्न उनको घरबाट बढीमा १० मिनेट लाग्छ, तर उनको जीवनबाट विद्यालय धेरै टाढा पुगिसकेको छ । कक्षा ५ मा पढ्दापढ्दै गत कात्तिकमा उनले पढाइ छाडेकी हुन् । घरको आर्थिक अवस्था कमजोर भएकै कारण आफूले पढाइ छाड्नुपरेको उनको दुःखेसो छ ।

“पढ्न मन त लाग्छ नि । पढाइमा पनि राम्रै गरिरहेको थिएँ, तर के गर्नु, घरबाट सघाउ भएन । त्यसैले छोड्नुपर्यो”, उनले भनिन्, “पढिरहेको भए अहिले म पनि ६ कक्षामा जान्थेँ होला ।” कविताको अन्य चार दिदीबहिनी र तीनजना दाजुभाइ छन् । कवितापछिको १० वर्षीया अनुका चेपाङ र अनुकापछिको छ वर्षका भाइ आयुष भने तोमनडाँडा माविमा अध्ययनरत्त छन् । आयुषमुनिको कान्छो भाइ आकाश चेपाङ डेढ वर्षको छ ।

Advertisement

“म माथिको दाजु सुरज केही वर्षअघि ४ कक्षा पढ्दापढ्दै घरको अवस्था देखेर पढ्न छाड्नुभयो । अहिले चितवनतिर होटलमा काम गर्नुहुन्छ । कहिलेकाहीँ चाडपर्वका बेलामा मात्र घर आउनुहुन्छ”, कविताले भनिन्, ‘दाजु माथिकी दिदी बबिताले यस वर्ष एसइई दिनुभयो । बबितामाथिको दुई जना दिदीहरु अस्मिता र सुस्मिताकोचाहिँ बिहे भइसक्यो”, । घरमा सबैभन्दा धेरै पढेकी बबिता हुन् । १८ वर्षीया बबितालाई भने ‘मिस मङ्गोल नेपाल’ नामक संस्थाले तोमनडाँडा माविमा कक्षा १० सम्म आवासीय सुविधासहित पढाइदिएको हो ।

जेठी दिदी अस्मिताकाे विहे भएकाे छ–सात वर्ष भइसकेकाे उनले बताइन् । बबिताभन्दा चार वर्ष जेठी हुन् अस्मिता । अस्मिताभन्दा एक वर्ष कान्छी सुस्मिताले पनि बिहे गरेको चार–पाँच वर्ष भयो। कविता भन्छिन्, “धेरै पढेको बबिताले मात्र हो । दिदीहरु त पढ्नै गएनन् । दाजु र मैलै चाहिँ छाडेको । मलाई घरमा बाबाममीले दिनरात पढ्न नजा भनी कराउनुहुन्थ्यो त्यसैले छोडिदिएँ तर दाजुलाई चाहिँ पढ् भनुहुन्थ्यो, उहाँले आफैँ छाडेको हो । जाँडरक्सीको तालमा कहिलेकाहीँ बाबुआमाले पढ्न जा भन्नुहुन्छ । फेरि सोच्छु, सधैँ एकदिन जा भन्ने, अर्को दिन नजा भन्ने गर्छन् । त्यही भएर पढ्न जान मन लाग्दैन ।”

कविताको बाआमा नियमितजसो मदिरा सेवन गर्छन् । घरमा बिरलै भेटिने उनीहरु कहिले कुल्ली काम गर्न जान्छन् त कहिले छोरीहरुको घर । साना भाइबहिनीहरुको हेरबिचारको जिम्मा साइली बबिता र काइली कविताको हो । “अब त कसरी पढ्ने होला र खै केही उपाय छैन । काम पाए त गर्नुहुथ्यो । अलिअलि पैसा कमाउन पाए घरको खर्च टथ्र्यो”, १३ वर्षीया कविता भन्छिन् ।

कवितामात्र होइन उनकी दिदी बबितालाई पनि घरको जिम्मेवारीले पिरोलेको छ । अठार वर्षीया बबितालाई पनि बाँकी पढाइ कसरी गर्ने र घरको खर्च कसरी टार्ने भन्ने चिन्ता छ । उनी भन्छिन्, “११–१२ पनि पढ्न मन छ तर कसरी खर्च जुटाउने थाहा छैन । अब त घरमा पनि हेर्नुपर्छ । बहिनीले पनि पढोस्जस्तो लाग्छ तर पैसा छैन जान्न मात्र भन्छे ।”

कवितामात्र होइनन्, वनटारस्थित चेपाङ बस्तीका अधिकांश बालबालिकाले बीचैमा पढाइ छाडेका छन् । वनटारमा ४–५ कक्षा पढेर छाड्नु सामान्य हो । “यता प्रायः सबै जनाले बीचैमा पढ्न छाडेका छन् । म र एक–दुई जना दिदीहरुले मात्र हो एसइईसम्म पढेको”, कविताकी साइली दिदी बबिता चेपाङले भनिन्, “संस्थाले नहेरेको भए सायद म पनि पढ्न पाउँदिन थिए होला ।”

बहिनीले पारिवारिक समस्याकै कारण पढाइ छाडेको उनको भनाइ छ । “पढ्न गएरमात्र भएन घरबाट कापी, कलम हेर्दिनन्”, बबिता भन्छिन्, “बाबाले कहिलेकाँही कुल्ली काम गर्नुहुन्छ । त्यसैले घरमा सरसामान ल्याउने हो, फेरि बाबुआमाले रक्सी पनि खानुपर्यो गर्दा ठिक्क हुन्छ ।”

तपाईको प्रतिक्रिया