कोरलामा व्यापारिक चहलपहल बढ्याे

सुन्दरकुमार थकाली २०८२ वैशाख ४ गते १६:१६

जोमसोम ।
मुस्ताङको कोरलानाका स्थित दशगजा क्षेत्रको नेपाली भूमीमा करिव एक दर्जन स्थानीय व्यापारीले चिनियाँ सामानको पसल थापेर व्यापार चलाएका छन् । सीमावर्ती गाउँपालिका लोमान्थाङ २ र १ वडाका स्थानीय साना व्यापारीहरुले समून्द्री सहतको ४६१० मिटरको अग्लो उचाई कोरलापासमा बसेर चिनियाँ सामानको बिक्री वितरण गर्न पसल चलाएर बसेका हुन् ।

Advertisement


२०८० सालको कार्तिक २७ गतेबाट नेपाल—चीन कोरलानाका खुलेपछि सीमावर्ती क्षेत्र छोसेरका स्थानीय साना व्यापारीहरु कोरलानाकामा पसल र रेष्टुरेन्ट चलाएर बस्न थालेका हुन् । कोरलानाका अवलोकनका लागि त्यहाँ पुग्ने आन्तरिक नेपाली पर्यटकहरुलाई त्यहाँ बसेका व्यापारीहरुलाई चिनबाट ल्याएर बिक्री गर्न राखिएका सामान बेच्ने काम गर्दैआईरहेका छन् । कतिपयले नाकामा पुगेका पर्यटकलाई खाजानास्ता र चियाकफी समेत बनाएर खुवाउँछन् । नाकामा एक दर्जन व्यापारीहरुले त्रिपाल टाँगेर व्यापार व्यवसाय चलाउँदै आईरहेका छन् ।


कोरलानाका अग्लो सुख्खा पठार भूमी दजगजा क्षेत्रमा उनीहरु त्यही त्रिपालमुनि बसेर रात बिताउँछन् । बिहान उठ्ने बित्तिकै त्यहाँ बसेका व्यापारीहरुलाई रेष्टुरेन्ट व्यवसाय र चिनियाँ पसल थाँपेर बस्छन् । साँझ बिक्री गर्न राखिएका सबै सामान त्रिपाल मुनि लगेर थन्क्याउँछन् । यसरीनै त्यहाँ बसेका व्यापारीको नियमित दैनिकी चलेको छ ।


सीमावर्ती गाउँपालिका लोमान्थाङ—२ छोसेरका स्थानीय युवा पासाङ वाङ्दी गुरुङ पनि त्यही व्यापार गर्न स्टल थाँपेर बसेका छन् । विगत २ महिनादेखि कोरलापासमा व्यापार गर्न बसेका पासाङले चिनियाँ व्यापार व्यवसाय सन्तोषजनक रहेको बताउँछन् । दैनिक बिहान ९ बजे कोरलानाकाको तिब्बती भूमी लिग्चेमा पुगेर चिनिया सामान किनेर दिउँसो २ बजे फर्किने गरेको स्थानीय व्यापारी गुरुङले उल्लेख गरे ।

चीनले बिहान ९ बजे चिनतर्फको नाका छिरेर दिउँसो २ बजेपछि मात्रै आफ्नो ठाउँ फर्किन पाउँने नियम रहको बताए । दजगजा क्षेत्रबाट चिनको भूमी लिग्चेसम्मको करिव ३ सय मिटर दुरी रहेको र त्यहाँबाट आफैले बोकर सामान ल्याउनु पर्ने बाध्यता रहेको उनले सुनाए ।

Advertisement

छोसेरका स्थानीय गुरुङले चीनको नाका प्रवेश गरेर जान सरकारले वितरण गरेको सीमापार पास देखाएर मात्रै जान पाईने उल्लेख गरे । ‘ गाउँका धेरैजसो युवा विदेश गईसके, म भने यही नाकामा पसल चलाएर बसेको छु’, गुरुङले भने, दैनिक ६/७ हजार रुपैयाको ब्यापार हुन्छ, फाईदा २/३ हजार हुन्छ , यसैमा चित्त बुझाएर बसेको छु ।’


यसैगरी कोरलानाकाको दशगजा क्षेत्रमा पसल चलाएर बस्नु भएकी लोमान्थाङ—१ छोसेरकी लाक्पा छेसुङ गुरुङले कोरलानाकामा नेपाली पर्यटकहरु आउने क्रम बढ्दै जान थालेको बताइन् । ‘नाका खुलेपछि बर्खायामभरी नाकामै त्रिपाल मुनि बसेर दिउँसो चिनियाँ सामाग्रीको पसल चलाएर बस्दै आईरहेकी छु, हिउँदयाममा चिसो हुन्छ, पर्यटक पनि आउँदैनन् , यसैले जाडो महिनामा पोखरा झरेर व्यापार गर्ने गरेकी छु । ‘रायसी प्रयोजनबाहेक यहाँको सामान तल लैजान पाईदैन, भन्सारले रोकिदिन्छ, यसैले पनि दुईचार पैसा आम्दानी होलाकी भनेर यहाँ बसेकी हुँ,’ उनले भनिन् ।


त्यसो त कोरलानाकामा बसेर व्यापार व्यवसाय चलाउन उत्तिकै चुनौतीपूर्ण छ । पठार सुख्खा अग्लो स्थानमा लामो समय बसेर ब्यापार गर्न बस्दा लेंक लाग्ने समस्या पनि हुन्छ । कोरलानाका अवलोकनका लागि पुगेका कतिपय पर्यटकलाई लेंक लागेर बिरामी हुने गरेका छन् । सरकारले कोरलानाका खुलाएपनि त्यहाँ आवश्यक वातावरणमैत्री भौतिक पूर्वाधार निर्माण नहुँदा त्यहा बसेका व्यापारी तथा पर्यटकलाई निकै ठुलो समस्या पर्ने गरेको छ ।

नाकामा खानेपानी र भरपर्दो शौचालय नहुँदा त्यहाँका व्यापारी तथा पर्यटकहरुले सास्ती भोग्नु परेको त्यहाँ बसेका व्यापारीहरुको सामुहिक गुनासो छ । त्यसो त नाकामा व्यापार गर्न बसेका व्यापारीलाई चीनले खानेपानीको सुविधा भने उपलब्ध गराएको उनीहरुको भनाई छ ।


कोरलानाकामा कमजोर संरचनाको अस्थायी शौचालय निर्माण गरिएको भएपनि त्यो भरपर्दो नभएको व्यापारीहरु सुनाउँछन् । नाकामा चिनको सामान ल्याएर बिक्री गर्ने स्थान रहेपनि खुल्ला पठारमा स्टल राख्दा हावा, धुवा र धुलोको समस्याले दुःख दिने गरेको छ । नाकामा पर्यटकले जथाभावी फोहोर मिल्काउने र त्यहाँ बसेका व्यापारी फोहोर व्यवस्थापन गर्न नसक्दा सीमानाका थप दुर्गन्धित तथा प्रदुषित बन्ने गरेको पाईएको छ ।


नेपाल—चीन उत्तरी कोरलानाका उपल्लो मुस्ताङका २ पालिकाका लागि खुलेपछि हालसम्म ३ हजार बढीले चिन प्रस्थान गर्ने सीमापार पास पाईसकेका छन् । उपल्लो मुस्ताङका नागरिकका लागि घरायसी सामान किनमेल गर्न खुलेको यो नाकाबाट व्यापारी प्रयोजनका लागि नेपाली तथा चिनिया सामान आयात निर्यात गर्न विगत ५ महिनादेखि पूर्ण रुपमा प्रतिबन्ध लागेको लोमान्थाङ—२ छोसेरका वडाध्यक्ष कर्मा नाम्ग्याल गुरुङले जानकारी दिए ।

नाकाबाट भन्सारले सामान ल्याएर बिक्री वितरण गर्न नदिएपछि कतिपयको रोजीरोटी खोसिएको वडाध्यक्ष गुरुङको भनाई छ । वडाध्यक्ष गुरुङले नाका खुल्ला भयो भनेर मात्रै नहुँने र त्यसका लागि सरकारले भन्सार सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गरेर आयात —निर्यातलाई सहज बनाईदिनु पर्ने सुझाए ।


नेपाल—चीन कोरलानाका स्थित न्हेचुङ भन्सारले स्थानीय ब्यापारीलाई व्यापारिक प्रयोजनमा सामान ल्याउन नदिएपछि आफुहरु निकै अप्ठ्यारोमा परेको लोमान्थाङ—३ ठिङ्गर साना व्यापारी कर्मासम्टुक गुरुङले दुखेसो सुनाउँनुभयो ।‘ नाका खुल्यो भनेर मात्रै भनियो,खै त हजुर हामीले व्यापार गर्न सामान ल्याउन पाएको ?’, व्यापारी गुरुङले थपे, हामीले अवैं काम गर्दैनौं, सरकारलाई राजश्व तिरेर सामान लैजाउ भन्दा पनि खै किन रोकिन्छ।’


कोभिड संक्रमणकालमा लगातार ४ वर्षसम्म बन्द रहेको कोरलानाका खुलेपनि उपल्लो मुस्ताङका नागरिकहरु खासै सुविधा प्राप्त नभएको त्यसक्षेत्रका नागरिकहरुको गुनासो छ । नाका खुलेको डेढ वर्ष पुग्दा गत पुसदेखि न्हेचुङ भन्सार कार्यालयले राजश्व संकलन गर्न छाडेको छ ।

केही महिना अघि उपल्लो मुस्ताङका एक व्यक्तिले अवैंध रुपमा ठुलो परिमाण विद्युतीय चुरोट भेप आयात गरेपछि मुस्ताङ प्रहरीले नियन्त्रणमा लिएर कारवाही चलाएको थियो । त्यसपछि भन्सार कार्यालयले चीनबाट सामान ल्याएर बिक्री वितरण गर्ने कार्यलाई ठप्पै पारेको हो । लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले कोरलानाकाबाट सामान ल्याएर बिक्री गर्ने कार्यमा परेको कानुनी जटिलता र अप्ठ्याराहरुको समाधान खोज्न सरकारसंग पहल गर्ने बताउँनुभयो ।

नेपाल—चीन कोरलानाकाबाट नेपालीहरुले किराना सामाग्री,कस्मेटिक,पेय पदार्थ,कृषि उपकरण, फर्निचरका सामान लगायतका सामान आयात गर्ने गथ्र्ये । यता नेपालबाट स्थानीय कृषि उत्पादन चिनतर्फ निर्यात गथ्ये । अहिले त्यसखालको आयात—निर्यात पूर्ण रुपमा ठप्पै भएको छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया