कालिकाका विद्यार्थीलाई मन्टेसरी तालिम

समाधान संवाददाता २०८२ वैशाख ६ गते १९:००

पोखरा । पोखरा–१४ मा अवस्थित कालिका बहुमुखी क्याम्पसको शिक्षा विभागद्वारा शिक्षाशास्त्र संकायमा अध्ययनरत विद्यार्थीहरूको पेशागत दक्षता अभिवृद्धिका लागि आधारभूत मन्टेसरी तालिम शुक्रबार क्याम्पसको सभाहलमा शुभारम्भ गरिएको छ ।

Advertisement

उक्त समारोहको शुभारम्भ क्याम्पसका सहायक क्याम्पस प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि शालिकराम तिमिल्सिनाद्वारा गरिएको थियो । प्रमुख अतिथि तिमिल्सिनाले शिक्षा विभागद्वारा कार्यक्रमको आयोजना गरिएकोमा खुसी व्यक्त गर्दै यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा आफ्नो सिकाइप्रति थप टेवा पुग्ने तथा सिकाइप्रति अझ जिम्मेवार बनाउने विश्वास व्यक्त गरे ।

त्यसैगरी क्याम्पसका सहायक क्याम्पस प्रमुख युवराज गुरुङले अहिलेको आधुनिक प्रविधिको समयमा यस किसिमको तालिम अत्यन्त आवश्यक भएकोले शिक्षा विभागप्रति धन्यवाद व्यक्त गर्दै कार्यक्रमको पूर्ण सफलताको लागि शुभकामना दिए ।

कार्यक्रमको सभापतित्व गरेका शिक्षा विभाग प्रमुख तथा कार्यक्रम संयोजक लोकनाथ सुवेदीले स्वागत मन्तव्य दिँदै कार्यक्रमको महत्त्व, औचित्य तथा उद्देश्यका बारेमा जानकारी गराए । तालिम सामुदायिक क्याम्पसमा नवीन कार्य भएको र यस्ता कार्यक्रमहरू अत्यन्तै फलदायी हुने विश्वास व्यक्त गरे ।

कार्यक्रमका प्रमुख प्रशिक्षक तथा मेरील्याण्ड मन्टेसरीकी संस्थापक सीता सुवेदीले तीन हप्ता सम्म निरन्तर चल्ने उक्त तालिमका बारेमा प्रकाश पारेकी थिइन् । तालिममा शिक्षाशास्त्र संकायमा अध्ययनरत उन्नाइस जना प्रशिक्षार्थी सहभागी रहनेछन् ।

Advertisement

शिक्षा विभागका वरिष्ठ उपप्राध्यापक राजेश्वर शर्माद्वारा सञ्चालन गरिएको उक्त कार्यक्रममा क्याम्पसका प्रशासकीय प्रमुख हुकुमराज थापा तथा शिक्षा विभागकी उपप्राध्यापक भावना तिवारीको समेत उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया