क्लासिक सुइट्स वुमन्स क्रिकेट तयारी

पोखरा । पोखरामा क्लासिक सुईट्स टि–२० वुमन्स सुपर कप क्रिकेट च्याम्पीयनसीप आयोजना हुने भएको छ । पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा पोखराको लेखनाथ स्थित इडन हेभन क्रिकेट मैदानमा प्रतियोगिता हुने भएको हो ।
प्रतियोगिता वैशाख ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने आयोजक पोखरा महानगरपालिका क्रिकेट संघले जनाएको छ । प्रतियोगिता तयारी अन्तिम चरणमा पुगेको संघका अध्यक्ष वीरेन्द्र पुनले जानकारी दिए ।
प्रतियोगितामा ३ टिम सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगितामा फिस्टेल अप्मस्ट, इस्लामिया कंकरस र पोखरा फिनिक्स गरी ३ टिमले सहभागिता जनाउने अध्यक्ष पुनले बताए । तीन वटै टिमले छुट्टाछुट्टै टिमसँग २/२ खेल खेल्ने जनाइएको छ । गत हप्तामात्र सम्पन्न अन्तर विद्यालय पोखरा महानगरपालिका स्तरीय टि २० क्रिकेट प्रतियोगिताबाट उत्कृष्ट ३६ जना खेलाडी छनोट गरिएको थियो ।
सो प्रतियोगिताबाट छनोट भएका खेलाडीलाई विभाजन गरेर ३ टिम बनाई सुपर कप आयोजना गर्न लागिएको हो । सुपर कप च्याम्पीयनसीपबाट उत्कृष्ट १४ जना खेलाडी छनोट गरेर पोखरा महानगरपालिकाको टिम निर्माण गरिने अध्यक्ष पुनले जानकारी दिए । सोही टिमले केही समयपछि हुने देशका ६ वटा महानगरपालिकाबीच हुने प्रतियोगितामा सहभागिता जनाउने उनले बताए ।
‘यो छनोट प्रतियोगिता हो, प्रतियोगितामा खेलाडीले देखाएको पर्फमेन्सका आधारमा महानगरपालिकाको टिमका लागि खेलाडी छनौट गर्छौं’, उनले भने । प्रतियोगिताका लागि तीन वटै टिमलाई आयोजकले जर्सी हस्तान्तरण गरिएको छ । तीन वटै टिमका टिम क्याप्टेनलाई पोखरा महानगरपालिका क्रिकेट संघको तर्फबाट क्रिकेट एसोसियसन नेपाल क्यान तथा आइसिसीका क्रिकेट अम्पायर मोहम्मद सफिक (समीर खान)ले जर्सी हस्तान्तरण गरेका हुन् । उनले सुपर कप वुमन्स च्याम्पीयनसीपको ट्रफी पनि सार्वजनिक गरे ।
सो अवसरमा अन्तर्राष्ट्रिय क्रिकेट अम्पायर खानलाई पोखरा महानगरपालिका क्रिकेट संघले कदर पत्रद्वारा सम्मान गरेको थियो । प्रतियोगिताका विजेता र उपविजेतालाई ट्रफी प्रदान गरिने पोखरा महानगरपालिका क्रिकेट संघका सचिव कपिलदेव गौतमले जानकारी दिए । प्रतियोगितामा प्लेयर अफ दी सिरिज र हरेक दिनको प्लेयर अफ दी म्याचलाई पनि ट्रफी प्रदान गरिनेछ ।
तपाईको प्रतिक्रिया