
पोखरा । टेनिसका नेपाल नम्बर १ खेलाडी प्रदीप खड्का सधैंजसो पोखरा रंगशालास्थित टेनिस कोर्ट मै भेटिन्छन् । टेनिस र्याकेट र बलसँगै उनको दैनिकी बित्छ । दशौं राष्ट्रिय खेलकुदका लागि उनले मेहनत र प्रशिक्षण गरिरहेका छन् । तर, राष्ट्रिय खेलकुद परिषद्ले प्रतियोगिताको मिति बारम्बार सार्दा उनी दिक्क छन् ।
सातौं, आठौं र नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशलाई पदक दिलाएका प्रदिप परिषद्को पारा देखेर हैरानीमा छन् । नवौं राष्ट्रिय खेलकुदमा पाएको ३ स्वर्ण (सिंगल्स, डबल्स र टिम गेम) लाई दशौंमा पनि कायम राख्ने सपना तुहिने हो की? भन्ने उनको आशंका छ । ‘आफ्नो ठाउँबाट राष्ट्रिय प्रतियोगिता सहभागी भएर प्रदेशलाई चिनाउँदै मडल जित्छु भन्ने सबै खेलाडीको सपना हुन्छ,’ उनले भने, ‘हरेक २ वर्षमा १ पटक हुनुपर्ने राष्ट्रिय खेलकुद सरेको स¥यै गर्दा मन खिन्न त हुन्छ नि ।’ आफूले तयारी गरेको समयमा गेम नहुँदा रिजल्टममा तलमाथि हुने उनको भनाइ थियो । ‘मेरो व्याक्तिगत कुरा गर्दा जुन किसिमको तयारी गरिरहेको हुन्छु । त्यो समयमा गेम नहुँदा रिजल्टमा फरक पर्छ,’ उनले भने, ‘यो पाराले प्रतियोगिता हुनुभन्दा १ महिना अघि मिति तय गर्दा हामीमा कन्फिडेन्ट लेभल त घटिहाल्छ नि ।’
राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाही पनि राष्ट्रिय खेलकुदको मिति सरेको स¥यै गर्दा हैरानीमा छिन् । मिति तय नहुँदा पुराना खेलाडी रिटायर्ड हुने अनि नयाँ खेलाडीले खेल कौशल देखाउने मौका नै नपाउने उनी बताउँछिन् । ‘राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नै फिक्स नहुँदा खेलाडीमा मनोवैज्ञानिक असर त पर्ने नै भयो । त्यही कारण सोंचेजस्तो खेल्न पनि गाह्रो पर्छ,’ उनले भनीन्, ‘लामो समय खेल भएन भने उमेर ढल्केकाहरु रिटायर्ड हुन्छन अनि नयाँले मौका पनि पाउँदैनन् ।’ तयारी गरेको समयमा खेल नहुने अनि एक महिना पनि समय नदिई मिति टुंग्याउँदा प्रशिक्षणका लागि समय नै नपुग्ने उनले बताइन् । जसले गर्दा खेलाडी खुलेर खेल्न नसक्ने भएकाले सम्बन्धित निकायले यसमा बेलैमा ध्यान दिनुपर्ने उनको सुझाव छ ।
गण्डकी प्रदेश पुरुष भलिबल टिमका प्रशिक्षक रमेश केसीले टिम प्रशिक्षण र तयारीका लागि समय खेर गएको बताए । गण्डकी प्रदेशमा भलिबलको छनोट मात्र २ पटक भएको उनले सुनाए । ‘हाम्रो प्रदेश भलिबलको छनोट त एकपटक गोरखा र अर्को पटक पर्वतमा भयो,’ उनले भने, ‘यसरी छनोट मात्र हुने खेल नहुने हुँदा खेलाडीहरु मारमा परेका छन नि ।’ राष्ट्रिय खेलकुद खेलाडीको खेल कौशल देखाउने र आफूलाई प्रमाणित गर्ने राम्रो अवसर भएपनि यसरी मिति सर्दा उनीहरुको प्रतिभा प्रस्फुटन नै अन्यौलमा परेको उनले सुनाए ।
यसरी हरेक २÷२ वर्षमा हुनुपर्ने नेपाली खेलकुदको महाकुम्भको मिति तय नहुँदा खेलाडी, प्रशिक्षक, आयोजक, खेल संघ, प्रदेश खेलकुद परिषद् र खेलप्रेमी निरास छन् । २०७९ साल असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको राजधानी पोखरामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता भएको थियो । समापन समाराहमा २०८१ मंसिर २ देखि ८ गतेसम्म १०औँ राष्ट्रिय खेलकुदको मिति प्रस्ताव गरिएको थियो ।
पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदका प्रमुख अतिथि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णालीका सामाजिक विकासमन्त्री यज्ञबहादुर बीसीलाई राष्ट्रिय खेलकुदको झण्डा हस्तान्तरण गर्दै १० औँ राष्ट्रिय खेलकुद आयोजना गर्ने जिम्मेवारी कर्णाली प्रदेशलाई सुम्पिएका थिए । तर, पहिलोपटक कर्णाली प्रदेशमा सञ्चालन गर्न लागिएको प्रादेशिक रंगशालाको काम निर्धारित समयमा सम्पन्न नभएपछि प्रतियोगिता पहिलो पटक सरेको थियो ।
पूर्वाधारका कारण पहिलोपटक मिति सारेर २३ देखि ३० चैतसम्म हुने तय गरियो । गत २१ मंसिरमा बसेको राखेपको ११८ औँ बोर्ड बैठकले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता २३ चैतबाट सञ्चालन गर्ने निर्णय गरेको थियो । यो मितिमा पनि तयार पूरा नभएपछि बोर्डको १२१ औँ बोर्ड बैठकले १० औँ राष्ट्रिय खेलकुद ३ देखि १० जेठ २०८२ मा गर्ने निर्णय गरेको थियो ।
तर, त्यो समयमा पनि प्रतियोगिता नहुने भएको छ । चैत अन्तिम साता भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) बोर्डको १२२ औं बैठकले जेठ ३ गतेदेखि हुने भनिएको प्रतियोगिता नहुने निर्णय गरेको हो । तयारीको अवस्था, पूर्वाधारको स्थिति तथा अन्य प्राविधिक कारणहरूले प्रतियोगिता तोकिएको मितिमा गर्न नसकिने बोर्डले जनाएको छ ।
यद्यपी दशौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट मंगलबार सार्वजनिक गरिसकिएको छ । चैतको पहिलो साता राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले लोगो तथा राखेपका उपाध्यक्ष धु्रव आचार्यले मस्कट सार्वजनिक गरेका थिए । राखेपका सदस्य–सचिव टंकलाल घिसिङले दसौँ राष्ट्रिय खेलकुदको डेकिकेटेड वेबसाइट सार्वजनिक गरेका थिए । तर, लोगो, मस्कट र वेभसाइटले कहिले सार्थकता पाउने भन्ने टुंगो छैन् ।
बैठकमा सहभागि प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले राखेपका उपाध्यक्ष एवं दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अनुगमन समितिका संयोजक धु्रब आचार्यले समितिको निर्णयहरु बारे जानकारी दिंदै समितिले तयार पारेको प्रतिवेदन प्रस्तुत गरेसँगै प्रतियोगिता स्थागित हुने निर्णय भएको बताए । ‘कुन खेल कहाँ गर्ने भन्ने बारे स्थानहरु एकिन हुन नसकेको, खेलाडी छनौट प्रक्रिया अघि नवढेको, खेलकुदलाई आवश्यक मापदण्डका पूर्वाधार समेत तयार नभएको, प्रतिकुल मौसम लगायत कारणहरु प्रतिवेदनमा छन्,’ उनले भने, ‘दशौं राष्ट्रिय खेलकुदका लागि धान्ने गरी विद्युत र खानेपानीको समस्या रहेको, खेलाडी, निर्णायक र अफिसियलहरुको संख्या एकिन नभएको, कर्णाली प्रदेश सरकार दशौंको तयारीमा आफैमा अन्यौल रहेको, सरकारलले चालु आवमा २५ प्रतिशत खर्च कटौतीका लागि पत्रचार गरेको, अर्थ मन्त्रालयबाट समयमा रकम निकाशा नभएको कारण पनि प्रतिवेदनमा उल्लेख छ ।’
मिति सरेको सर्यै गर्दा गण्डकी प्रदेश खेलकुद परिषद्लाई खेलाडी छनोट र तयारी खर्च बढेको सदस्य सचिव शर्माले बताए । ‘हामीले गएको आर्थिक वर्षमा २ करोड १० लाख छुट्याइएको थियो । यो आर्थिक वर्षमा १ करोड ८० लाख २४ हजार विनियोजन भएको थियो । त्यसले पनि पुग्दैन भनेर मन्त्रालयमार्फत डेढ करोड थपेको थियो,’ उनले भने, ‘नपुग रकम पनि व्यवस्थापन हुने वाला थियो । पैसा कै कारण प्रदेशको प्रशिक्षण तयारी रोकिनेवाला थिएन् ।’ तर, मिति तय नहुँदा त्यो रकम फ्रिज हुने उनको आशंका छ ।
प्रदेशले छुट्याएको केही रकम खर्च भइसकेको उनले सुनाए । ‘भलिबलको पुरुष र महिला खेलाडी छनोटका लागि जिल्ला भलिबल पर्वत मार्फत करिब २०/२२ लाख रुपैयाँ खर्च भइसकेको छ,’ उनले भने, ‘ह्याण्डबलमा करिब ८ लाख र बास्केटबलमा १० लाख रुपैयाँ जति खर्च भइसकेको छ । यो हिसाबबाट हाम्रो ४०/५० लाख त देखियो ।’ जिल्ला जिल्लामा खेलाडीहरुले आफै पनि खर्च गरेका छन् । यस्तै फेन्सिङ, फुटबल, क्रिकेटलगायत खेलसंघहरुले आफ्नै तरिकाले प्रशिक्षण गरिरहेको उनले बताए । खेलाडी आफै वा संघ र पालिकामार्फत गरेपनि राष्ट्रिय खेलकुद कै लागि खर्च गरिरहेको उनले भनाइ थियो । यसरी खेलाडी, खेलसंस्था र पालिका, परिषद्का खर्च जोड्दा करिब डेढ करोड रुपैयाँ रकम खर्च भइसकेको उनको आंकलन छ ।
प्रतियोगिताको मिति अन्यौल हुँदा परिषद्लाई बोझ थपिने भएकाले यसतर्फ राष्ट्रिय खेलकुद परिषद्ले ध्यान दिनुपर्ने सदस्य सचिव शर्माले बताए । ‘१२२ औं बोर्डको बैठकमा अबको मिति तय गर्दा दशैं तिहारको बिचमा पार्ने कुरा चलेको थियो । उनीहरुको कुरा अनुसार कार्तिकको पहिलो वा दोस्रो हप्तासम्म जाने भयो,’ उनले भने, ‘यसले गर्दा खेलाडी र हामीलाई त फेरी समस्या हुने भयो । बजेट निकासापछि पनि छनोटमा समस्या । खेलाडी पनि खेतीपातीमा लाग्छन् । असार साउनमा पानीले समस्या पार्छ । वर्षा सकिएर तालिम गराउँदा समय नपुग्ने समस्या छ ।’

धनबहादुर गुरुङ
डेढ दसकदेखि पत्रकारितामा क्रियाशील गुरुङ समाधान दैनिक र समाधानन्युज डटकमका संवाददाता हुन् ।
तपाईको प्रतिक्रिया