प्रहरीको एकल प्रयासबाट शान्ति, सुरक्षा असम्भव

समाधान संवाददाता २०८२ वैशाख ८ गते ११:२१

पोखरा ।
नयाँ वर्ष २०८२ को सन्दर्भमा सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीले शुभकामना आदानप्रदान गरेको छ । कार्यक्रममा कास्कीमा क्रियाशील सबै सामुदायिक सेवा केन्द्रहरुले नेपाल प्रहरीका नव नियुक्त महानिरीक्षक दीपक थापालाई बधाई ज्ञापन गरे ।

Advertisement


प्रहरी महानिरीक्षक थापाले समाजमा शान्ति, सुरक्षा कायम गर्न र अपराध नियन्त्रण गर्न नेपाल प्रहरीको एकल प्रयासबाट सम्भव नभएको बताए । ‘समाजमा शान्ति, सुरक्षा कायम गर्न तथा अपराध नियन्त्रण गर्न प्रहरीको मात्र एक्लो प्रयासबाट सम्भव छैन,’ उनले भने, ‘स्थानीय समुदायसँगको सहकार्यमा प्रहरीले अपराध अनुसन्धान र शान्ति सुरक्षाको काम प्रभावकारी गर्न सक्छ ।’


उनले अपराध रोकथाम, नियन्त्रणका लागि स्थानीय समुदाय, संघ, संस्था, आमा समूह, युवा क्लब, विद्यालय तथा स्थानीय तहको समन्वय र सहकार्य आवश्यक पर्ने बताए । उनले विकृति, विसंगति न्यूनीकरण गरी समुन्नत समाज निर्माण गर्न सामुदायिक सेवा केन्द्रको भूमिका रहने जानकारी दिए ।


जिल्ला प्रहरी कार्यालय कास्कीसँगको सहकार्यमा भएको कार्यक्रममा प्रहरी वरिष्ठ नायब निरीक्षक होतबहादुर रोकायले प्रोएक्टिभ पुलिसिङ अन्तर्गत कास्कीमा भएका गतिविधिको प्रस्तुतिकरण गरे ।


समारोहमा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसी, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, सामुदायिक सेवा जिल्ला समन्वय समिति कास्की अध्यक्ष भीम पराजुली, वरिष्ठ उपाध्यक्ष मनपति भण्डारी, महासचिव घनश्याम तिम्सिना, सामुदायिक सेवा केन्द्र लेखनाथका अध्यक्ष गंगा खनाल लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया