काल्खु मेला सकियो, भलिबलतर्फको उपाधि कालीकोटलाई

समाधान संवाददाता २०८२ वैशाख ८ गते १७:४९

स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका ९ काल्खुमा आयोजित ‘ऐतिहासिक काल्खु मेला’मा भलिबलतर्फको उपाधि कालीकोटले जितेको छ । जनसम्पर्क युवा क्लब कालीकोटले साबिक वडास्तरीय भलिबलको फाइनलमा आइतबार ओरस्टेलाई ३–२ को सेटले हराउँदै उपाधि जितेको हो ।

Advertisement

उपाधिसँगै कालीकोटलाई नगद ८१ हजार रुपैयाँ, रनिङ सिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिएको क्लबका अध्यक्ष दीपक रानामगरले जानकारी दिए । उपविजेता ओरस्टेले नगद ४१ हजार रुपैयाँ, सिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्‍यो भने तृतीय स्थान हाँसिल गरेको गहते ‘टिम बि’ले नगद २१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र पायो ।

ओरस्टेका लब्सन सुनार सर्वाेत्कृष्ट खेलाडी बने । सोही टिमकै कृष्ण थापा उत्कृष्ट ब्लकर, कालीकोटका सञ्जय गुरुङ उत्कृष्ट स्पाइकर, सोही टिमकै विवश थापा उत्कृष्ट डिफेन्डर र गहतेका सुजित थापामगर उत्कृष्ट लिफ्टरका रुपमा पुरस्कृत भए । ३५ टिमको सहभागिता रहेको सो प्रतियोगितामा अनुशासित टिमका रुपमा सालडाँडा जामुने नगद १२ हजारसहित पुरस्कृत बन्यो । प्रतियोगिता चैत ३० गते सुरु भएको थियो ।

मेलामा खुला नृत्य प्रतियोगितातर्फ कोल्माकी अनुस्का गुरुङ च्याम्पियन भइन् । कोल्माकी साईसा गुरुङ द्वितीय, पोखराका दिपेश सुनार तृतीय र बयारघारीका विक्रम गुरुङले सान्त्वना स्थान हाँसिल गरे । प्रथम भएकी अनुस्काले ८ हजार रुपैयाँ, द्वितीय साइसाले ६ हजार, तृतीय दिपेशले ४ हजार र सान्त्वना बनेका विक्रमलाई नगद २ हजार प्रदान गरिएको छ । प्रतियोगितामा १५ जनाको सहभागिता रहेको थियो ।

स्थानीय कला तथा संस्कृतिको प्रदर्शनीमा जागृति टोल विकास संस्था प्रथम बन्यो । ६ समूहको सहभागिता रहेको सो प्रदर्शनीमा प्रथम बनेको जागृति १० हजारसहित पुरस्कृत बन्यो । जागृतीले कुसिन्डे भाका प्रस्तुत गरेको थियो ।

Advertisement

उपविजेता बनेको जीवन ज्योति टोल विकास संस्थाले झ्याउरे भाका प्रस्तुत गरेको थियो । यसले नगद ५ हजार पायो । पुतलीबजार नगरपालिकाका प्रमुख तुलसी रेग्मी, पुतलीबजार नगरपालिकाका प्रवक्ता मनोज पौडेल, शुक्लागण्डकी नगरपालिका ११ का वडाध्यक्ष शालिकराम भट्टराई, पुतलीबजार नगरपालिकाका विधान समितिका संयोजक तथा वडा १४ का सदस्य मुवारक मिया, पुतलीबजार नगरपालिका ३ की वडासदस्य सविता पौडेल, पुरस्कारदाता लगायतले पुरस्कार वितरण गरेका थिए ।

मेलामा लोक तथा दोहोरी कलाकार चोलेन्द्र पौडेल, माया गुरुङ, कृष्ण गुरुङ, घनश्याम रिजाल, निश्चल थापामगर, पारु गुरुङ, ममता तामाङ, रेशम थापामगर, अर्चना चापागाईं लगायतले सांगीतिक प्रस्तुति दिएका थिए । मेलाका संयोजक प्रेमबहादुर रानामगरको अध्यक्षतामा कार्यक्रम भएको हो ।

तपाईको प्रतिक्रिया