पोखरा विश्वविद्यालयका रजिस्ट्रार भण्डारीको बिदाइ

समाधान संवाददाता २०८२ वैशाख ८ गते १८:४८

पोखरा । पोखरा विश्वविद्यालयका रजिस्टार प्राडा दीपकबहादुर भण्डारीलाई बिदाइ गरिएको छ । विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आइतबार आयोजित कार्यक्रममा उनलाई बिदा गरिएको हो ।

Advertisement

भण्डारीले २०७८ वैशाख ५ गतेदेखि २०८२ वैशाख ४ गतेसम्म रजिस्ट्रारको जिम्मेवारी सम्हालेका थिए । कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्राडा वेदराज केसी, सेवा आयोगका अध्यक्ष प्राडा तीर्थराज अर्याल, विभिन्न संकायका डीन, विभागीय प्रमुख, शिक्षक, कर्मचारी तथा निकाय प्रतिनिधिको उपस्थिति थियो ।

उपकुलपति केसीले भण्डारीको कार्यकाल सफल रहेको बताउँदै भौतिक पूर्वाधार निर्माण, एकेडेमिक क्यालेन्डरको नियमितता, पाठ्यक्रम अद्यावधिक जस्ता कामले विश्वविद्यालयको छविमा सकारात्मक प्रभाव परेको उल्लेख गरे । सेवा आयोग अध्यक्ष अर्यालले भण्डारीको विद्वता, सीप र नेतृत्व क्षमताको प्रशंसा गरे ।

प्राडा भण्डारीले आफ्नो कार्यकाललाई अनुभव र सिकाइको अवसरको रूपमा स्मरण गर्दै आर्थिक सुधार, प्रशासनिक दक्षता र शैक्षिक विकासमा आफूले योगदान गर्न सकेको बताए । कार्यकाल सुरु हुँदा विश्वविद्यालयको खातामा सीमित रकम रहेको र त्यो ५० प्रतिशतले वृद्धि भएको उनको भनाइ छ ।

मुसेटुँडामा ८ अर्बको महत्वाकांक्षी परियोजनाको डिपिआर तयार गरिएको, १ सय शैयाको अस्पताल निर्माण, समयमै परीक्षा तथा नतिजा प्रकाशनले विद्यार्थी संख्या ३८ प्रतिशतले वृद्धि भएको उनले सुनाए । कार्यक्रममा सहप्रशासक तारादेवी सापकोटा र यादव थापाले पनि बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया