पोखरामा भुइँमान्छे पुस्तकमाथि परिचर्चा

भुइँमान्छेको जीवन, संघर्ष र वर्गीय अवस्था झल्काउने पुस्तक

समाधान संवाददाता २०८२ वैशाख ८ गते १९:०४

पोखरा । पुस्तक ‘भुइँमान्छे’ को पोखरामा सोमबार परिचर्चा गरिएको छ । कोअर्डिनेसन केन्द्रबाट सुरू भएर माले हुँदै नेकपा (एमाले) सम्मको राजनीतिक यात्रामा आम कार्यकर्ताहरूले दिएको योगदानलाई समेटेर तयार गरिएको पुस्तक हो । पुस्तक नेकपा एमालेकी निलम्बित स्थायी समिति सदस्य विन्दा पाण्डेले लेखेकी हुन् ।

Advertisement

मदन भण्डारी फाउण्डेशन कास्कीको आयोजनामा सोमबारको कार्यक्रममा लेखकसहित राजनीतिक विश्लेषक, पत्रकार र पार्टी कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । वक्ता सहित्यकार अम्बिका भण्डारी, त्रिवेणी र पिएन क्याम्पसका पूर्व प्राध्यापक गेहेन्द्रेश्वर कोइरालाले पुस्तकले राजनीतिमा महिलाको भूमिका र एमाले निर्माणको योगदानलाई उजागर गरेको भन्दै प्रशंसा गरे ।

‘भुइँमान्छे’ पुस्तकले लामो समयदेखि ओझेलमा परेका कार्यकर्ताहरूको कथा बाहिर ल्याएको उनीहरूकाे एक स्वर थियो । यस्ता सामग्रीले इतिहास लेखनमा सशक्त भूमिका खेल्ने उनीहरुको विश्वास छ । साहित्यकार अम्बिका भण्डारीले तत्कालीन राजनीतिको विशिष्ट योगदानमा आधारित भएर पुस्तक लेखिएको बताइन् । ‘त्यो बेला पार्टीका नेतालाई आश्रय कसरी दिइन्थ्यो । कार्यकर्ताले कस्तो भूमिका खेले । सबै समेटिएको छ । अर्थात् पुस्तकलाई दस्ताबेज बनेकाे छ,’ उनले थपिन्, ‘भुइँमान्छेमा महिलाको भूमिकालाई देखएको छ । अर्थात् महिना पार्टीको दरिलो खम्बा हुन भन्ने कुरा पुस्तकले छर्लंङ पारेको छ ।’

हिजोको पञ्चायकालमा महिलाहरु कसरी परिवर्तमा होमिएका थिए । अहिलेको पार्टी निर्माणमा महिलाको भूमिका कस्तो थियो । हिजोका क्रान्तिबाट के पाठ सिक्ने । लगायत अनुभवलाई समेटेर भूइँमान्छेमा देखाइएको उनले सुनाइन् । ‘किताबले व्यक्ति हत्याबाट क्रान्ति हुन सक्दैन भन्ने कुरालाई देखाउन खोजेको छ । जुन कुरा राजनीति गर्ने सबैले थाहा पाउन आवश्यक छ,’ उनले सुनाइन् ।

अर्को वक्ता साहित्यकार त्रिवेणीले पुस्तकका विविध पक्षको गहिरो विश्लेषण गरेका थिए । पुस्तकमा कम्युनिष्ट आन्दोलनको आधारभूत तहमा काम गर्ने हजारौँ कार्यकर्ताको संघर्ष, योगदान र अनुभवलाई सजीव रूपमा प्रस्तुत गरिएको उनले सुनाए । त्रिवेणीले कार्यकतालाई निर्णय प्रक्रियामा सहभागी गराएर समाजलाई नै सम्मानित गर्न सक्नुपर्ने बताए ।

Advertisement

इतिहास लेख्दा केही पात्र र प्रवृत्तिहरू छुट्ने विषयमा बोल्दै त्रिवेणीले भने, ‘बिपी, के.आई.सिंहजस्ता नेता उल्लेख नगरिए पनि पुस्तकले अधिकांश त्यस्ता नेताहरूको इतिहास समेटेको छ, जो पछि माले वा एमालेमा भए ।’
सम्भवतः नेकपा (एमाले) को सन्दर्भमा महिला कमरेडहरूको योगदानलाई यति गहिरो विश्लेषणसहित समेटिएको यो पहिलो पुस्तक भएको उनले बताए । ‘बालकुमारी थापा, गोमा देवकोटा, लालमाया राई जस्ता थुप्रै महिलाहरूको योगदान इतिहासमा हराउने थियो, यो पुस्तकले उनीहरूलाई उजागर गरेको छ,’ उनले भने ।

त्रिवेणीले पुस्तकले क्रान्तिको मानक, समाजको वर्गीय अवस्था र सांस्कृतिक पाटालाई केलाएर गहिरो अध्ययनको ढोका खोलेको धारणा राखे । ‘सातु खाएर सम्मेलन गर्ने, अकबरे खुर्सानी पचाउन नसक्ने कमरेड, गँगटा पिसेर रोटी बनाउने लुम्बिनीकी महिला, यी सबै कुराले भूँइमान्छेको जीवन, संघर्ष र वर्गीय अवस्था झल्काउँछ,’ पुस्तक पढ्नुपर्ने मुख्य कारणसमेत स्पष्ट पार्दै उनले भने, ‘नेताले किन पढ्ने? भुइँमान्छेका गुनासा के छन् थाहा पाउन । टेक्निकल्ली भन्दा एमालेलाई मत पार्टीको विचार मन परेर दिइएको हो । त्यसकारण १५ लाख मतदाताको लाइब्रेरीमा यो पुस्तक पुग्नैपर्छ ।’

पिएन क्याम्पसका पूर्वप्राध्यापक गेहेन्द्रश्वर कोइरालाले भूइँमान्छे नलेखिएका मान्छेको किताब भएको सुनाए । ‘यस्ता किताब धेरै आवश्यक थिए । यस्तो किताब लेखिएको थिएन । त्यसकारण यो सूचनाको संंग्रह हो,’ उनले भने । किताबमा २०१५ सालमा भएको चुनामा ककस्ले कम्युनिष्टको नाममा चुनाव लडेका थिए, ती सबै नाम थाहा पाउन सकिने उनले सुनाए । ओली २०२९ सालमा किन हराए, जेल जीवनपछि पहिलो बैठक कहाँ बसे ती सबै किताबमा उल्लेख गरिएको उनले बताए । ‘यो किताबमा ७५ प्रतिशत महिलाको योगदान समावेश गरिएको छ । विशेष गरेर ४६ सालअघिको वर्गाीय कुरालाई कसरी उठाइयो, किताबमा छ,’ उनले भने, ‘वर्गाीय कुरा मात्र होइन, विचारको उत्पति भौतिकवादसँग जोडिन्छ । त्यसलाई पनि मान्नुपर्छ ।’ उनले गुटगत राजनीति हुन्छ भने आलोचनात्मक चेत राख्नु नै गलत भएको सुनाए ।
लेखक विन्दा पाण्डेले अरुको भावना र बिचारलाई आफूले कलेक्सन गरेर लेखेको बताइन् । ‘सुरुमा मैले यो सेल्टरदातासँग मात्र केन्द्रीत हुने कि भन्ने सोचेको थिए । तर, पछि यो सबैको योगदानलाई समेटेर तयार गरे,’ उनले भनिन् । लोकतन्त्र प्राप्ति पछि पार्टीभित्र नेतृत्वबाट भएका कतिपय निर्णयहरूलाई अप्रजातान्त्रिक कार्यशैलीका रुपमा चित्रण गरिएको छ । सुशासनका लागि आवाज उठाउँदा पार्टी नेतृत्वबाट विद्रोही शैलीको भाष्य सृजना गरिएको भएपनि आफू सधैँ पार्टी बनाउन भूमिका निर्वाह गर्ने भुइँमान्छेका भावना र अपेक्षाप्रति प्रतिबद्ध रहेको पाण्डेले बताइन् ।
‘२०२८ सालदेखि ०४६ सालसम्म खास गरेर नेकपा माले धार निर्माणमा आम नागरिकको भूमिका कस्तो रह्यो भन्ने कुरामा पार्टी निर्माणमा कसरी सहयोग गर्नुभयो, भूमिगत नेताहरूलाई कसरी लुकाउनुभयो, कसरी खुवाउनुभयो र व्यवस्थापन कसरी गर्नुभयो भन्ने कुरामा त्यतिखेर कडा निरंकुश शासन थियो, त्यतिखेर सुरक्षा कसरी दिनुभयो ? उहाँहरू आफै सम्पर्क गर्न सक्ने स्थिति थिएन यो किताममा समेटेको छु,’ उनले भनिन्, ‘अघि परिचर्चा गर्नुभयो । यो किताब १५ लाख मान्छेले हेर्नुपर्छ भन्नुभयो । तर, म त भन्छु । हिजोका माले सबैले यो किताब पढ्नुपर्छ । अहिलेका एकीकृत समाजवादीका नेता कार्यकर्ताले यो पढ्नुपर्छ जस्तो लग्छ । खास गरेर श्रमजीवी, महिला, किसान, बालबालिकाहरूले पनि कसरी सहयोग गरे भन्ने विषय र पार्टी निर्माणमा आममान्छेको भूमिकाका विषयमा यसमा लेखिएको छ ।’ कार्यक्रमको सहजीकरण सुर्य भण्डारीले गरेका थिए ।

तपाईको प्रतिक्रिया