क्षत्री जातिलाई आदिवासीमा सूचीकृत गर्न क्षत्री समाज नेपालको माग

पोखरा । क्षत्री जातिलाई आदिवासीमा सूचीकृत गर्नुपर्ने माग क्षत्री समाज नेपालले गरेको छ । समाजको पोखरामा सम्पन्न केन्द्रीय कार्य समितिको बैठकले राष्ट्रिय महत्वका लागि सरकारसँग ६ बुँदे माग राख्ने निर्णय गरेको महासचिव कृृष्णबहादुर थापाले जानकारी दिए ।
सबै जातिबीच सद्भाव कायम गर्नुपर्ने, राज्यका हरेक तहमा जातीय जनसंख्या आधारमा समानुपातिक प्रतिनिधिको व्यवस्था गर्नुपर्ने, जातीय आरक्षणलाई वर्गीयरुपमा गर्नुपर्ने, राष्ट्रलाई दीर्घकालीन असर पर्ने निर्णयमा सबैको सहमतिमा गर्नुपर्ने, सामाजिक सुरक्षामा लगाइएको उमेर हद विवाद हटाउनुपर्ने, खस क्षत्रीहरुको राष्ट्रिय आयोग गठन गर्नुपर्ने माग राखेको छ।
‘राष्ट्रिय आवश्यकता जातीय सद्भावका निम्ति क्षत्री एकता आजको आवश्यकता’ भन्ने मूल एजेण्डासहित पोखराबाट सुरु भएको समाजको अभियान हाल अन्तर्राष्ट्रियस्तरसम्म पुगेको छ । उनका अनुसार समाजको गतिविधिसहित क्षत्री एकता राष्ट्रियता अखण्डताका लागि समाज सक्रियरुपमा रहेको छ ।
बैठकले महासचिवद्वारा प्रस्तुत सांगाठनिक प्रतिवेदन प्रस्ताविक कार्यक्रम योजना कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक प्रस्तावसहित उपाध्यक्षहरुबाट प्रदेश अध्यक्ष र केन्द्रीय सदस्यहरुबाट जिल्लागत पेस भएको प्रतिवेदन पारित गरेको समाजका अध्यक्ष रिबबहादुर थापाले बताए ।
समाजको विधानअनुसार केन्द्रीय सचिवालयमा अध्यक्ष रिबबहादुर थापा, वरिष्ठ उपाध्यक्ष लेखबहादुर कार्की, उपाध्यक्षहरु रामेश्वर थापा, लालबहादुर अधिकारी, अमृतादेवी बानियाँ, महासचिव कृष्णबहादुर थापा र कोषाध्यक्ष शंकर केसी छन्।
समाजका विविध गतिविधि थप सक्रिय बनाउन देशैभर समाजको अभियान गर्ने, अधिवेशन गर्न बाँकी जिल्ला समितिको अधिवेशन, भवन मर्मत सम्भार, समाजलाई अन्तर्राष्ट्रियस्तरमा सक्रिय गराउन विविध गतिविधिको निरन्तरता दिन विधान संशोधन समिति, प्रस्तावित कार्यक्रम पारित गरेको छ ।
समाजका अध्यक्ष रिबबहादुर थापाको अध्यक्षतामा भएको कमर्यक्रममा उपाध्यक्षहरु लालबहादुर अधिकारी, राजेन्द्र अधिकारी, श्याम कार्की, भरत बस्नेत, रामेश्वर थापा, महिला उपाध्यक्ष अमृतादेवी बानियाँ, समाजका गण्डकी प्रदेश अध्यक्ष इन्द्रमान खत्री, लुम्बिनी प्रदेश अध्यक्ष पृथ्वी फौदार, कानून विभाग प्रमुख यमबहादुर क्षत्री, लेखा आयोग अध्यक्ष चन्द्र सुवेदी, निवार्चन समिति अध्यक्ष धु्रव खड्का, सचिव शिवबहादुर थापा लगायतले विषयगत भनाइ राखेका थिए ।
समाजको नाम प्रयोग गरी असम्बन्धित कार्यक्रमप्रति विरोध गर्दै सोको नेतृत्व गरेका पूर्व उपाध्यक्ष योगेन्द्र कार्कीलाई समाजको सल्लाहकार र सदस्यबाट निलम्बनसहित त्यस्ता गतिविधिमा नलाग्न कोही पनि क्षत्री समुदायलाई आग्रह गरिएको छ ।
साथै अन्य क्षति जाति नाममा गठित समाजहरुसँग एकता वार्ताका लागि पूर्व अध्यक्ष प्राडा चन्द्रबहादुर थापाको संयोजकत्वमा ५ सदस्यीय केन्द्रीय वार्ता एकता समिति गठन गरिएको छ । साथै, त्यस्ता समूहलाई एकता प्रक्रियामा आउन बैठकले आह्वान गरेको महासचिव थापाले जानकारी दिए ।
बैठकपूर्व क्षत्री समाज नेपाल जिल्ला समिति कास्कीले केन्द्रीय समितिलाई स्वागत सम्मान गरेको थियो ।
तपाईको प्रतिक्रिया