बेगनास तालमा सशस्त्र प्रहरीको कम्युनिटी सर्च एन्ड रेस्क्यु अभ्यास

पोखरा । बेगनास तालमा कम्युनिटी सर्च एन्ड रेस्क्यु तालिम र विपद् प्रतिकार्य नमुना अभ्यास गरिएको छ । गण्डकी प्रदेश सरकारको सहयोग एवं सशस्त्र प्रहरी बल, मुक्तिनाथ बाहिनीको समन्वय र सशस्त्र प्रहरी बल नेपाल कालिका गणको आयोजनामा भएको कार्यक्रम ३ दिनसम्म चलेको थियो ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जल उत्पन्न प्रकोप सम्बन्धी अभ्यासले सहभागीहरुमा पुनर्ताजगी पैदा गर्नुका साथै थप अभ्यस्त बनाएको बताए । विपद्का घटना कम गर्न मद्धत पुगोस् भन्ने उद्देश्यले गण्डकी प्रदेश सरकारले सबै सुरक्षा निकायसँगको समन्वय र सहकार्यमा विपद् नमुना अभ्यास, तालिम, प्रतिकार्य र सामग्री हस्तान्तरणका कार्यक्रममा सहकार्य गर्दै आएको उनले बताए । प्रदेश सरकारको सहयोगमा फेवा तालमा वाच टावर सञ्चालन गरिएको छ भने बेगनास तालमा पनि यस वर्षदेखि वाच टावर निर्माण सुरु भएको छ ।

विपद् जस्तो मानवीय संवेदनासँग प्रत्यक्ष जोडिएको विषयमा आवश्यक जुनसुकै साधन स्रोतको व्यवस्थापनको लागि प्रदेश सरकार अभिभावकीय भूमिका निर्वाह गर्न हरदम तयार रहेको मुख्यमन्त्री पाण्डेको भनाइ थियो । विपद्को सम्भावित खतरा न्यूनीकरण र विपद्पछिको खोज, उद्धार, उपचार, राहत लगायतका काममा सरोकारवाला सबै एकजुट भएको खण्डमा ठूला विपद्को सहजै सामना र सहजीकरण गर्न सकिने उनले बताए ।
विपद् व्यवस्थापनका लागि प्रदेश सरकारले वार्षिक रुपमा आर्थिक स्रोतको पनि सुनिश्चतता गर्दै आएको छ । प्रदेशस्तरमा १० करोड नघट्ने गरी र जिल्लास्तरमा १० लाख नघट्ने गरी विपद् व्यवस्थापन कोष सञ्चालन गरिरहेका मुख्यमन्त्रीले जानकारी गराए ।
विपद्का बेला छिटो उद्धार, उपचार र राहतमा सघाउन सक्ने गरी यस्ता तालिम, प्रशिक्षण दिने, यन्त्र उपकरणहरु सहयोग गर्ने, सुरक्षाकर्मीको मनोबल बढाउने, आवश्यक सामाग्रीहरु सहयोग गर्ने काम प्रदेश सरकारले गरिरहेको छ । संघ सरकारले प्रदेश सरकारलाई गत साता हस्तान्तरण गरेको प्रदेशिक आपतकालीन गोदाम घरमा भएका सामग्रीले विपद्को पूर्व तयारीमा प्रदेश सरकारकालाई ठूलो मद्धत पुग्ने मुख्यमन्त्री पाण्डेले बताए ।

तपाईको प्रतिक्रिया