सिएम स्विमिङ पुल नयाँ व्यवस्थापनमा
स्तरोन्नतिसँगै ‘पोखरा सेन्ट्रल ओयसिस’का नाममा सञ्चालन

पोखरा ।
तेर्सापट्टीस्थित द क्लब सिएम (सिएम स्वीमिङ पुल) नयाँ व्यवस्थापनले सम्हालेको छ । उक्त स्थानमा धेरै वर्षदेखि सञ्चालन हुँदै आएको स्विमिङ पुललाई स्तरोन्नति गरी नयाँ व्यवस्थापनले ‘पोखरा सेन्ट्रल ओयसिस’ का नाममा सञ्चालनमा ल्याइएको हो ।
भौतिक पूर्वाधार स्तरोन्नति गरी रेस्टुरेन्ट सुविधासहित क्लब र स्विमिङ पुल सञ्चालनमा ल्याइएको एक सञ्चालक शोभा भुसाल देवकोटाले जानकारी दिइन् । उनकै भनाइमा तत्काल १ करोड रुपैयाँ खर्च गरिएको छ ।
स्विमिङ सम्बन्धी सम्पूर्ण तालिम, स्पा, बारिस्टा ट्रेनिङ, क्याफे तथा कन्फरेन्स हल, मेडिटेसन र योगाको सुविधासहित ‘पोखरा सेन्ट्रल ओयसिस’ लाई सञ्चालनमा ल्याइएको सञ्चालक देवकोटाले जानकारी दिइन् ।
‘खानाका पारखीका लागि दाउराबाटै पकाएर खुवाउने व्यवस्था गरिनेछ । पोखराको मुख्य बजारभित्र पनि रूख बिरुवा बिच बसी प्राकृतिक आनन्द लिने वातावरण मिल्नेछ । त्यसका लागि द्रुत गतिमा निर्माण कार्य भइरहेको छ,’ देवकोटाले भनिन् । अब जेठ १५ देखि सम्पूर्ण सुविधासहित सञ्चालनमा ल्याइने तयारी गरिएको उनले बताइन् ।
स्विमिङ पुल खुला, अन्य तयारी तीव्र
स्विमिङ पुलको स्तरोन्नति गरी खुला गरिसकिएको छ । पोखरामा सबैभन्दा गहिरो (११ फिट) र बच्चाहरूका लागि छुट्टै पुलको व्यवस्था गरिएको सञ्चालकले जनाएका छन् । सामान्य स्विमिङका लागि ३५० रुपैयाँ तोकिएको छ । बच्चाहरूका लागि २५० रुपैयाँमात्र लिने गरिएको सञ्चालक देवकोटाले बताइन् ।
अनुभवी प्रशिक्षकलाई अनुबन्ध गरी पौडीको नियमित प्रशिक्षणको व्यवस्था पनि मिलाइएको छ । एक हप्ताका लागि ७ हजार, १५ दिनका लागि ९ हजार र १ महिनाका लागि १२ हजार रुपैयाँमा पौडी सिक्न सकिनेछ । आफूले चाहेको समयमा बालबालिका तथा वयस्कले समेत पौडी सिक्न सक्ने सञ्चालकले जनाएका छन् ।
तपाईको प्रतिक्रिया