
धनबहादुर गुरुङ, पोखरा ।
ठ्याक्कै १० वर्षअघि, आज कै दिन । कतिलाई याद छ । धेरैले भुलिपनि सके । तर, धादिङ रिचेत गाउँकी ५० वर्षीया उर्चमाया तामाङको परिवारले २०७२ वैशाख १२ को दिन कहिल्यै भुल्दैन । गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको विनासकारी गोरखा भूकम्पले उक्त दिन उनको परिवारको खुसी खोसेर लगेको थियो ।
भूकम्पले उनको ६ वर्षीय छोरा र ८ वर्षीया छोरीको घटनास्थलमै ज्यान गयो । उनी आफै पनि अशक्त भइन् । २ छोरा, २ छोरी श्रीमान र आफूसँगको परिवारबाट छोराछोरी भूकम्पमा परेपछि उनको परिवार अहिले पोखरा धारापानीस्थित स्वागत टोलमा बस्छ । उनको परिवारले त्यो दिनलाई भुल्न खोज्छ तर, कहिल्यै भुल्न सक्दैन ।
‘भुल्न त खोज्छु । तर भुल्ने सक्दिनँ । हरेक वर्ष वैशाख १२ ले झन् खाटो बसेको घाउ बल्झाएझै हुन्छ,’ उनले त्यो दिन सम्झिइन्, ‘सम्झने बस्नेभन्दा अर्को विकल्प के छ र ! पुरिएकै ठाउँबाट छोरीले आमाआमा भन्दै बोलाएको आजै जस्तो लाग्छ ।’ पोखरा आएपछि पुराना दिनले अझै पिरोल्ने भएकाले गाउँ जानै मन नलाग्ने उनी बताउँछिन् ।
उनकी छोरी २१ वर्षीया प्रेमिका तामाङ पनि गोरखा भूकम्पले परिवारमा कहिल्यै नमेटिने घाउ छाडेर गएको बताउँछिन् । भूकम्प जाँदा उनी ११ वर्षकी थिइन् । सानै भएपनि त्यतिबेलाको सम्झना अझै ताजै रहेको उनी सुनाउँछिन् । ‘त्यो दिनमा आमा भान्सामा चिया बनाउँदै हुनुहुन्थ्यो । बहिनी माथिल्लो तलामा थिइन् । भाइ र म आँगनमा खेलिरहेका थियौं,’ उनले भावुक हुँदै सम्झिइन्, ‘एक्कासि हल्लिन थाल्यो । आमा बाहिर निस्किनुभयो । बहिनी माथिबाट झरेर आमालाई समाइन् । भाइ पनि आमा भएकैतिर दुगुर्यो । म पनि आमासँगै जादाजादै घर घर्लम्मै धलिहाल्यो ।’
सम्झने बस्ने भन्दा अर्को विकल्प के छ र ! पुरिएकै ठाउँबाट छोरीले आमाआमा भन्दै बोलाएको आजै जस्तो लाग्छ
हेर्दाहेर्दै रिचेत गाउँको सबै घर ढल्न थालेको उनले सम्झिइन् । सबैतिरको सबै घर ढलेपछि कतै भाग्ने ठाउँ नै नभएपछि पुरिनुको विकल्प नै नरहेको उनले सुनाइन् । ‘मेरै आँखा अगाडि सबै घरहरु ढल्यो हामी यताउता चल्ने ठाउँ नै भएन्,’ उनले विगत सम्झिइन्, ‘भाइ र बहिनी हामी भन्दा अलि भित्र परेछ । आमा र म सास फेर्न मिल्ने ठाउँमा परेछौं र बाँचियो । भाइ एकैपटकमा सकिसकेछ । बहिनीले ३ पटकसम्म आमाआमा भन्दै बोलाएको सुनेथे । तर, हामी नै च्यापिएका थियौं हाम्रो केही सिप लागेन ।’
बाबा र दाइ भने काममा घर बाहिर भएकाले केही नभएको प्रेमिकाले बताइन् । पछि दाइ र बाबाले आफूहरुको उद्धार गरेको उनले बताइन् । ‘मेरो र आमाको शरीरमा घरको ढुंगामाटोले पुरिएको थियो । बाबा गोठमा भएपनि घर ढलेको थाहा पाएर आएर हामीलाई निकाल्नु भयो । समयमै बाबा नआउनुभएको भए त हामी पनि के हुन्थ्यौं,’ उनले भनीन्, ‘त्यो बेला हाम्रो रिचेत गाउँमा मात्र १४ जनाको ज्यान गएको थियो । हामी जस्तो घाइते त कति हो कति । एउटा घर पनि सग्लो थिएन ।’
उद्धार भएपछि पनि राम्रो उपचार नपाएको उनी बताउँछिन् । भूकम्प गएको २ दिनपछि मात्र हेलिकप्टबाट उद्धार गरी धादिङबेसी झारेर उपचार गरेको उनले सुनाइन् । ‘हामी खेतमा गएर बस्यौं । हामीले कहिल्यै पनि गाउँबाट धादिङ झरिन्छ होला भनेर सोंचेकै थिएन् । केही दिनको उपचारपछि त्यही मामाघरमा बसियो,’ उनले भनिन्, ‘फूपूहरु पोखरा हुनुहून्थ्यो । उहाँले नै यता बोलाउनुभयो । हाम्रो गाउँको ९ घरपरिवार सबै पोखरा भएकाले यतै आइयो ।’
रिचेत गाउँबाट पोखरा आएका ९ घरपरिवार भूकम्प पीडित धारापानी पाखास्थित स्वागत टोलमा बस्छन् । उनीहरुमध्ये पुरुषले बाहिरको काम गर्छन भने महिलाहरु चोयाँबाट विभिन्न सामाग्री बनाएर बेच्छन् । त्यस पाखामा एउटा बस्ती नै बसाएका सबै घरपरिवारले वैशाख १२ कहिल्यै भुल्न सक्दैनन् । उनीहरुले भूकम्पका कारण जुन पीडा भोगिरहेका छन् । त्यो पीडा अरुलाई नपरोस भन्दै भूकम्पबाट बच्न पूर्वतयारीमा ध्यान दिन उनीहरु आग्रह गर्छन् ।
२०७२ वैशाख १२ गतेका दिन बिहान ११ बजेर ५६ मिनेटमा गएको ७ दशमल ८ रेक्टरस्केलको भूकम्पले देशभर ८ हजार ९ सय ७९ जनाको अकालमा निधन भएको थियो । २२ हजार ३०९ जना घाइते भएका थिए । भूकम्पमा परी गोरखा जिल्लाका मात्र ४७१ जनाको निधन भएको थियो ।

धनबहादुर गुरुङ
डेढ दसकदेखि पत्रकारितामा क्रियाशील गुरुङ समाधान दैनिक र समाधानन्युज डटकमका संवाददाता हुन् ।
तपाईको प्रतिक्रिया