५ करोडको लागतमा अर्नाकोटमा खानेपानी आयोजना

समाधान संवाददाता २०८२ वैशाख १२ गते १०:३७

पोखरा ।
नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले प्रस्तावित अर्नाकोट ग्रामीण खानेपानी (लिफ्टिङ) स्तरोन्नतिका सन्दर्भमा सरोकारवाला तथा दातृ निकाय बीच अन्तक्र्रिया गरेको छ । बागलुङको निसीखोला गाउँपालिका २ अर्नाकोट देवीस्थानमा १ घर १ धारा खानेपानी परियोजना सञ्चालनको बारेमा कार्यक्रम गरेको रेडक्रस सोसाइटी कास्कीका सभापति उर्मिला खड्का भण्डारीले जानकारी दिइन् । कार्यक्रममा निसीखोला गाउँपालिका र कर्मफ्लाइट फाउन्डेसन नेपाल पोखराले रेडक्रस कास्कीका नवनिर्वाचित पदाधिकारी र सदस्यलाई सम्मान समेत गरेको छ ।

Advertisement


रेडक्रस सोसाइटी कास्की खानेपानी तथा सरसफाइ परियोजना प्रमुख कल्पना ज्ञवालीले निसीखोलाको सिरको अर्नाकोटमा रेडक्रसले १२ वर्ष अगाडी लिफ्टिङ मार्फत ४२ सामुदायिक धारासहितको खानेपानी आयोजना बनाएको जानकारी दिइन् । सोही खानेपानी आयोजनाको स्तरोन्नति गरी नयाँ पम्प थपेर १ घर १ धाराका लागि प्रस्ताव अगाडि बढाएको उनले उल्लेख गरिन् । उनले करिब ५ करोड रुपैयाँको लागतमा बन्ने परियोजनाबाट १ हजार ८ सय ८७ जना लाभान्वित हुने बताइन् ।


खानेपानी तथा सरसफाइ परियोजनाका इन्जिनियर सागर गौतमले रेडक्रस कास्कीले खानेपानी आयोजनाको बारेमा सम्भाव्यता अध्ययन गरेको जानकारी दिए । उनले हरेक घरमा पानी पुर्‍याउँदा २ सय ८६ धारा जडान गर्नुपर्ने बताए । उनले १ हजार ८ सय ४५ मिटर उचाइमा रहेको हाँडीचार मूलबाट लिफ्टिङमार्फत २ हजार २ सय ६३ मिटरको उचाइमा खानेपानी पुर्‍याउने योजना सुनाए । उनले स्रोत सुनिश्चित भए परियोजना अगाडि बढ्न सक्ने बताए ।


दातृ निकाय युनिका फाउन्डेसन दी नेदरल्यान्डका राष्ट्रिय निर्देशक रमेश पौडेलले १ घर १ धाराको सरकारी नीतिमा अर्नाकोट समेटिनुपर्ने बताए । उनले सरोकारवाला सबैको समन्वयमा आगामी सेप्टेम्बर महिनासम्ममा परियोजना अगाडि बढ्न सक्ने संकेत गरे ।


निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले अर्नाकोटको खानेपानीको ठूलो समस्याप्रति पालिकाले चिन्ता र चासो व्यक्त गरेको बताए । ‘आवश्यक स्रोत साधन नभएको स्थानीय तह गरिब छ,’ उनले भने, ‘त्यहाँ खानेपानी पुर्‍याउने तिब्र चाहना छ । स्थानीय तह पन्छिने पक्षमा छैन ।’ उनले दातृ निकाय, रेडक्रस लगायत सबै सरोकारवालाको समन्वयमा खानेपानी आयोजना अगाडि बढाउने पक्षमा पालिका रहेको जनाए ।

Advertisement


निसीखोला २ का वडाध्यक्ष कुवीर विश्वकर्माले पालिकाको रातो किताबमा खानेपानी आयोजना परेको भएता पनि बजेट अभावमा काम अगाडि बढ्न नसकेको जानकारी दिए । अर्नाकोट बस्तीमा नजिकै पानीको मूल नभएको जानकारी दिँदै उनले लिफ्ट आयोजना दीर्घकालीन नभएको बताए ।


अर्नाकोट देउराली खानेपानी उपभोक्ता समितिका सचिव ओमबहादुर रसाइलीले केही वर्षअघि अर्नाकोटमा लिफ्टिङ प्रविधिबाट ल्याइए पनि पटक–पटक बिग्रिएर समस्या भएको बताए । उनले विसं २०४७ मा ल्याएको खानेपानी आयोजनाको मुहान सुक्दा अर्नाकोटबाट हरेक दिन बसाइ सर्नेहरु बढिरहेको दाबी गरे । अर्नाकोट माविका प्रधानाध्यापक ईश्वर सिर्पालीले विद्यार्थी संख्या बढे पनि पानीको जोहो गर्नुपर्ने बाध्यताले पठनपाठन असर गरिरहेको जानकारी दिए । विद्यालयमा पर्याप्त पानी नहुँदा विद्यार्थी शिक्षकहरु सरसफाइदेखि स्वास्थ्यका क्रियाकलापसमेत प्रभावित भएको उनको भनाइ छ ।


कार्यक्रममा नेपाल रेडक्रस कास्कीका सभापति उर्मिला खड्का भण्डारी, निवर्तमान सभापति डण्डराज शर्मा, उपसभापति रमा कोइराला न्यौपाने, मन्त्री सन्तोष अधिकारी, कोषाध्यक्ष मोहनसिंह खड्का, उपकोषाध्यक्ष कालीदास सापकोटा, कार्यसमितिका सदस्य महेश्वर दवाडी, अर्नाकोट मावि व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर कुँवर, कर्मफ्लाइट फाउन्डेसन नेपालका निर्देशक प्रेमबहादुर कुँवरले अर्नाकोटको खानेपानीको समस्याको बारेमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया