मदन भण्डारी फाउन्डेसनद्वारा पोसाक र शैक्षिक सामग्री वितरण

समाधान संवाददाता २०८२ वैशाख १२ गते २०:४०

पोखरा । मदन भण्डारी फाउन्डेसन कास्कीले शुक्रबार विपन्न वर्गका विद्यार्थीहरूलाई पोसाक र विभिन्न शैक्षिक सामग्री वितरण गरेको छ । दियालो फाउन्डेसनसँगको सहकार्यमा विद्यालय पोसाक, कपी, झोला सहितका सामग्री फाउन्डेसनका अध्यक्ष माधव वास्तोलाले वितरण गरेका थिए ।

Advertisement

कास्कीका विभिन्न विद्यालयका ८५ जना विद्यार्थीलाई सहयोग गर्ने कार्यक्रमअन्तर्गत आज १५ जनालाई वितरण गरिएको र बाँकीलाई केही दिनमा वितरण गरिने अभियानका संयोजक रमेश भण्डारीले बताए ।

अभिभावकहरूले कपी, कलम, लगाउने कपडा, झोला नभएर स्कुल जान नमान्ने बालबालिकालाई प्रोत्साहन भएको बताउँदै धन्यवाद दिएका थिए । कार्यक्रममा युवा नेताहरू सूर्य भण्डारी, शेखर गौतम र रेडक्रस कास्कीका सदस्य खगेन्द्र पराजुलीको उपस्थिति थियो । कार्यक्रम रमेश भण्डारीले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया