सिर्जनशीलको कार्यक्रम पर्वतको मल्लाजमा

पोखरा ।
सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरा र मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठान जलजला–४, मल्लाज, पर्वतको संयुक्त आयोजनामा शनिबार एक दिवसीय काव्यविमर्श तथा रचनावाचन कार्यक्रम मल्लाज बहुउद्देश्यीय सहकारीको सभाहलमा भएको छ ।
कार्यक्रममा बेनीबजार, म्याग्दीका साहित्यकार अजय मिलन श्रेष्ठले ‘काव्य कृतिमा धौलागिरी क्षेत्रका कविहरूको योगदान’ शीर्षकमा गोष्ठीपत्र प्रस्तुत गर्दै नेपाली कविताको प्राथमिक कालदेखि नै धौलागिरिका स्रष्टाहरूले सशक्त आवाज उठाउन थालेको सन्दर्भ उल्लेख गरे ।
श्रेष्ठले आधुनिक कालमा समेत विभिन्न स्रष्टाहरूले मानवतावादी, प्रगतिवादी तथा प्रयोगवादी लेखनमा आफ्नो बलियो उपस्थिति रहेको दावा गरे । उनले धौलागिरि क्षेत्रले पूर्वीय अध्यात्म दर्शनका साथै नेपाली लोक साहित्यको विकासमा महत्त्वपूर्ण योगदान गरेको प्रसंग उल्लेख गरे ।
गोष्ठीपत्रमाथि टिप्पणी गर्दै विन्दुवासिनी संस्कृत विद्यापीठ पोखराका प्रमुख सहप्रा. आनन्दमणि रिजालले धौलागिरिमा जन्मिएर साहित्यिक कर्ममा निरन्तर खटिरहेका स्रष्टाको जानकारी गराउन सफल उक्त गोष्ठीपत्र निकै मिहिनेत गरेर तयार पारिएकाले सूचनाको राम्रो सामग्री भएको बताए ।
टिप्पणीकर्ता रिजालले प्रस्तुत गोष्ठीपत्र विश्लेषणात्मक नभई विवरणात्मक भएकाले केही राष्ट्रिय रूपमा ख्याति प्राप्त स्रष्टाको विवरण छुटेको हुन सक्ने कुराको संकेत गर्दै यस क्षेत्रले नेपाली साहित्यको विकासमा महत्त्वपूर्ण योगदान दिन सक्ने कुरा उल्लेख गरे ।
कार्यक्रममा पोखरा र धौलागिरि अञ्चलका विभिन्न स्रष्टाहरूले देशप्रेम, समसामयिक राजनीति, विसंगति र विकृति, प्रकृतिप्रेम, माता र पितृभक्ति भावले भरिएका गीत, गजल, कविता, लघुकथा प्रस्तुत गरे ।
उक्त अवसरमा पोखराबाट गएका साहित्यकार डा. भानुभक्त आचार्य, चन्द्रावती वाग्ले, टीकाराम वाग्ले, अम्बिकाप्रसाद भट्टराई, डा. नवराज न्यौपाने, प्राडा शालिग्राम सुवेदी, पुण्यप्रसाद भट्टराई, डा. भूमिराज बस्ताकोटी र धवलागिरी क्षेत्रका गीता अधिकारी, शान्तिनारायण श्रेष्ठ, विष्णुकुमारी रायमाझी, ध्रुवलाल शर्मा, चन्द्रबहादुर लामिछाने, इन्द्रकुमार विकल्प, मनोहर पौडेल, डिआर शर्मा आदिले आआफ्ना रचना वाचन गरेका थिए ।
कार्यक्रममा मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष लीलानाथ पौडेल असन्तोषी, खेमराज शर्मा आदिले शुभकामना मन्तव्य प्रकट गरेका थिए । कार्यक्रमको अन्त्यमा सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराका अध्यक्ष सुरज पौडेलले दुई संस्थाका बिचमा यस्तो महत्त्वपूर्ण कार्यक्रम गर्न पाउँदा आफू निकै खुसी भएको र उक्त कार्यक्रम सम्पन्न गर्न लागिपर्ने सबैमा धन्यवाद ज्ञापन गरे ।
मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठानका अध्यक्ष केदारनाथ पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संयोजन प्राडा जगन्नाथ रेग्मीले गरेका थिए । कार्यक्रम संयोजक रेग्मीले पोखरामा बसेर सिर्जना तथा समालोचना गरिरहेका स्रष्टा र मल्लाजमा बसेर काव्य साधना गरिरहेका स्रष्टाका बिचमा आपसी भेटघाट गर्ने, अनुभव साट्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको सुनाए ।
उनले कालन्जर क्षेत्र पौराणिक कालदेखि विभिन्न ऋषिमुनिको तपोभूमिका रूपमा रहेको र आधुनिक नेपाली साहित्यमा मोहनबहादुर मल्ल हुँदै हालसम्म पनि विभिन्न स्रष्टाहरूले निरन्तर साहित्य साधना गरिरहेको जानकारी गराए ।
उक्त कार्यक्रमका अध्यक्षसमेत रहेका केदारनाथ पौडेलले मल्लाजमा सम्पन्न यो एक ऐतिहासिक कार्यक्रम भएको धारणा राखे ।
कार्यक्रममा मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठानका सदस्य गोपालप्रसाद आचार्यले स्वागत गरेका थिए । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठानका सचिव डा. पीताम्बर पौडेल र मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठानका सचिव श्री हरिप्रसाद पौडेलले संयुक्त रूपमा सञ्चालन गरेका थिए ।
तपाईको प्रतिक्रिया