भेटेरिनरी एसोसिएसन गण्डकीमा डा रुपेश श्रेष्ठ

पोखरा । नेपाल भेटेरिनरी एसोसिएसन गण्डकी प्रदेशका अध्यक्षमा डा रुपेश श्रेष्ठ निर्वाचित भएका छन । एसोसिएसनको चौंथो साधारण सभा तथा अधिवेशनबाट श्रेष्ठ अध्यक्ष निर्वाचित भएका हुन् ।
उपाध्यक्षमा डा थानेश्वर भट्ट, सचिव डा आशीष गौतम, सहसचिव डा अशेषराज विक र कोषाध्यक्षमा डा सन्तोष बास्तोला निर्वाचित भए । कार्यसमिति सदस्यमा डा प्रियंका भण्डारी, डा समीक्षा फुँयाल, डा आशीष बसौला, डा विश्व गैरे, डा सुवास बेलवासे र डा सुजन थापामगर निर्वाचित भएका छन् ।
अधिवेशनमा गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव वासुदेव रेग्मीले भेटेरिनरी डाक्टरहरुलाई पशुपालक कृषकलाई सघाउने गरी काम गर्न आग्रह गरे । संस्थामा आवद्ध डाक्टरहरुले पशुपालक कृषक र कृषिमा लागेकाहरुलाई सघाउ पुग्ने गरी काम गरेको खण्डमा कृषकले त्यसबाट प्रत्यक्ष लाभ लिन सक्ने र राष्ट्रलाई नै फाइदा पुग्ने उनले बताए ।
एसोसिएसनका केन्द्रीय अध्यक्ष रामकृष्ण खतिवडाले भेटेरिनरी डाक्टरहरु एकजुट भएर अधिकारका लागि जुट्नुपर्ने बेला आएको बताए । खतिवडाले अहिले पनि भेटेरिनरी डाक्टरलाई सरकारले अन्य निजामति कर्मचारी सरह सेवा, सुविधा प्रदान गर्न नचाहेको बताउँदै त्यसका लागि अन्य चिकित्सकले जस्तै आन्दोलन गर्नसमेत तयार हुनुपर्नेमा जोड दिए ।
नेपाल भेटेरिनरी एसोसिएसन गण्डकी अध्यक्ष डा राजेश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा कृषि सूचना तथा प्रशारण केन्द्र हरिहर भवन ललितपुरका प्रमुख डा रामनन्दन तिवारी, राष्ट्रिय पशुप्रजनन कार्यालय पोखराका प्रमुख डा जगदीश पाण्डेय, पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका महानिर्देशक डा प्रेरणा सेढाई भट्टराई, नेपाल पशु चिकित्सा परिषदका उपाध्यक्ष डा मनोजकुमार शाह, नेपाल भेटेरिनरी एसोसिएसनका निवर्तमान केन्द्रीय अध्यक्ष डा शितलकाजी श्रेष्ठ, डा अविनाश भट्टराइ लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया