गाेकुल बाँस्कोटामाथि लेखाले छानबिन गर्ने

समाधान संवाददाता, काठमाडौं
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्न सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कमिसन मागेको प्रकरणले संसदको खरिद लेखा समितिले छानबिन गर्ने भएको छ । बिहीबार बसेको लेखा समिति बैठकमा खरिद प्रकरण रोकेर तत्काल छानबिन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । रुखो अभिव्यक्तिका कारण निकै आलोचित सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले बिहीबारै राजीनामा दिएका थिए । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि बास्कोटाले राजीनामा दिएका हुन् ।
बास्कोटाले राजीनामा दिएको सभामुख अग्नि सापकोटाले संसदमा जानकारी गराएका थिए । संसद ठकमा प्रमुख विपक्षी कांग्रेसले सञ्चारमन्त्री बास्कोटाको राजीनामा मागेको थियो । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदबारे मन्त्रिपरिषदमा समेत पटकपटक छलफल भएकाले यसको जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने, यसलाई भ्रष्टाचारको विषय बनाउनुपर्ने उसको माग छ ।
कांग्रेसले संसद अवरुद्ध गरेपछि सभामुख सापकोटाले सञ्चारमन्त्रीले राजीनामा दिइसकेको बताएका थिए । उनले भने, ‘औपचारिक पत्र त आउने नै छ । मलाई अनौपचारिक रुपमा जानकारी भएअनुसार सम्बन्धित मन्त्रीले राजीनामा दिइसक्नु भएको छ । र, सरकारको ध्यानाकर्षण पनि भइसकेको छ ।’ अपरान्ह ४ बजेर ८ मिनेटमा ट्वीट गर्दै बाँस्कोटाले नैतिकताका आधारमा राजीनामा दिएको बताएका थिए । उनले लेखे—मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदछु ।’ बास्कोटाले लोकतन्त्रमा कुनै पनि व्यक्तिका कारण आन्दोलन गर्नुपर्ने र संसद घेर्नुपर्ने अवस्था आउन नहुने समेत सञ्चार माध्यमहरुलाई बताएका छन् । आफ्नो कारणले संसद नघेरियोस् र आन्दोलन नहोस् भनेर आफूले राजीनामा दिएको बास्कोटाले प्रतिक्रिया दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बाँस्कोटाको राजीनामापछि रिक्त सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी अर्थ मन्त्री युवराज खतिवडालाई दिएका छन् । सहरी विकास मन्त्रालयको जिम्मेवारी वसन्त नेम्वाङलाई दिएका छन् । वसन्त नेम्वाङले अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हाल्दै आएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डरीले मन्त्री खतिवडालाई सञ्चार मन्त्रालय र नेम्बाङलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिएकी हुन् । प्रधानमन्त्री ओलीले समाजवादी पार्टीले सरकार छाडेपछि रिक्त भएको सहरी विकास मन्त्रालय समेत बाँस्कोटालाई जिम्मा दिएका थिए ।
अडियोमा मन्त्री बाँस्कोटासँग संवाद गर्नेमध्येमा विजय मिश्रले बास्कोटासँग कमिसनको कुराकानी भएको स्वीकार गरेका छन् । अहिले राज्यलाई ५ अर्ब ७८ करोड घाटा हुने गरी फ्रान्सेली कम्पनीलाई सेक्युरिटी प्रिन्टिङ प्रेसको जिम्मेवारी दिने तयारी गरेपछि राज्यलाई क्षति हुनबाट बचाउन अडियो सार्वजनिक गरेको उनको तर्क छ ।
आफ्नो स्वीस कम्पनीको सेक्युरिटी प्रिन्टिङ प्रेस भिडाउन नपाएको झोंकमा तपाईले अडियो सार्वजनिक गरेको हो भन्ने प्रश्नमा मिश्र भन्छन्, ‘अहिले त्यो कम्पनी रेसबाट आउट भइसक्यो । मैले पनि कम्पनी छाडिसकेँ ।’ मिश्र अगाडि भन्छन्, ‘बिहीबार लेखा समितिले सेक्युरिटी प्रिन्टिङको काम अघि बढाउन निर्देशन दिन्छ भन्ने थाहा पाएपछि जनतालाई मन्त्रीको नियतबारे थाहा हुनुपर्छ भनेर बुधबार अडियो बाहिर ल्याएको हुँ ।’
तपाईको प्रतिक्रिया