आफ्नो अर्काे नभनी भ्रष्टाचार अन्त्य गरः नेकपा गण्डकी

समाधान संवाददाता
पोखरा
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटीले आफ्नो अर्को नभनी निर्ममतापूर्वक अघि बढ्न ३ वटै तहका सरकारलाई अनुरोध गरेको छ । फागुन १३ र १४ गते बसेको कमिटीको बैठकले उक्त अनुरोध गर्ने निर्णय गरेको प्रदेश अध्यक्ष हितराज पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘सुशासन कायम गर्न र भ्रष्टचार अन्त्य गर्न तीनै तहका सरकारलाई आफ्नो अर्को नभनी निर्ममतापूर्वक अघि बढ्न यो बैठक अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
प्रदेश कमिटीले काठमाडौंको बालुवाटार, मातातीर्थ लगायत ठाउँमा अतिक्रमित सरकारी, सार्वजनिक र गुठी जग्गा फिर्ताका लागि कठोर बन्न पनि नेपाल सरकारलाई अनुरोध गरेको छ । अतिक्रमण रोक्न नेपाल सरकारले चालेका कदमलाई दृढ समर्थन गर्ने निर्णय बैठकले गरेको छ । ‘बैठक अरु बाँकी अतिक्रमित जग्गा फिर्ता गर्न जस्तोसुकै कठोर कदम चाल्न परे पनि पछि नहट्न नेपाल सरकारसँग अनुरोध गर्दछ,’ नेकपा गण्डकीले भनेको छ, ‘यो बैठक कालापानी, कुटियाङ्दीमात्रै होइन, लिम्पियाधुरासमेत नेपालको हो भन्ने मान्यतालाई स्थापित गर्दै भारतसँग आफ्नो स्पष्ट र औपचारिक अडान व्यक्त गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिँदै त्यहाँबाट भारतीय सैनिक फिर्ता गर्न जोडदार माग गर्दछ ।’
बैठकमा पार्टी केन्द्रीय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रशिक्षणात्मक मन्तव्य राखेका थिए । प्रदेश पार्टी कमिटी इन्चार्ज तथा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदाधिकारी तथा सदस्यलाई दिशानिर्देश गरेका थिए । गुरुङले बैठकलाई अभियान सफल पार्न र एकीकरणका बाँकी काम क्रमशः सम्पन्न गर्दै जनतासँगको पार्टीको सम्बन्ध सुदृढ पार्न एकतावद्ध भई उत्साहपूर्वक पार्टी काममा जुट्न निर्देशित गरे । अध्यक्ष हितराज पाण्डेले राजनीतिक एवं संगठनात्मक प्रतिवेदन प्रस्तुत गरे । सबै खाले गुटबन्दीको अन्त्य गर्दै पार्टीलाई विचारधारात्मक, संगठनात्मक तथा भावनात्मक रुपमा एकतावद्घ, सुदृढ र सवल पार्ने प्रतिवद्घता बैठकले गरेको पार्टी प्रदेश अध्यक्ष पाण्डेले जनाएका छन् ।
नेकपा गण्डकीले गण्डकी प्रदेशलाई पर्यटनको हब र पोखरालाई पर्यटनको राजधानी घोषणा गर्र्न नेपाल सरकारसँग अनुरोध गरेको छ । मुस्ताङको कोरलादेखि नवलपुरको त्रिवेणीसम्मको सडकलाई राष्ट्रिय गौरवको आयोजनाको मान्यता दिई यसलाई सकेसम्म छिटो पूरा गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय छ ।
गोरखा र मनाङको उत्तरी नाका खुले गण्डकी र समग्र नेपालको विकासमा टेवा पुग्ने हुँदा त्यसलाई खुलाई व्यवस्थित गर्न नेपाल सरकारसमक्ष अनुरोध गर्ने निर्णयसमेत भएको छ । नेकपा गण्डकीले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र मनास्लु संरक्षण क्षेत्र आयोजनाको सञ्चालन, संरक्षण र संवर्धनको जिम्मा प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गर्न गरेको छ ।
कालिगण्डकी डाइभर्सन आयोजनालाई अघि नबढाउन पनि कमिटीले अनुरोध गरेको छ । ‘कालिगण्डकी र मस्र्याङ्दी उपत्यकाको समग्र विकासका लागि एकीकृत विकासको गुरुयोजना बनाई कार्यान्वयन गर्न र यस क्षेत्रका सम्पूर्ण सांस्कृतिक धरोहरको संरक्षण र नारायणी नदीको जल यातायातलाई सहज बनाउन’ उसको माग छ । मुलुकमा राजनीतिक स्थिरता भएको, लगानीमैत्री वातावरण बन्दै गएको र कानुनी आधार तयार भएकाले नेपालमा लगानी बढाउन र उद्योग सञ्चालन लगानीकर्तालाई प्रदेश कमिटीले आह्वान गरेको छ । बैठकले बाँकी रहेका सांगठनिक कामलाई समय सीमा तोकेर अघि बढाउने र पार्टीलाई गतिवान बनाउने निर्णय पनि गरेको छ ।
बैठकले नेपालका महत्वपूर्ण तालतलैया फेवा, बेगनास, रुपा, दिपाङ, मैदी, खाष्टे, न्यूरेनी, गुद्घे, तिलिचो लगायतको संरक्षण र सौन्दर्यकरणका लागि नेपाल सरकारसमक्ष अनुरोध गरेको छ । तेह्रौं दक्षिण एसियाली खेखकुद (साग)का विभिन्न खेलमा विजयी भएर मेडल प्राप्त गर्ने खेलाडीले राष्ट्रको गौरव माथि उठाउन योगदान पु¥याएकोमा सबैलाई बधाई ज्ञापन गर्ने नेकपाको निर्णय छ ।
गण्तन्त्र, संघीयता, समावेशिता, समानुपातिकता, धर्मनिरपेक्षता जस्ता उपलब्धि संरक्षण गर्दै समृद्घ नेपालः सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पार्न सम्पूर्ण राष्ट्र एक हुनुपर्नै बेलामा जनतामा निराशा फैलाउने कोही कसैको भूमिका शोभनीय नहुने हुँदा संवाद, सहकार्य र सहअस्तित्वको साथ अघि बढ्न प्रमुख प्रतिपक्ष लगायत सबैसँग बैठकले आह्वान गरेको छ ।
तपाईको प्रतिक्रिया