धार्चेमा सार्वजनिक चार्जिङ स्टेसन

समाधान संवाददाता
गोरखा
धार्चे गाउँपालिकाले सार्वजनिक स्थलमा चार्जिङ स्टेसन स्थापना गरेको छ । हालसम्म केन्द्रीय विद्युत प्रसारण लाइन नपुगेको धार्चेमा पहिलो पटक २ स्थानमा सार्वजनिक चार्जिङ स्टेसन निर्माण गरिएको हो ।
पहिलो चरणमा गाउँपालिकाको केन्द्र माछीखोला र लाप्राकको गुप्सीपाखामा स्टेसन बनाइएको अध्यक्ष सन्तोष गुरुङले बताए । ‘यो पहिलो प्रयोग हो, अहिले २ ठाउँ लाप्राक र माछीखोलामा राखेमा छौं,’ उनले भने, ‘अहिलेसम्म लाइन नपुेको ठाउँमा यो इफेक्टिभ हुन्छ भन्ने हाम्रो विश्वास हो । यो प्रभावकारी भयो भने अरु ठाउँमा पनि विस्तार गर्छौं ।’
सोलारमार्फत् सञ्चालन हुने स्टेसनमा १ पटकमा १२ मोबाइल, क्यामेरा लगायतका विद्युतीय सामग्री चार्ज गर्न सकिने गाउँपालिका अध्यक्ष गुरुङले बताए । हालसम्म सोलार, टुकी, मैनबत्ती लगायतका भरमा चलेको धार्चेमा सार्वजानिक चार्जिङ स्टेसनले स्थानीयलाई राहत मिल्ने उनको विश्वास छ । ‘अहिलेसम्म यहाँ सबैका घरमा सोलार र टुकीको भर हो,’ अध्यक्ष गुरुङले भने, ‘अब सबैले निशुल्करुपमा सार्वजनिक ठाउँबाटै मोबाइल चार्ज गर्न सक्छन् ।’
गाउँपालिकालाई आएको केन्द्र्रको सशर्त अनुदान बजेटमार्फत् यो कार्यक्रम सुरु गरिएको गाउँपालिकाले जनाएको छ । रम्बा टेक्निकल एन्ड इन्फरमेसन टेक्नोलोजीको प्राविधिक सहयोगमा स्टेसन निर्माण गरिएको हो । पछिल्लो समय सञ्चारको तीव्र विकाससँगै माथिल्लो क्षेत्रमा समेत एनटिसी र एनसेलको टावर विस्तार भइरहेको छ । तर, विद्युत नहुँदा चार्ज गर्न स्थानीयलाई समस्या छ ।
चार्जिङ स्टेसनसँगै गाउँपालिकाले डिजिटल टिभी तथा सूचना बोर्डसमेत सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष गुरुङले बताए । ‘हामीले दुवै ठाउँमा डिजिटल टिभीसहितको इन्फरमेटिभ बोर्ड पनि राखेका छौं,’ उनले भने, ‘यसले धार्चेको समग्र भूगोल र सबै विषयको सूचना दिने भएकाले यहाँ आउने पर्यटकलाई पनि सहज हुन्छ भन्ने हाम्रो विश्वास हो ।’ धार्चेका विभिन्न स्थानमा सोलार सडक बत्तीसमेत राखिएको छ । गाउँपालिकाको केन्द्र माछीखोलामा २ वटा, खोर्लाबेंसीमा २ र तातोपानीमा १ गरी पहिलो चरणमा ५ वटा पोलमा अटोमेटिक सडक बत्ती राखिएको अध्यक्ष गुरुङले जानकारी दिए । चार्जिङ स्टेसनसहित डिजिटल टिभी र सडक बत्ती निर्माणमा १५ लाख ६५ हजार खर्च भएको गाउँपालिकाले जनाएको छ । धार्चेमा हाल केन्द्रीय प्रसारण लाइन विस्तारको काम जारी छ ।
तपाईको प्रतिक्रिया