संसदमा क्वारेन्टाइन र पिसिआरकै चिन्ता

समाधान संवाददाता
पोखरा, २६ जेठ
गण्डकी प्रदेशका सांसदहरुले प्रदेशमा कोरोनाको जोखिम बढ्दै गएको भन्दै व्यवस्थित क्वारेन्टाइन बनाउन र पिसिआरको दायरा बढाउन आग्रह गरेका छन् । प्रदेश सभाको बैठकमा आइतबार शून्य तथा विशेष समयमा बोल्दै उनीहरुले प्रदेशको ल्याबको क्षमता सुस्त भएको भन्दै स्थानीय तहलाई पिसिआर मेसिन किन्न दिनसमेत आग्रह गरेका छन् ।
भारतबाट आएको १५ दिनसम्म पनि पिसिआर परीक्षण नहुँदा क्वारेन्टाइनमा बसेकाहरुलाई घर पठाउन समस्या
बुर्तिबाङमा आइसोलेसन
राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही बागलुङ जिल्लाको पश्चिम भेगका ४ वटा गाउँपालिकामा संक्रमित बढ्दै गएकाले बुर्तिबाङमा आइसोलेसन केन्द्र सञ्चालन गर्न आग्रह गरे । धवलागिरी अञ्चल अस्पतालको आइसोलेसन भरिएको र अन्यत्र व्यवस्था नभएकाले तुरुन्तै यो निर्णय गर्न प्रदेश सरकारसँग उनले आग्रह गरे ।
रुकुमसँग सीमा जोडिएको पातीहाल्ने भन्ने ठाउँमा जिल्लाका सीमा विवाद रहेकाले स्थानीय सालबसाली गाईभैंसी चराउन जाँदा विवाद भएको भन्दै यो समस्या समाधान लागि पहल थाल्न उनले सरकारको ध्यानाकर्षण गराए ।
असिनपीडितलाई क्षतिपूर्ति देऊ
नेकपा सांसद जूनादेवी नेपालीले चैत र वैशाखमा पर्वत र बागलुङमा असिनाले ४ करोड रुपैयाँभन्दा बढी क्षति भएको भन्दै किसानलाई क्षतिपूर्ति दिन आग्रह गरिन् । सबै किसानको लगत तयार भएकाले तत्काल क्षति अनुसारको राहतको व्यवस्था गर्न उनको आग्रह थियो । पिसिआरको दायरा बढाउन र नतिजा छिटो आउने व्यवस्था गर्न पनि उनले आग्रह गरिन् ।
स्थानीय तहलाई पिसिआर किन्न देऊ
कांग्रेस सांसद डोबाटे विश्वकर्माले जिल्लाका क्वारेन्टाइनहरुमा चाप बढेकाले पिसिआरको क्षमता बढाउन माग गरे । स्थानीय तह पिसिआर मेसिन किन्न तयार रहेको र सोही अनुसार व्यवस्था गरिदिन उनले आग्रह गरेका छन् । २६ लाख पर्ने मेसिनलाई डेड करोड भनिएको भन्दै यसमा पनि प्रदेश सरकारले सहजीकरण गर्नेपर्ने उनको भनाइ थियो ।
वरपीपल विधेयक सिकिस्त बिरामी
नेपाली कांग्रेसका सांसद मणिभद्र शर्मा कँडेलले निकै सक्रियताका साथ ल्याएको वरवीपल वाला विधेयक सिकिस्त बिरामी परेकाले उपचार गरेर सक्रिय बनाउन आग्रह गरे । मुख्य मन्त्री वातावरण मैत्री कृषि नमुना गाउँमा ७० घर परिवारले मात्र फाइदा लिएको भन्दै यसको छानबिनका लागि उनले ध्यानाकर्षण गराए ।
पर्यटन व्यवसायीलाई घरभाडा छुट देऊ
कांग्रेस सांसद मनकुमारी गुरुङले सबैभन्दा मारमा परेका होेटेल तथा पर्यटन व्यवसायीलाई लकडाउन अवधिभर घरभाडा छुटको व्यवस्था गरिनुपर्ने बताइन् । गोरखा जिल्लामा भारतबाट आएका ५ सयभन्दा बढी रहकाले सबैको पिसिआर गरी आइसोलेसन बेड थप्न उनको माग छ ।
पानीले बाटो बिगा¥यो
नेकपा सांसद राजीव पहारीले अविरल वर्षाले पोखरा महानगर ६ र १८ को सेदी डाँडाको भासिएकाले हल्लनचोक पामे घाँटीछिना हुँदै राम्जादेराली जाने बाटोमा क्षति पुगेको बताए । यो क्षतिका कारण धेरैलाई आवतजावतमा समस्या परेको भन्दै तत्काद मर्मतका लागि सरकारको ध्यानाकर्षण गराए । कोरोना समुदायमा जान नदिन पनि सरकार चनाखो हुनुपर्ने उनको भनाइ थियो ।
इप्रका सार्न राजनीति खेल
कांग्रेस सांसद भागवतप्रकाश मल्लले स्याङ्जाको चापाकोट नगरपालिको क्वामीमा रहेको इलाका प्रहरी कार्यालय नजिकैको सुन्तलीटारमा सार्न रानीतिक चलखेल सुरु भएको भन्दै त्यसो नगर्न सरकासँग आग्रह गरेका छन् ।
२०५४ स्थापित उक्त कार्यालय स्थानीय पालिले साविककै ठाउँमै राख्ने निर्णय गरेको र त्यसैको समर्थनमा रहेका स्थानीयले रिले अनसन गरेकाले तत्काल स्थानीयका माग सम्बोधन गर्न उनले ध्यानाकर्षण गराए । राज्यले परिकल्पना गरेको प्रमुख जिल्ला अधिकारीलाई प्रदेश सरकार मातहत ल्याउन पनि उनले माग गरे ।
वालिङ नगरपालिकाले पिसिआर मेसिन किन्न पहल गरेको र २९ देखि ३३ लाख रुपैयाँ पर्ने उक्त मेसिनलाई सरकारको एजेन्टले अलमल पारेर डेढ करोड पर्छ भन्ने गरेको पाइएकाले यो बारेमा पनि उनले सरकारसँग जवाफ मागेका छन् ।
धार्चे र चुमनुब्रीमा भाेकमरी
समाजवादी पार्टीकी सांसद धनमाया लामा पोखरेलले गोर्खामा भेटिएका संक्रमितहरु कसकसको सम्पर्कमा रहे त्यसको खोजी गर्न सामाजिक विकास मन्त्रालयको ध्यानाकर्षण गराइन् । धार्चे र चुमनुब्री अनि गण्डकी गाउँपालिकाको चेपाङ बस्तीमा भोकमरीको समस्या आइपरेको भन्दै उनले उत्पादन अत्यन्त कम हुने काम गरेर खाने अवस्था पनि नरहेकाले त्यहाँको समस्या तत्काल समाधान गर्न माग गरिन् । वैदेशिक रोजगारी गुमाएर फर्केका युवालाई क्वारेन्टाइनमा राखेर तत्काल पिसिआर गर्न उनले स्मरण गराइन् ।
बागलुङमै पिसिआर मेसिन चाहियो
विशेष समयमा बोल्दै नेकपा सांसद इन्द्रलाल सापकोटाले बागलुङ कोरोनाको सुरुआती अवस्थाबाट नै इपिसेन्टर बनेको भन्दै जिल्लाभर १ हजार ५ सय ८०जना क्वारेन्टाइनमा र २९ जना आइसोलेननमा उपचाररत रहेको बताए । क्वारेन्टाइनमा खाने बस्ने व्यवस्था मिलाउन समस्या रहको उनको भनाइ थियो । भारतबाट आएको १५ दिनसम्म पनि पिसिआर परीक्षण नहुँदा क्वारेन्टाइनमा बसेकाहरुलाई घर पठाउन समस्या रहेको उनले बताए ।
स्थानीय पालिका आइसोलेसन बनाउन तयार रहेको र धवलागिरी अञ्चल अस्पताललाई प्रादेशिक र बुर्तिबाङको अस्पताललाई जिल्ला अस्पतालमा स्तरोन्नति गर्न उनले माग गरे । धवलागिरी क्याम्पसमा आइसोलेसन बनाउने निर्णय भए पनि स्रोतको अभावले सरकारकाले तत्काल त्यो व्यवस्था गर्न उनले माग गरे । धवलागिरीमा पिसिआर मेसिन स्थापना गर्न मेसिन खरिद गरेर माइक्रो बाइलोजिस्ट मात्रै पठाए हुने उनले भनाइ राखे ।
निर्माणाधीन पुलले खतरा बढायो
कांग्रेस सांसद ललितकला गुरुङले कास्की र पर्वतको सीमाना नयाँपुलमा गत वर्षदेखि निर्माणाधीन मोटरेबल पुल अलपत्र पर्दा खतरा बढेको बताइन् । खेतीपातीको चटारो सुरु भएका बेला बाढीपहिरोको उस्तै खतरा बढेको र विकासले विनास निम्त्याउन थालेकाले यसतर्फ सरकारको ध्यानाकर्षण गराए । उनले भनिन्, ‘वर्षाले ढेपेको छ । खोलो थुनिने अवस्था छ । वरिपरिका बस्ती बगाउने खतरा छ । त्यहाँ थुपारिएको बालुवा गिटी अन्यत्र व्यवस्थापन गर्न सरकारले निर्देशन दिनुपर्यो ।
बाहिरबाट आएकाहरु छिटो पिसिआर परीक्षण गर्न र क्वारेन्टाइनमा स्वच्छ खानेपानी र बसोबासको व्यवस्था गर्न उनले आग्रह गरिन् । विदेशमा रहेका दाजुभाइ आउन खोजे पनि अन्योलमा रहेको, कति फर्केर काठमाडौंमा बसेका कति भारतको बोर्डरमा रहेकाले सबैको समस्या सम्बोधन गर्न सरकार चनाखो हुनुपर्ने भनाइ उनले राखिन् ।
पोखरामा सुविधासम्पन्न अस्पताल चाहियो
कांग्रेस सांसद बिन्दुकुमार थापाले पोखरा प्रदेशको राजधानी भएकाले राजधानीलाई चाहिनेजस्तै स्रोत साधन र सुविधासम्पन्न अस्पताल चाहिएको बताए । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोरोना संक्रमितका लागि जम्मा १० वटा आइसोलेसन बेड रहेकाले तत्काल बढाउन पनि उनले माग गरे । कास्की जिल्ला अति कम जोखिममा पर्छौ भनिरहँदा ४ संक्रमित भेटिइसकेको र यसले यो जिल्लामा जोखिम बढेको छ भन्ने संकेत दिएको उनको भनाइ थियो । पोखराको आलुमाइला चोकमा बस्ने १ व्यक्तिमा संक्रमण देखिनु भनेको कोरोना समुदायमा पुगिसकेको अवस्था रहेकाले त्यसै अनुसार काम गर्न सरकारसँग उनले आग्रह गरे ।
भारतको सीमानाबाट बिना परीक्षण मानिसहरुलाई पालिकामा ल्याइएको, गाउँमा क्वारेन्टाइन सुविधा नभएको जस्ता समस्याप्रति उनले ध्यानाकर्षण गराए । उनले जनता जोगाउन खर्चको पिर नगरी पिसिआरको दायरा बढाउन पनि माग गरे ।
तपाईको प्रतिक्रिया