काेराेना महामारीकाकारण बेलायतमा १ महिने देशव्यापी लकडाउन

एजेन्सी
इंग्ल्याण्डमा फेरि लकडाउन लागु हुने भएको छ । कोरोना भाइरस महामारीको दोस्रो लहरले विकराल रुप लिँदै गएपछि प्रधानमन्त्री बोरिस जोन्सनले दोस्रोपटक देशव्यापी लकडाउन घोषणा गरेका हुन् ।
स्वास्थ्य सेवाको रक्षा तथा एनएचएसमा नैतिक विपत्तिको अवस्था आउन नदिनका लागि इंग्ल्याण्डमा पुनः लकडाउन घोषणा गर्नु परेको उनले बताएका छन् ।
यो वर्षको क्रिसमस ‘अति भिन्न’ हुन सक्ने बताउँदै प्रधानमन्त्री जोन्सनले अहिलेदेखि नै प्रयास सुरु गरिएकाले परिवारका सदस्य जम्मा हुन सक्ने अवस्था आउने अपेक्षा रहेको उल्लेख गरेका छन् ।
पब, रेस्टुरेन्ट, जिम तथा अरु अत्यावश्यक बाहेकका पसलहरु आउँदो बिहीबारदेखि चार हप्ताका लागि बन्द हुने प्रधानमन्त्री जोन्सनले बताएका छन् । तर यो पटकको लकडाउनमा विद्यालय, क्याम्पस तथा विश्वविद्यालयहरु भने खुला हुने छन् ।
महामारीको पहिलो लहरका बेला लागु भएको लकडाउनमा शैक्षिक संस्था पनि बन्द भएका थिए । डिसेम्बर २ पछि अहिले लागु भएका प्रतिबन्धहरु फुकुवा हुने उनले बताएका छन् ।
अहिले नै कडा कदम चालेर क्रिसमसलाई सकेसम्म भरिपूर्ण बनाउने प्रयास गरिएको भए पनि यो वर्षको पर्व विगतको भन्दा निकै फरक हुने प्रधानमन्त्री जोन्सनले बताएका छन् ।
लकडाउनका कारण व्यवसायमा पर्ने असरप्रति उनले माफी माग्दै जीवन रक्षाका लागि बाध्य भएर निर्णय लिनु परेको उल्लेख गरेका छन् । ८० प्रतिशत कामदारको पारिश्रमिक सरकारले प्रदान गर्ने सुविधा नोभेम्बरसम्मै जारी रहने उनले बताए ।
गएको अप्रिलमा भन्दा अब कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या अधिक हुने देखिएकाले बाध्य भएको जोन्सनले उल्लेख गरे ।

संक्रमणदर अति कम रहेको दक्षिण पश्चिम लण्डनका अस्पताल समेत भरिभराउ भएको उनले बताए ।
उनले भने, ‘स्वास्थ्यकर्मीहरु कुन बिरामीको ख्याल गर्ने भन्ने रोज्नु पर्ने अवस्थामा पुगेका छन् । कसलाई अक्सिजन दिने र कसलाई नदिने भन्ने निर्णय गर्नु पर्ने भएको छ । को जीवित रहने र कसलाई मर्न दिने भन्ने नैतिकतामाथिको गम्भीर विपदको अवस्था उनीहरुमा आएको छ ।’
विशेष काम नभइ घर बाहिर ननिस्कन भनिएको छ । तर अत्यावश्यक सामग्री किन्न, स्वास्थ्य सेवा तथा जोखिममा रहेका व्यक्तिहरुको सेवाका लागि भने मानिसहरु जान पाउने छन् । घर भित्रै वा निजी बगैँचामा हुने भेलाहरु पनि प्रतिबन्धित भएका छन् ।
बेलायतमा संक्रमितको संख्या १० लाख भन्दा बढी पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार बेलायतमा संक्रमितको कुल संख्या १० लाख १४ हजार ७ सय भन्दा बढी छ । अहिलेसम्म कोभिड–१९ बाट बेलायतमा ४६ हजार ६४५ जनाको ज्यान गएको छ ।
पछिल्लो दिनमा संक्रमण तीव्र गतिमा फैलिरहेको छ । बेलायतमा शनिबार २१ हजार ९१५ जना संक्रमित थपिए भने ३२६ जनाको ज्यान गयो ।
तपाईको प्रतिक्रिया