बादल ओलीतिर खुले

गृहमन्त्री रामबहादुर थापा बुधबारदेखि प्रधानमन्त्री ओलीका पक्षमा खुलेका छन्। थापाले बुधबार बिहान ओलीसँगको छलफलपछि आफू उक्त समूहतिर लाग्ने निर्णय लिएका हुन्। पूर्वमाओवादी धारका थापाले यससँगै दाहालसँगको लामो राजनीतिक सहयात्रा छाडेका छन्। यसले शीर्ष नेताहरू तहमै विगतको पार्टीको धार पनि भत्किएको छ।
दाहालसँग एमाले धारका माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, सुरेन्द्र पाण्डेलगायत नेता छन्। ओलीतिर थापा, टोपबहादुर रायमाझी, मणि थापा, लेखराज भट्टलगायत पूर्वमाओवादी धारका नेता छन्।
मन्त्री थापाले बुधबारैै आफू ओलीतिर लाग्ने निर्णयमा पुगेको निकटका नेताहरूलाई सुनाएका थिए। ओलीले उनलाई आफूपछि दोस्रो नम्बरको नेता बनाउने वचन दिएको थापाको सचिवालयले जनाएको छ।
‘बादल बालुवाटारका भइसक्नुभयो। हिजो राति उहाँले ओलीलाई साथ दिने निर्णय गर्नुभएको हो,’ बादलनिकट ती केन्द्रीय सदस्यले भने,‘उहाँको कदमलाई कुनै पनि नेताहरूले साथ दिएका छैनन्।’
बादल ओलीतिर जाँदा भने एक्लै गएका छन्। उनका राजनीतिक सल्लाहकारसमेत रहेका केन्द्रीय सदस्य सूर्य सुवेदी ’पथिक’सहित उनको पूर्वसमूहमा रहेका सबै नेताहरू प्रचण्ड(नेपाल नेतृत्वको नेकपामा लागेका छन्।
उनले बुधबारै दाहालसँग खुमलटारमा भेट गरेका थिए। दिउँसो बानेश्वरमा पुनः दाहालसहितका नेतासँग छलफल गरेका थिए। तर, अन्तिममा उनले ओलीतिरै आफूलाई खुलाउने निर्णय गरेका हुन् ।
एकता गर्दा नेकपा केन्द्रीय समितिमा थापा पक्षका ३४ केन्द्रीय सदस्य थिए। त्यसमध्ये थापासहित प्रदेश ५ का आन्तरिक मामिलामन्त्री कुलप्रसाद केसी, राजनीतिक सल्लाहकार सूर्य सुवेदी (पथिक) र केन्द्रीय सदस्य दावा लामा दुवैतिरका भेला र बैठकमा नगई बसेका थिए।
थापाले बुधबार ती तीन नेतालाई मन्त्री क्वार्टरमै बोलाएर आफू ओलीतिर खुलेको र ओलीलाई वचन दिएर आएको जनकारी गराएका थिए। थापालाई ओलीतिर नखुल्न उनी पक्षका नेताहरूको चर्काे दबाब थियो। तर, ओलीतिरै खुलेपछि भने उनलाई तीन नेताले पनि साथ नदिने संकेत गरेका थिए। त्यसपछि थापा निवासमा बिदाइ भेट गरेर उनीहरू निस्केको स्रोतले बताएको छ।
उपाध्यक्ष गौतम भने अझै कतै खुलेका छैनन्। उनले अझै केही दिन तटस्थताकै नीति अख्तियार गर्ने र केही दिनपछि मात्र निर्णय लिने बताइरहेका छन्। बिहीबारको दुवै पक्षको बैठकमा पनि गौतम सहभागी नहुने भएका छन्। उनले अझै निर्णय नगरिसकेको उनीनिकट नेता केशवलाल श्रेष्ठले बताए। श्रेष्ठ भने दाहाल–नेपाल खेमामा लागेका छन्।
तपाईको प्रतिक्रिया