ओली समूहले प्रचण्डलाई कार्यकारी अध्यक्षबाट हटायो

प्रदेश इन्चार्ज पनि हेरफेर । गण्डकी र लुम्बिनीमा यथावत
समाधान संवाददाता
नेपाल कम्युनिष्ट पार्टीका दुई समूहले एक अर्कालाई कारबाही थालेका छन्। प्रचण्ड नेपाल समूहले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाएको थियो।
ओली केपी शर्मा ओली समूहले बिहीबारको बैठकमार्फत प्रचण्डलाई कार्यकारी अध्यक्षबाट हटाएको छ।
त्योसँगै उक्त समूहले प्रचण्ड नेपाल समूहका प्रदेश इन्चार्जलाई जिम्मेवारीमुक्त गरेको छ।
यसअघि प्रदेश १ का इन्चार्ज रहेका भीम आचार्यलाई हटाएर उनको ठाउँमा सुवास नेम्वाङलाई ल्याइएको छ।
प्रदेश २ मा सत्यनारायण मण्डल नै कायम छन्। उनी ओलीनिकट हुन्।
बागमती प्रदेशकी इन्चार्ज अष्टलक्ष्मी शाक्यलाई हटाएर ईश्वर पोखरेल जिम्मेवारी दिइएको छ।
गण्डकीमा पृथ्वीसुब्बा गुरूङ र लुम्बिनीमा शंकर पोखरेल इन्चार्ज छन्। यी दुई मुख्यमन्त्री ओलीनिकट हुन्।
कर्णालीमा जनार्दन शर्मालाई हटाएर मणि थापालाई प्रदेशको जिम्मा दिइएको छ। थापा पूर्वमाओवादी समूहबाट आएका हुन्।
सुदूर पश्चिममा भीम रावललाई हटाएर लेखराज भट्टलाई संयोजक तोकिएको छ। उद्योग मन्त्री भट्ट पनि पहिला माओवादी थिए।
जनवर्गीय संगठनको मोर्चामा जनार्दन शर्मालाई हटाएर टोपबहादुर रायमाझीलाई संयोजक बनाइएको छ भने काठमाडौं उपत्यका समन्वयको जिम्मेवारी कृष्णगोपाल श्रेष्ठलाई दिइएको छ।
तपाईको प्रतिक्रिया