प्रचण्ड–माधवको दाबीः हामी विजयी भइसक्यौं

समाधान संवाददाता २०७७ पुष २९ गते ११:१८

समाधान संवाददाता, पोखरा ।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि विरोधमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले देशमै पहिलो पटक पोखरामा प्रदेशस्तरीय कार्यकर्ता भेला तथा संघर्ष अभिमुखीकरण गरेको छ ।

गण्डकी प्रदेशका ११ वटै जिल्लाका अगुवा कार्यकर्तालाई सम्वोधन गर्दै शीर्ष नेताहरुले ओलीको कदम असंवैधानिमात्रै भनेनन्, उनको पतनको यात्रा सुरु भएकोसमेत दाबी गरे ।

दाहाल–नेपाल समूहको कम प्रभाव भएको प्रदेश भनिएको गण्डकीका कार्यकर्तालाई संवोधन गर्दै आफूहरुको विजयको दिन सुरु भइसकेको नेताहरुले बताए ।

पार्टी विभक्त भएपछि पहिलो पटक शीर्ष नेतालाई सुन्न आएका कार्यकर्तालाई संवोधन गर्दै अध्यक्ष दाहाल, नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, प्रदेश ईन्चार्ज देवेन्द्र पौडेल लगायतले संसदको पुनस्र्थापना, आफूहरुकै पक्षमा आधिकारिक नेकपा, सूर्य चिह्न पनि पक्का हुने भन्दै एक पटक आन्दोलनमा होमिन आह्वान गरे ।

Advertisement

गल्ती नसच्याए केन्द्रीय समिटीले ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट हटाउने तयारी गर्दा गर्दै संसद विघटन भएको अध्यक्ष प्रचण्डले बताए ।

‘गल्ती नसच्याउने हो भने केन्द्रीय कमिटी बैठकको बहुमतले दलको नेता र अध्यक्षबाट हटाउन सक्थ्यो, त्यो तयारी थियो,’ अध्यक्ष प्रचण्डले भने ।
केपी ओलीको पतन र आफूहरुको विजयी अभियान सुरु भएको प्रचण्डको बताए । ‘निर्वाचन आयोग, सर्वोच्च अदालत र जनताको अदालतदको एउटै फैसला आउँछ, ‘संसद पुनस्र्थापना र हामीलाई नै नेपाल कम्युनिस्ट पार्टीको मान्यता,’ प्रचण्डले भने, ‘त्यसका लागि १÷२ महिना हामीले बढी नै मिहिनेत गर्नुपर्ने जरुरी छ ।’

निरंकुशताको अन्त्य गरे झैं ओलीको अन्त्यका लागि फेरि एक पटक विद्रोहको अनुभव भएको प्रचण्डले बताएका छन् । ‘फेरि एक पटक सडकमा आन्दोलन गर्दा गर्वको महसुस हुन्छ । फेरि लोकतन्त्र र स्वेछाचारिताको विरुद्ध, फेरि राज्यको दुरुपयोगका विरुद्ध जनता र राष्ट्रका साथमा फेरि अगाडि बढ्ने अवसर प्राप्त भएको छ,’ प्रचण्डले भने, ‘निरंकुशताविरूद्ध आन्दोलन चुनौती र अवसर पनि हो ।’

अबको केही महिनाभित्रै आफूहरु विजयी भइसक्ने बताउँदै प्रचण्डले केपी गुटको पतन अनिवार्य भइसकेको बताए । प्रधानमन्त्री ओलीले संसद विघटन गरेर इतिहासमा कलंकको टीका लगाइसकेको प्रचण्डको भनाइ थियो ।

‘मैले भनेको पनि थिएँ, केपीजी तपाईंले जसरी संसद विघटन गर्नु भयो, इतिहासमा कलंकको टीका लगाइसक्नु भयो । अब पुछिँदैन,’ प्रचण्डले भने । अबको आन्दोलन ओलीको विरोधमात्रै नभएर साचो अर्थमा असली कम्युनिस्ट पार्टी बनाउने अभियान पनि भएको प्रचण्डको दाबी थियो ।

७० प्रतिशत केन्द्रीय समिति आफूहरुले कमाण्ड गरेका प्रचण्डले बताए । माधव नेपाल र आफू निर्वाचन आयोगमा पुगेर छलफल गर्दा आफूहरुको विजय निश्चित देखेको प्रचण्डको भनाइ थियो । ‘बिगतको नजीर र अहिलेको अवस्थाबारे सविस्तार कुरा राखेपछि के विश्वास भएको छ भने नेकपा र सूर्य चिह्न हाम्रै हुन्छ । लेखेर राख्न सक्नुहुन्छ ।’ प्रधानमन्त्रीले अदालतलाई पनि दबाब दिने काम गरिरहेको प्रचण्डले बताए ।

पार्टीको नाम र सूर्य चिह्न दुनियाँको कुनै पनि तागतले खोस्न नसक्ने प्रचण्डले बताए । ‘कसैले खोस्यो भने आँधी हुरी बतास आउँछ नेपालमा, त्यो आँधी हुरी बतासलाई कसैले रोक्न सक्दैन,’ प्रचण्डको चेतावनी थियो ।
ओली समूहमा लाग्न्े पूर्व माओवादीका सहकर्मीलाई देख्दा आफूलाई लाज लागेको प्रचण्डले बताए । जनयुद्धलाई कुहेको फर्सी भन्ने ओलीको कुरा कसरी सुन्न सकेको होला भनेर प्रचण्डले प्रश्न गरे ।

‘ती साथीहरु जो प्रतिक्रान्तिको साक्षी भएर बस्नुभएको छ । उहाँहरुको पनि त्यही भनाइ हो ’ प्रचण्डले भने, ‘के जनयुद्ध साच्च्किै कुहेकै फर्सी हो त ?’

प्रचण्डले माधव नेपाल ओलीभन्दा हजार गुणा इमान्दार भएको बताए । जबज तत्काल नछोड्ने हो कि भनेर माधव नेपालले भन्दा आफूसँग समाजवाद उन्मुख जनताको जनवादमा पहिलो हस्ताक्षर गर्ने केपी ओली नै भएको प्रचण्डले दाबी गरे ।

प्रधानमन्त्री बन्नका लागि मात्रै राजनीतिक, वैचारिक अनैतिकता र बेइमानीको योभन्दा अर्को उदाहरण अहिलेसम्म नेपालको कम्युनिस्ट आन्दोलनमा नदेखेको प्रचण्डले बताए ।

गणतन्त्र, समावेसी, समानुपातिक प्रणाली चाहिँदैन भन्ने ओलीसँग यसको अपनत्व छैन भन्दैमा जनतालाई घात गर्ने अधिकार नभएको उनको भनाइ थियो ।

केपी ओली पार्टीको नेता नभएर गुटको नेता भएको नेपालले बताए । आफुजस्तो नहुने मान्छेलाई सधैं पाखा लगाउने र विचार, निष्ठा बोकेको मान्छे सधैं पाखा लगाउने उनको भनाइ ।

अर्का अध्यक्ष माधव नेपालले केपी ओली कम्युनिस्ट नै नभएको बताए । ओलीलाई आफूले ४९÷५० वर्षदेखि जान्दै आएको बताउँदै नेपालले उनी गुटको मात्र नेता भएको बताए ।

प्रधानमन्त्री ओली कहिल्यै नसुध्रिने मान्छे भएको नेपालले आरोप लगाए । ‘अहिले पनि सच्चिनुस्, गल्ती स्वीकार गर्नुस् । संसद विघटन गर्ने निर्णय बेठिक भयो भन्नुस्,’ नेपालले भने, ‘त्यस्तो निर्णय क्याबिनेटबाट सच्याउन सकिन्छ । नसच्चिए इतिहासको रछ्यानमा फालिन्छ ।’

क्याबिनेटबाट निर्णय सच्याउन लाइनमा वामदेव गौतम लागिरहेको नेपालले बताए । ‘तर, मैले वामदेवलाई भनेको छु, केपी ओली सुध्रने मान्छे होइन, बरु आफू भाँचिन्छ,’ नेपालले भने ।

ओलीमा कम्युनिस्ट संस्कार नै नभएको नेपालको दाबी थियो । अब ओलीको दिन सकिएको नेपालले बताए । ओलीले कम्युनिस्ट पार्टीको नाम फेर्न आफूहरुलाई प्रस्तावसमेत गरेको नेपालको भनाइ थियो ।

अनेक जालझेलका काम गर्दै ओली यहाँसम्म आइपुगेको नेपालले बताए । सुरुमा प्रचण्डले पनि ओली कस्ता हुन र एमालेभित्र के छ भन्ने नबुझेको नेपालको भनाइ थियो ।

‘मैले सुरुदेखि नै कुरा उठाएँ, हामीले कस्तो पार्टी बनाउन खोजिरहेका छौं ?,’ नेपालले भने, ‘तर, केपी ओलीसँग कम्युनिस्ट पार्टीमा हुने आचरण छैन ।’

अहिले आएर संसद विघटन गर्नु र अस्थिरता निम्त्याउनु ओलीको स्वभाव नै भएको नेपालको भनाइ थियो । ‘पार्टीका बैठक बसेनन्, छिन्नभिन्न बनाउनुभयो, अस्तव्यस्त बनाउनु भयो । निस्क्रिय बनाउनु भयो,’ नेपालले भने, ‘पार्टीमा जीवन थिएन । ३ वर्षसम्म बैठकसमेत नकस्ने कुराले कम्युनिस्ट आन्दोलनले कहाँ पु¥याउँछ, विचार गर्नुस् ।’

ओलीमा गुट चलाउने प्रवृति भएको उनको भनाइ थियो । ओलीमा आदेश दिने सामान्ती संस्कार रहेको र त्यही संस्कार हनुमान र आसेपासेमा हुर्काइरहेको नेपालको आरोप थियो ।

‘उहाँ रगतको जाँच गर्नुहुन्छ, खकार जाँच गर्नुहुन्छ । भएन भने डिएनए जाँच गर्नु हुन्छ । मत दिएको छैन भने किनारा लगाइदिनु हुन्छ’, नेपालले भने । ओलीले अब पार्टी होइन फाउण्डेसन चलाउने नेपालको भनाइ थियो ।

आफ्नै पहलमा निर्वाचन आयोगबाट सूर्य चिह्न प्राप्त गरेको बताउँदै नेपालले त्यहाँ आँखा नलगाउन आग्रह गरे । ‘सूर्य चिह्न कसैले खोस्न सक्दैन, अब उहाँले अस्ताउँदो सूर्य लिनुहुन्छ भने हाम्रो भन्नु केही पनि छैन,’ उनले भने ।

आफूहरुसँग ४ सय ३४ केन्द्रीय सदस्य रहेको भन्दै नेपालले ओलीसँग २५ प्रतिशत पनि नभएको उनको दाबी थियो ।

नेता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतमाथि सेटिङ मिलाउने कुरा आइराखेकाले सचेत रहन आग्रह गरेका छन् । प्रधानमन्त्रीको कदम सरासर असंवैधानिक भएकाले संवैधानिक भन्न कसैले नसक्ने श्रेष्ठले बताए ।

प्रधानमन्त्रीको कदम असंवैधानिक हो भन्ने सबैलाई थाहा भएकाले श्रेष्ठको भनाइ थियो । पूर्व सभामुख, महान्यायाधीवक्तालेसमेत प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भनिरहेको श्रेष्ठले बताए ।

‘केपी बाले सेटिङ गराउनु भएको छ, सबै मिल्छ । अदालतले हाम्रो पक्षमा फैसला गर्छ, निर्वाचन आयोगले पनि हाम्रै पक्षमा फैसला गर्छ भनेर केपी र उनका गुटका मान्छेहरु भनिरहेका छन्,’ श्रेष्ठले भने, सर्वोच्च अदालतले संविधानसम्वत फैसला गर्छ भन्नेमा विश्वस्त छौं ।’

प्रधानमन्त्रीको कदमले एकतामाथि र कम्युनिस्ट आन्दोलनमाथि हमाला गरेको श्रेष्ठले बताए ।

दाहाल–नेपाल समूहका गण्डकी प्रदेश ईन्चार्ज देवेन्द्र पौडेलले २ वर्षमा सबैभन्दा शक्तिशाली पार्टी बनाउने दाबी गरे । उनले नेता तथा कार्यकर्ताले बाटो बिराइरहेको भन्दै फर्किन आग्रह गरे ।

संविधान र केन्द्रीय समितिलाइ धोका दिने ओलीलाई जनताबाट जवाफ दिनुको विकल्प नभएको उनको भनाइ थियो । ‘आफैंले घोषणा गरेको चुनावमा अब दुई तिहाई ल्याएर देखाउनुस्,’ पौडेलको चेतावनी थियो ।

तपाईको प्रतिक्रिया