मन्त्रीज्यू, महँगी बुझ्न बजार जानुस्

अनुप पौडेल, पोखरा
१५ दिन अघिसम्म खाने तेल प्रतिकार्टुन १६ सय रुपैयाँसम्म पाइन्थ्यो । अहिले २१ सय घटी पाइँदैन । १८० रुपैयाँ लिटरको खानेतेल २२० रुपैयाँ पुगेको छ । पोखरा १२ चापापानी किराना पसल चलाउने श्रीकृष्ण लामिछाने १५ दिनको अवधिमा तेलको मूल्य अप्रत्याशित रुपमा बढेको बताउँछन् ।
लामिछानेलेउपभोक्ताको रोजाइँमा पर्ने फेमिली हेल्थ र कुन्दनखाने तेल बेच्ने गरेका छन् । यी २ मात्रै नभई बजारमा पाइने सबै तेलको मूल्य बढेको उनले सुनाए । तेलमात्रै होइन चामलसहितका प्रमुख खाद्य वस्तुको भाउ पनि बढेको छ ।
‘मध्यम वर्गले प्रयोग गर्ने चामल पनि १५ दिनमै एकैपटक ५० देखि ६० रुपैयाँसम्म बढेको छ,’ किराना पसल चलाउने लामिछानेले सुनाए, ‘धेरै प्रयोग हुने मुना, टोकला चिया ३८० रुपैयाँबाट हामीलाई साढे ५ सय रुपैयाँ पुग्यो । ग्राहकलाई ६ सय पर्छ ।’
उनकै शब्दमा भन्ने हो भने मूल्यवृद्धि धानिनसक्नु छ । ‘राज्य कहाँ छ थाहा छैन । म व्यापारीमात्रै होइन, उपभोक्ता पनि हो । दैनिक प्रयोग हुने यी वस्तुको मूल्यवृद्धि धानिनसक्नु छ,’ लामिछानेले भने ।
अन्डाको भाउ पनि प्रतिक्रेट डेढ सय रुपैयाँ बढेको छ । लकडाउनमा दाना नपाउँदा र चल्लाको उत्पादन नहुँदा त्यसको प्रभाव अहिले देखिएको अन्डा उत्पादक संघ कास्कीका अध्यक्ष सूर्य बरालले बताए ।
उनकाअनुसार २५० रुपैयाँमा बेचिँदै आएको अन्डा अहिले प्रतिक्रेट ४ सय रुपैयाँ पुगेको छ ।
‘लकडाउनमा लेयर्सले खाने दाना पाइएन । कतिले त्यहीबेला कुखुरा पाल्न छोडे । अन्डा दिने कुखुरा बोइलरजस्तो ४५ दिनमै तयार हुँदैन, ६ महिना लाग्छ,’ उनले भने, ‘त्यतिबेला कुखुरा नपाल्दा अहिले अन्डा अभाव देखिएको हो ।’
खाद्य वस्तुमात्रै होइन, निर्माण सामग्रीको भाउ पनि अकासिएको छ । दसैंअघिसम्म ६२ रुपैयाँ किलोमा पाइने फलामे छडको भाउ अहिले ९५ रुपैयाँ पुगेको छ । सिमेन्टको भाउ बोरामा ३० रुपैयाँसम्म बढेको छ ।
अरु बेला एउटा दुई तले घर बनाउँदा जति पैसा लाग्थ्यो अहिले त्यसैका लागि रडमा मात्रै १० लाख रुपैयाँ बढी खर्च गर्नुपर्ने अवस्था आएको नेपाल निर्माण व्यवसायी संघ कास्कीका अध्यक्ष सुरेश श्रेष्ठ बताउँछन् ।
अर्काे महत्वपूर्ण निर्माण सामग्री बालुवा र गिटी हो । जसको मूल्य पनि प्रतिघनमिटर ३ सय रुपैयाँ जतिले वृद्धि भएको श्रेष्ठले सुनाए । ‘गिटी र बालुवाको त बजारमा अभाव पनि छ,’ उनले भने, ‘अवैध हुनाले कतिपय क्रसर बन्द हुँदा गिटी, बालुवाको अभाव भएको हो ।’
सडक निर्माणमा प्रयोग हुने अलकत्राको मूल्य पनि बढेको छ । अलकत्रा अर्थात बिटुमिन किलोको ६२ रुपैयाँबाट ९२ पुगेको जानकारी श्रेष्ठले दिए । ‘निर्माण सामग्रीको मूल्यवृद्धिले सामान्य उपभोक्तालाई मात्रै होइन, हामी निर्माण व्यवसायीलाई पनि मर्का परेको छ,’ उनले भने ।
हार्डवेयर व्यवसायी नारायण आचार्य छड र सिमेन्टको भाउ किन बढ््यो भन्ने प्रश्नको सहज उत्तर नपाइएको बताउँछन् । आयातित कच्चा पदार्थको भाउ बढ्यो भन्दै मूल्य बढाएर आफूहरुलाई पठाउने गरेको उनले सुनाए ।
गण्डकी प्रदेश सभाको विशेष अधिवेशनअन्तर्गत २८ पुसमा महँगी र प्रदेश सरकारले गरेका अनुगमनका विषयमा छलफल चल्यो । सांसदहरुले पछिल्लो हप्तामा अधिकांश सामानको मूल्य अकासिएको तर प्रदेश सरकारले केही नगरेको भनेर आक्रोश पोखे ।
त्यतिमात्रै होइन, सांसद जसपाकी धनमाया लामा र कांग्रेसकी ओमकला गौतमले तेल, गोलभेडा, फलामे छड, सिमेन्ट लगायतको मूल्य कति बढ्यो भन्ने सुनाए । छलफलमा उठेका प्रश्नको जवाफ दिन रोस्टममा पुगेका गण्डकी प्रदेशका उद्योगमन्त्री विकास लम्सालले सांसदले प्रस्तुत गरेको तथ्यांकलाई नै उडाए ।
अनुगमन गरेर बजार यहाँहरुले भनेजस्तो छ÷छैन पत्ता लगाउँछौं भन्नुको सट्टा जिम्मेवार मन्त्रीले सांसदलाई होच्याउँदै भने, ‘२ जना माननीयले विवरण नै ल्याउनुभयो । कहाँबाट ल्याउनुभयो कुन्नि !’ उनले भारतमा ३ दशमलव ३ प्रतिशत मूल्यवृद्धि रहँदा नेपालमा ६ प्रतिशत बढेको सुनाएका थिए ।
महिला सांसदले उठाएको प्रश्नमा मन्त्री लम्सालले बजारमा समस्यै नभएको जसरी प्रस्तुत भए । तर महँगी बढेको भनेर बजारको अवस्था मूल्यसहित यथार्थ प्रस्तुत गरेकी सांसद ओमकला गौतम मन्त्रीको जवाफसँग सन्तुष्ट छैनन् ।
अनुगमन गर्ने संयन्त्र नै मन्त्री लम्सालले संसदमा दिएको जवाफसँग सन्तुष्ट छैन । ‘मन्त्रीज्यूले के भन्नुभयो भन्ने थाहा भएन । अहिले बजारमा खाद्य वस्तुको मूल्य चाहिँ बढेको छ,’ अनुगमन टोलीका सदस्यसमेत रहेका निर्देशनालयका एक अधिकारी भन्छन्, ‘तेलमा ६० देखि ७० रुपैयाँ बढेको छ ।’
‘महँगी बढेको छैन भनेर उहाँ (मन्त्री लम्साल) तर्कन खोज्नुभयो । तर महँगी बढेको छ,’ सांसद गौतमले भनिन्, ‘संसदमा उठेका विषयगत प्रश्नको जवाफदिनुको सट्टा उहाँ पार्टीकै विषयमा बढी बोल्नुभयो ।’
मन्त्रीलाई खाद्य वस्तुको भाउसहित सुनाउने अर्की सांसद लामाले पनि मन्त्रीले संसदमा आफ्नो पार्टीको मात्रै कुरा राखेर आफूहरुको जवाफबाट पन्छिएको भन्दै आक्रोश पोखिन् ।
मन्त्री लम्सालले कहाँबाट तथ्यांक ल्याउनुभयो भनेर सोधेको प्रश्नमा लामाले समाधानसँगको कुराकानीबाटै जवाफ दिइन्, ‘त्यो किन्न पाइँदैन, बजारबाटै ल्याएको हो । ३ पेजको छ । खोजेर ल्याउँदा कहाँबाट ल्यायो भनेर मन्त्रीजस्तो मान्छेले त्यस्तो जवाफ दिन मिलेन नि ।’
अहिले बजारमा खाद्य वस्तु र निर्माण सामग्रीको मूल्य अकासिएकोबारे जनता जानकार छन्, मन्त्री छैनन् । संसदमा मन्त्री लम्सालले भनेका थिए, ‘अनुगमन गर्न सरकारका मन्त्री जाने होइन । संयन्त्रहरु जाने हो ।’
उनले संसदमा भनेको अनुगमन गर्न जाने संयन्त्र प्रदेश बजार अनुगमन टोली हो । गण्डकी प्रदेशमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय मातहत उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण मन्त्रालय रहन्छ । निर्देशनालयका निर्देशक मातहत नै प्रदेश बजार अनुगमन टोली छ । निर्देशकबाहेक त्यहाँ निर्देशनालयकै अरु अधिकारीहरु सदस्य हुन्छन् ।
अनुगमन गर्ने संयन्त्र नै मन्त्री लम्सालले संसदमा दिएको जवाफसँग सन्तुष्ट छैन । ‘मन्त्रीज्यूले के भन्नुभयो भन्ने थाहा भएन । अहिले बजारमा खाद्य वस्तुको मूल्य चाहिँ बढेको छ,’ अनुगमन टोलीका सदस्यसमेत रहेका निर्देशनालयका एक अधिकारी भन्छन्, ‘तेलमा ६० देखि ७० रुपैयाँ बढेको छ ।’
तपाईको प्रतिक्रिया