गण्डकी प्रदेश सरकार परिवर्तनको खेलमा जनमोर्चा अझै अनिर्णीत

समाधान संवाददाता पोखरा
पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार राख्ने वा नयाँ सरकार बनाउने भन्ने चाबी हातमा लिएर बसेको राष्ट्रिय जनमोर्चा अझै पनि अनिर्णीत अवस्थामा छ । राष्ट्रिय जनमोर्चाको आइतबार बसेको संसदीय दलको बैठक कुनै ठोस निर्णयबिनै टुंगिएको छ ।
गण्डकी प्रदेश सभामा ३ जना सांसद रहेको यो दल जता लाग्छ उतै सरकार बन्ने अवस्था छ । नेपाली कांग्रेस १५, माओवादी केन्द्र १२ र जनता समाजवादी २ सहित गुरुङ नेतृत्वको सरकारको विपक्षमा २९ जना सांसद पुगेका छन् । प्रदेश सभामा एमालेकाे पक्षमा २८ सांसद छन् । ६० सदस्यीय प्रदेश सभामा सरकार बनाउन या बचाउन ३१ सांसद चाहिन्छ ।
यो परिस्थितिमा जनमोर्चा निर्णायक चाबी बनेको छ । जनमोर्चाका राष्ट्रिय अध्यक्ष चित्रबहादुर केसीले समाधानसँगको टेलिफोन वार्तामा समर्थन फिर्ता लिने र अविश्वासको प्रस्तावको पक्षमा हस्ताक्षर गर्ने बताए पनि पार्टीले औपचारिक निर्णय लिइसकेको छैन ।
आइतबारको संसदीय दलको बैठकपछि समाधानलाई प्रतिक्रिया दिने क्रममा प्रदेश सांसद पियारी थापाले यसको पुष्टी गरिन् । ‘आज बैठक बस्यौं, तर ठोस केही निर्णय भएन,’ उनले समाधानसँग भनिन्, ‘बाहिर कुरा जे आए पनि संसदीय दलको नेतालाई पार्टी नेतृत्वबाट औपचारिक रुपमा कुनै निर्देशन आएको रहेनछ, जे भएपनि पार्टी नीति अनुसार नै चल्ने कुरा भएको छ ।’
जनमोर्चा संसदीय दलका नेता कृष्ण थापाले संसदीय दलको बैठक पछि ३ जना सांसद प्रदेश सभा अघि उभिएर खिचाएको सामूहिक तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै ठोस निर्णयमा नपुगेको सन्देश दिएका छन् । उनले लेखेका छन्, ‘हामी निकै संयमित र दृढताका साथ अघि बढ्ने छौं ।’
तपाईको प्रतिक्रिया