अबको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, जुट्यो दलहरुबीच सहमति

समाधान संवाददाता, पोखरा ।
पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकी प्रदेश सरकार ढल्ने भएपछि अबको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलमा दलहरुबीच सहमति जुटेको छ ।
मुख्यमन्त्रीको दावी गर्न सक्ने माओवादी केन्द्रले नेपाली कांग्रेसको नेतृत्व मान्न तयार बनेपछि दलहरुबीच यस्तो सहमति जुटेको हो ।
राजनैतिक घटनाक्रममा उतार चढाव नआएमा विहीबार वा शुक्रवारसम्ममा गुरुङ सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा मुख्यमन्त्रीको रुपमा नेपालीलाई प्रस्तुत गरिनेछ । उनी नवलपुरबाट निर्बाचित सांसद हुन् ।
राष्ट्रिय जनमोर्चाले दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ अल्पमतमा परेका छन् । सम्भवत उनी विरुद्ध विहीबार नै प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता हुन सक्छ ।
प्रदेश भागबण्डाका क्रममा गण्डकी प्रदेश माओवादी केन्द्रको भागमा पर्न सक्ने अनुमान गरिएपनि अब स्थिति त्यस्तो नरहेको माओवादी केन्द्रका एक नेताले बताए ।
माओवादी केन्द्रले गण्डकी भन्दा लुम्बिनी प्रदेशको नेतृत्व लिन इच्छुक भएकाले गण्डकी प्रदेशमा कृष्णचन्द्र नेपाली नै मुख्यमन्त्री बन्ने भएको ती नेताले बताए ।
नेपाली कांग्रेसको गुटगत राजनीतिमा रामचन्द्र पौडेल निकट मानिने नेपालीको सभापति शेरबहादुर देउवासंग पनि सहज सम्बन्ध छ ।
गण्डकी प्रदेशको सत्तामा उथल पुथल आएपछि उनी संघीय राजधानी काठमाण्डौं गएर पार्टी सभापति देउवासँग भेटघाट गरिसकेका छन् । उनी आजै काठमाण्डौंबाट पोखरा आउदैछन् ।
तपाईको प्रतिक्रिया